नेपाली रंगमञ्च तथा चलचित्रमा स्थापित नाम हुन्— अनुप बराल । पोखराका स्थायी बासिन्दा अनुपले भारतको नेसनल स्कुल अफ ड्रामाबाट आफूमा निखार ल्याएका छन् । हाल एक्टर्स स्टुडियोमार्फत आफ्नो ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गरिरहेका बरालसँग साप्ताहिककर्मी राजाराम पौडेलको कुराकानी :
कतिवटा चलचित्रमा अभिनय गरिसक्नुभयो ?
म एकदम कम चलचित्र खेल्छु, मनपरेको स्क्रिप्ट भयो भने मात्र काम गर्ने हो, १२–१३ वटा भयो होला ।
कसरी चलचित्रमा अभिनय गर्न थाल्नुभएको थियो ?
२०५२–०५३ सालमा हो, पहिलो चलचित्र अंशबन्डा भन्ने थियो, एनएसडी पढ्दै थिए, बिचमा छुट्टीमा आउँदा काम गरेको हुँ । त्योचाहिँ मैले गलत चलचित्र च्वाइस गरको थिएँ ।
भनेपछि पहिलो चलचित्रमा काम गर्दा गलत गरेछु भन्ने लागेको छ ?
गलत गरेभन्दा पनि जुन वातावरण थियो त्यो मलाई मन नपरेको हो । त्यतिबेला सूत्रबद्ध चलचित्र मात्र हुने, कलाकार पनि आफ्नो रोलमा भन्दा पनि बढी अरू कुरामा इन्गेज हुने । त्यसमा मेरो चित्त बुझेन । मैले जुन किसिमको ट्रेनिङ लिएर आएको थिएँ, काम त्यो अनुसार थिएन । कलाकारले क्यारेक्टरको हाडछालाभित्र कसरी छिर्ने भन्ने हुनुपर्ने हो । त्यो वातावरण थिएन त्यतिबेला । त्यसको १० वर्ष चलचित्रबाट टाढिएपछि दासढुंगामा काम गरँे ।
अब कस्तो चलचित्र खेल्ने ?
खेल्न त जस्तो पनि खेल्ने, गीत भएको पनि गर्न सकिन्छ, फाइट भएको पनि गर्न सकिन्छ, तर तर्कसंगत हुनुपर्यो, आफूले निर्वाह गरेको चरित्रप्रति पश्चाताप हुनु भएन । कुनै पनि स्क्रिप्टमा केही तत्व हुन्छ, जसले आकर्षित गर्छ, चुम्बकले जस्तै समात्ने, सायद त्यो कन्टेन्टको कुरा हुन्छ होला, हावा चलचित्र पनि टिक्छ तर त्यसको प्रस्तुति कसरी गरिन्छ त्यो महत्वपूर्ण हुन्छ ।
नेपालमा थिएटर र चलचित्रको ट्रेन्ड कसरी अघि बढिरहेको छ ?
थिएटरबाट आएका कलाकार पहिले पनि हुनुहुन्थ्यो । अहिले बढी देखिएको मात्र हो । चलचित्र र रंगमञ्च एक–अर्काका पूरक हुन्, दुस्मन विधा होइनन्, कतिपय कुरा थिएटरबाट चलचित्रले लिएको छ, कतिपय कुरा चलचित्रबाट थिएटरले लिएको छ । पछिल्लो दशकमा थिएटरका थुप्रै कलाकार चलचित्रमा गए । उनीहरूले जुन किसिमको काम गरे उनीहरूको रचनात्मकता, सामथ्र्य आदिले चलचित्रमा एक किसिमको परिवर्तन ल्याएको छ, तर अझै पर्याप्त भने छैन ।
नाटकको चार्म त बढ्यो, टिक्न समस्या देखियो, आर्थिक पाटो राम्रो देखिँदैन नि ?
