साप्ताहिक संवाददाता
टीआई उपनामले चर्चित अमेरिकी र्यापर तथा अभिनेता क्लिफर्ड जोसेफ ह्यारिस जुनियर यतिबेला विवादमा तानिएका छन् । विवादको कारण उनकी छोरीको कुमारीत्व हो । समाचारअनुसार टीआईले आफ्नी १८ वर्ष पुगिसकेकी छोरी डेजाह ह्यारिसलाई सदैव कुमारीत्वकै अवस्थामा राख्न हरेक वर्षजसो कुमारीत्व परीक्षण गराउँदै आएका छन् ।
टीआईका अनुसार उनी आफ्नी छोरीको कुमारीत्वका विषयमा निकै संवेदनशील छन् । उनको मान्यता छ, विवाहअघि उनकी छोरीले कुमारीत्व गुमाउनु हुँदैन । उनकी छोरी कलेज जान थालेपछि यौनसँग सम्बन्धित विषयमा चर्चा गर्न थालेकी थिइन् ।
छोरीको यस्तो गतिविधिबाट झस्किएका टीआईले अहिले महिनैपिच्छे छोरीको कुमारीत्व परीक्षण गराउन थालेका छन् । यता चिकित्सकहरूले उनको यस्तो व्यवहारबाट दिक्क हुँदै उनलाई भने– कुनै पनि युवतीको भर्जिनिटी यौन सम्बन्धकै कारण मात्र नष्ट हुँदैन, त्यसका पछाडि अन्य थुप्रै कारण हुन्छन् । यद्यपि टीआई भने आफ्नो अडानबाट पछि हटेका छैनन् ।