कविता : मंसिर

- डिजी शर्मा

मंसिर १२, २०७६

 

म उभिएको धर्ती 

आज किन बेस्सरी हल्लिरहेको छ ?

यो पृथ्वी भत्किन लागेको हो या मेरो मन ?

हरेक बर्ष मङ्सिर लागे पछि मन सिरसिर हुन्छ

सायद तिम्रो घरको आगनमा

ठूलो खाडल खनिदैछ जग्गे बनाउँन

जहाँ तिम्रो र मेरो प्रेम कहानी जलाइनेछ

र सदा सदाका लागि तिमी अर्कैको हुनेछौ

चितामा लास पोल्दै गर्दा जसरी 

लासले आगो सँग कुनै प्रतिकार गर्दैन

यता तिम्रो जग्गेमा मेरा सपनाहरुको 

हालत पनि त्यस्तै हुन्छ होला 

मलाई मेरो जलेका सपनाहरुको खरानी पठाई देउ ल ।

त्यही खरानीले म मेरो निधार रङ्याउने छु

आजबाट तिम्रो भएँ, सधौ तिम्रै हुनेछु भनेर

उसलाई सिउँदो सुम्पिदै गर्दा

तिमी बाहेक अरु कसैलाई 

यो सिउँदो छुन दिने छैन भनेर

पहिले म सँग खाएको कसम 

याद आउँछ कि आउँदैन होला ?

उसको फेरो समातेर जग्गेमा तिम्ले फेरो लाउँदै गर्दा

यता म उभिएको धर्तीले मलाई फेरो लाउानेछ

मलाई मेरो भग्यले ठगेर तिम्रो हुन नदिए जस्तो

तिम्लाई तिम्रो भग्यले कहिलै नठगोस

तिम्लाई अटाउँन नसकेको मेरो यो निधारलाई

अब म कुन मन्दिरको ढुङ्गामा लगेर पछारौँ  ?

भन्न त मलाई जीवन साथी बनाउँछु भन्थ्यौ

तर आज तिम्रो जीवन माथी अरु नै कोहि हुने भयो

हिजो सम्म मैले छोएका र मलाई छोएका ती हातरुले

अब उसलाई कसरी छुँदो हो ?

जसले पहिले कहिलै तिम्लाई छोएको छैन 

हरेक बिहान अब बिउँझिएर यसो हेर्दा

खाटमा उसैलाई भेट्नेछौ

जसलाई पहिले कहिलै बाटोमा समेत भेटेकी थिएनौ

तर हरेक दिन तिमी सँग बाटोमा भेटिने म भने

अब पनि त्यही बाटो मै हुँनेछु एक्लै तिम्रो पर्खाइमा

मीठो लाग्दा लाग्दै अचानक सम्बन्ध खल्लो भयो

सायद तिम्ले पानी थप्यौ र 

मलाई नुन थप्ने मौकै दिएनौ 

मलाई खल्लो बनाएर जाने तिम्रो मनले

कहिलै अलिनु चाख्नु नपरोस

कहिले काहीँ 

वाइफाइको पासवर्ड जस्तै भइदिन्छ यो प्रेम पनि

अर्कोले चेन्ज गरिदियो भने आफूले चलाउन नमिल्ने

त्यही चेन्ज भएको पासवर्ड जस्तै भयौ तिमी पनि

मैले चलाउँनै नमिल्ने गरि तिमी फेरियौ

दिलमा बसेको मान्छे निस्किएर जाँदा

भारी बिसाएको निधार जस्तो मन हलुको हुनु पर्ने 

तर किन झनझन भारी हुँदैछ

कि छोडेर जानेहरुको तौल बस्नेको भन्दा बेसि हुन्छ ?

तिमी सङ्गै जिउँछु मर्छु भनेर कसम खानेहरुले

अरु कसैको भएर जाँदै गर्दा

खाएका ती बाचा कसम

दिउँसो जग्गेमा जलाउँछन कि 

राती चोली सँगै फुकालेर फाल्छन ?

हो म सँग केही थिएन

तर के के भएको मान्छे भेट्यौ र मलाई छोड्यौ ?

यती त भन 

कुन मन्दिरको पत्थरमा मन राखेर ढोगेको भए

तिम्लाई पाउँन सकिन्थ्यो ?

बहुत दु:खले मैले किनेर दिएका उपहारहरु

यदि फालिनौ र घरको कुनै कुनामा थन्क्याएर राख्यौ भने

कहिले काहीँ निकालेर पुछ्दै गर्नु

सम्बन्धमा धूलो लागे पनि सम्झनामा धूलो नलागोस !!

 

प्रकाशित :मंसिर १२, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×