साप्ताहिक संवाददाता
वर्तमान समयमा जो–कोही गायक–गायिकालाई हलिउड पपस्टार वियोन्से जस्तो बन्ने सपना हुन्छ, तर बलिउडमा एउटा यस्ती गायिका छिन्, जो साँच्चै वियोन्से बन्ने बाटोमा आफूलाई अगाडि बढाएकी छन् । हालै चलचित्र ‘बाला’मा आफ्नो आवाजको जादु देखाइसकेकी गायिका शालमली खोलगडेले एक अन्तर्वार्तामा आफू पपस्टार वियोन्स जस्तो बन्न चाहेको बताएकी छन् । ‘मैले एक पपस्टार बन्ने इच्छा राखेकी छु । भारतमा त्यस्तो कोही छैनन् ।
मेरो सबैभन्दा ठूलो सपना नै वियोन्से जस्तो बन्नु हो । हामी वियोन्सेको प्रशंसा गर्छाैं । जबकि उनले चलचित्रमा अभिनय गरे पनि उनलाई बढी मात्रामा दर्शकले स्टेजमा सांगीतिक प्रस्तुति दिने गायिकाका रूपमा चिन्छन्’, उनले भनेकी छन्, ‘मलाई अभिनयसँग प्रेम छ । जब दर्शकले मेरो गीत गाउछन्, त्यो बेला म आफूलाई जिउँदो पाउँछु ।
म सबै कुरा गर्न चाहन्छु । हाम्रो पुस्तामा कोही पनि पपस्टार छैनन् । म आफैंलाई यस्तो रुपमा हेर्न चाहन्छु । त्यसका लागि मैले तयारी पनि सुरु गरिसकेकी छु ।’ सन् २०१२ मा आफ्नो करियरको शुभारम्भ गरेकी शालमली ‘बलम पिचकारी’, दारू देशी और लत लग गई र ‘शायराना’ जस्ता सुपरहिट गीतबाट चिनिएकी छन् ।