साप्ताहिक संवाददाता
यसपल्टको दक्षिण एसियाली खेलकुद (साग) सँगै नेपाली फुटबलले खुसीको समाचार पाएको छ र त्यो हो— दशरथ रंगशालामा फेरि एकपल्ट फुटबल फर्कंदैछ । भूकम्पपछि रंगशालामा फुटबल सम्भव भएको थिएन र त्यसयता रंगशालामा नेपाली टिमले खेलेको खेल हेर्ने इच्छा अधुरो थियो । अब रंगशालामा फुटबल मात्र फर्केको छैन, नेपाली यू–२३ टिमले स्वर्णका लागि भिड्दैछ र पूरा सम्भव छ, नेपाली टिम यसका लागि सक्षम पनि छ । यस्तो नहोस् पनि किन ? प्राविधिक भाषामा भन्दा नेपाल यो खेलको डिफेन्डिङ च्याम्पियन पनि त हो ।
भारतमा भएको पछिल्लो सागमा नेपालको ओलम्पिक टिमले भारतलाई फाइनलमा हराएर स्वर्ण जितेको थियो । फुटबलको स्वर्ण कति धेरै महत्त्वको छ भने भनिन्छ, अरू सबै पदक एक स्थानमा फुटबलको स्वर्ण त्यत्तिकै बराबरी हुने गरेको छ अर्को स्थानमा । सन् १९८४ मा काठमाडौंले पहिलोपल्ट दक्षिण एसियाली खेलकुदको आयोजना गर्दा पनि नेपालले स्वर्ण जितेको थियो । सन् १९९९ मा फेरि प्रतियोगिता हुँदा नेपाल रजत पदकमै सीमित हुनुपरेको थियो ।
‘हाम्रो उद्देश्य स्वर्ण पदक नै हो, त्यसभन्दा तलको सफलताबारे हामी सोच्न सक्दैनौं,’ प्रशिक्षक बालगोपाल महर्जनले भनेका छन् । सन् १९९३ मा स्वर्ण जितेको टिमका सदस्य महर्जन अहिलेको यू–२३ टिम त्यसका लागि सक्षम भएको पनि मान्छन् । उनले भनेका छन्, ‘हामी डिफेन्डिङ च्याम्पियन हौं, त्यसैले एक प्रकारको दबाब छ । यो अवसर पनि हो । हामीले चार महिनाको प्रशिक्षण गरेका छौं । आफ्नो योजनाअनुसार खेल्ने हो भने हामी स्वर्ण जित्न सक्षम छौं ।’
नेपाली टिमले यसै साता मात्र दशरथ रंगशालामा पहिलोपल्ट अभ्यास गरेको थियो र त्यस अवसरमा धेरै खेलाडी भावविह्वल भएका थिए, फेरि एकपल्ट नेपाली फुटबलको मक्कामा खेल्न पाउँदा । त्यस बेला नेपाल टिमका कप्तान सुजल श्रेष्ठले पनि आफ्नो भावना रोक्न सकेनन् । उनी पनि आफ्नो टिम स्वर्ण पदकका लागि सक्षम भएको मान्छन् । यसपल्टको सागमा पुरुष फुटबलमा पाँच टिमको सहभागिता छ । सहभागी टिममा पाँच टिममा नेपालसँगै बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंका ।
भारतले अन्तिम समयमा आएर प्रतियोगितमा सहभागी नजनाउने भएको छ । यसले एकातर्फ प्रतिस्पर्धा खल्लो हुने डर छ भने अर्कातर्फ यसले नेपाललाई केही हदसम्म सजिलो पनि बनाएको छ, स्वर्णपदकसम्म पुग्न । जति बेला नेपाली पुरुष टिमले पछिल्लो सागमा स्वर्ण जितेको थियो, त्यसको ठीक अगाडि नेपाली महिला टिम भने रजत पदकमा चित्त बुझाउनुपरेकोमा पीडाबाट गुज्रिरहेको थियो । नेपाली महिला फुटबल टिमको सबैभन्दा ठूलो विशेषता भनेकै उपाधिको भिडन्तमा लगातार दोस्रो स्थानमा आउनु हो ।
त्यसमा पनि सधैंको प्रतिद्वन्द्वी भारतसँग पराजित हुनु हो । यसपल्ट पनि अहिले नै भन्न सकिन्छ, नेपाल पक्कै पनि फाइनल पुग्नेछ । र, भारतले पनि फाइनल यात्रा तय गर्नेछ । अब त्यसपछिको मूल प्रश्न हो, के नेपालले भारतलाई हराउन सक्ला त ? सागमा जुन बेलादेखि महिला फुटबलले प्रवेश पायो, त्यही बेलादेखि फाइनलमा खालि दुई टिम मात्र भिडेका छन् । अझ वुमेन्स साफ च्याम्पियनसिपमा पनि लगभग यही हो, फाइनलमा भारत र नेपाल ।
तर नेपाल निर्णायक मोडमा भारतलाई पराजित गर्न असफल रहेको छ । यस्तोमा नेपालको यसपल्टको उद्देश्य भारतलाई हराउनु नै हुनेछ । पछिल्लो चार महिनादेखि नेपालले महिला फुटबलको लागि तयारी सुरु गरेको थियो । प्रशिक्षक छन्, हरि खड्का । अहिले महिला टिम पोखरामा छ र आत्मविश्वास देखाइरहेको छ, हामी यसपल्ट भारतका लागि हराउन पूरा प्रयास गर्नेछौं भनेर । प्रतियोगितामा कुल पाँच टिम सहभागी छन् र त्यसमध्ये भारत तथा नेपाल जत्तिकै बलियो मान्ने सकिने टिम हो, बंगलादेश ।
त्यसैले प्रशिक्षक खड्का भने राउन्ड रोबिनको आधारमा चल्ने प्रतियोगितामा आफ्नो टिमले सबैलाई सम्मान रूपमा हेर्ने मान्छन् । उनका अनुसार नेपालको मुख्य चुनौती भारत नै हो, तर बंगलादेशलाई कमजोर मान्नु सबैभन्दा ठूलो भुल हुन सक्छ । त्यसैले नेपालले सुरुमा सजग भएर खेल्ने रणनीति लिनेछ । टिम निरु थापाको कप्तानीमा छ र यी कप्तानले भनेका छन्, तयारी राम्रो छ, त्यसैले राम्रो नतिजाको पनि अपेक्षा गर्न सकिन्छ ।