यो समस्या यहाँ मात्र होइन विश्वभरि छ, थिएटर टिक्न एकदम गाह्रो छ, या त राज्यले यसलाई प्रोटेक्ट गरेको छ, जहाँ–जहाँ राज्यले सब्सिडाइज गरेको छ त्यहाँ थिएटर बलियो पनि भएको छ, जहाँ छैन केही आउने र हराउने प्रक्रिया चलिरहेको छ । यसलाई कि त उद्योगका रूपमा विकास गर्न सक्नुपर्यो, थिएटर उद्योग, जहाँ मानिसहरूले नाटक गरेरै आफ्नो जीविकोपार्जन गर्न सकून्, अन्यथा टिक्न सक्दैन । चलचित्रमा के छ भने तपाईंंले १० वटा प्रिन्ट गर्न पाउनुभयो, १० वटा हलमा एकैचोटि लगाउन पाइयो भने ठूलो मासले त्यसलाई हेर्छ तर थिएटरको बढीमा एकपटकमा २ सय हो । ४ सो गर्नुभयो भने पनि ८ सय जनाले हेरे, टिकट दर पनि महँगो हुँदैन, त्यसबाट बाँच्न गाह्रो छ । सबैभन्दा ठूलो कुरा हामीलाई देशका उद्योग–कारखानाहरूले नाटक पनि समाजको अभिन्न अंग हो, यसले प्रकाश छर्ने काम गर्छ, सचेत बनाउँछ भन्ने दृष्टिकोणबाट विज्ञापन दिने हो भने बल्ल यो टिक्न सक्छ ।
अबको योजना के छ ?
धेरै काम गर्न बाँकी छ । यस्तो रंगमञ्च जहाँ साना–ठूला सबै व्यक्ति कुनै हाइर्याकिङ नभएको स्पेस, जहाँ आफ्नै लाइब्रेरी, कलाका अलग–अलग विधाको समग्र रूपमा विश्लेषण गर्ने फोरम होस् बनाउन बाँकी छ ।
कुनै दिन यो क्षेत्रमा लागेकोमा पश्चाताप भयो ?
अहिले त छैन, कुनै समय थियो म भर्खरै पढाइ सकाएर आएको थिएँ, त्यतिबेला मानिसहरूले पढेर आएको धेरै बोल्छ भन्थे, काम पाउन पनि सकस थियो, अग्रजहरूले पनि मुम्बई गएर संघर्ष गरेको भए भैहाल्थ्यो नि, किन आएको, त्यहाँ तिम्रा साथीहरूले राम्रो काम गरिरहेका छन् भन्थे, तर मैले चलचित्रमा जान्छु भनेर सोचिनँ, धेरै पछि मात्र सोचेको हुँ, मसँग नेपालको युनिक स्वाद छ, यसलाई एक्स्पोलर गर्न सक्छु, भारत गएर हँुदैन जस्तो लाग्थ्यो । त्यही सोचले नै फर्किएको हुँ ।
पछि यहाँ काम पनि पाइँदैन, दाल भातकै समस्या पर्ने हो कि भन्ने पनि भएको थियो । फेरि भारत गएँ । त्यहाँ गैसकेपछि के महसुस भयो भने यो त एउटा महासागर हो, यहाँ क्लिक हुन लामो समय लाग्छ, अडिसनमा जाँदा पनि लवज नमिल्ने, यस्तो ठाउँमा काम गर्नुभन्दा नेपालमै फर्कन्छु, त्यही गएर काम गर्छु, आफ्नो घर–जग्गा पनि छ भनेर फर्किएको थिएँ ।
तपाईंले दिया मास्केलाई मन पराएको पहिलो दिन सम्झना छ ?
हाम्रो प्रेम नबोलीकनै भएको हो, एक अर्कालाई मिस गर्ने काम कतिखेर भएको हो ठ्याक्कै थाहा भएन, काम गर्दै जाँदा सँगसँगै काम गर्दा कोही मानिस मिस भएको अनुभव हुन्थ्यो । ठ्याक्कै यो दिन भन्ने त छैन ।
श्रीमान्–श्रीमती एउटै क्षेत्रको हुँदा काममा कत्तिको सहजता हुँदो रहेछ ?
सहजता छ । दिया मेरी विद्यार्थी नै हुनुहुन्छ, म एकोहोरो पनि छु, काम भएपछि व्यवहारिक कुरामा ध्यान दिन्नँ भन्ने उहाँले बुझ्नुहुन्छ, उहाँ राम्रो कलाकार तथा कोरियोग्राफर हुनुहुन्छ । यसले मेरो प्रोफेसनमा फाइदै पुगेको छ ।