साग खेलकुदमा सधैं सर्वाधिक पदक जित्ने भारतले दक्षिण एसियाली खेलकुदमा लगभग दोस्रो दर्जाको खेलाडीहरूलाई पठाउने प्रवृत्तिलाई बढाएको छ । यो सोचाइले अरू देशका पहिलो रोजाइमा रहेका खेलाडीहरूलाई हेपेको देखिन्छ ।
काठमाडौंमा सन् १९८४ मा पहिलो दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आयोजना भएको ३५ वर्षपछि १३ औं संस्करणको प्रतियोगिता आइतबारदेखि काठमाडौंलगायत विभिन्न सहरमा आयोजना हुन गइरहेको छ । ३५ वर्षको अन्तरालमा सागले यो क्षेत्रको खेलकुदको स्तरमा कस्तो किसिमको परिवर्तन गर्यो, खेलाडीहरूको जीवनशैली, उनीहरूको क्षमता कसरी बढायो र आयोजना सहर भनौं वा राष्ट्रको यो खेल आयोजनाप्रतिको दृष्टिकोणमा कस्तो किसिमको परिवर्तन आएको छ भन्ने कुरा नै सागको समष्टिमा मूल्यांकन हुनुपर्ने देखिन्छ ।
सागको अवधारणा केही एसियाली राष्ट्रले ओलम्पिकमा त के एसियाली खेलमा पनि सोचेअनुसारको प्रदर्शन गर्न नसकेकै कारण आएको देखिन्छ । प्रत्येक चार वर्षको अन्तरालमा आयोजना हुने ओलम्पिक र एसियाडमा धेरै एसियाली राष्ट्रको झिनो सहभागिता र रित्तो हात फर्कनुपर्ने परम्परा नै बसेको थियो । यस्तो अवस्थामा मध्यपूर्वका राष्ट्रहरूले प्यान गेमको अवधारणा सन् १९५३ मा ल्याए । त्यसपछि पूर्वी एसियाका राष्ट्रहरूले दक्षिण–पूर्वी एसियाली खेलकुदको अवधारणा सन् १९५९ मा ल्याएर आफ्नो अलग्गै क्षेत्रको खेलकुद प्रतियोगिता आयोजना गर्न थाले । यस्तो अवस्थामा दक्षिण एसियाली क्षेत्रको भने कुनै किसिमको सामूहिक खेलकुद नभएको र खाँचो देखिएको कारण सन् १९८४ देखि दक्षिण एसियाली खेलकुद प्रतियोगिता प्रारम्भ भयो ।
दक्षिण एसियाली खेलकुद प्रतियोगिता यो क्षेत्रका लागि खाँचो थियो वा अरू एसियाली राष्ट्रहरूले अलग्गै गर्न थालेका कारण अस्तित्व देखाउन सुरु भएको हो भन्ने कुरा अहिले यो खेलको आयोजना र सहभागी राष्ट्रहरूले देखाउने व्यवहारले यो प्रतियोगिताको रौनकमा कमी आउन थालेको देखिन्छ ।
प्रत्येक एक वर्षको अन्तरालमा आयोजना गर्ने परिकल्पना गरेर जन्माइएको दक्षिण एसियाली खेलकुद प्रतियोगिता दुई वर्षको अन्तरालमा आयोजना हुन थाल्यो । आठौं संस्करण आयोजना गर्न काठमाडौंलाई ४ वर्ष लाग्यो । त्यसपछि आयोजना भएका प्रतियोगिता धेरै कम निर्धारित मितिमा आयोजना हुन सक्यो । अहिले पनि सन् २०१८ मा आयोजना हुनुपर्ने साग एक वर्ष ढिलो गरी आयोजना हुँदैछ ।
कुनै पनि खेलले निर्धारित मितिमा आयोजना गर्न नसक्नुलाई अन्तर्राष्ट्रिय खेलकुदको क्षेत्रमा एकदमै लज्जाको विषय मानिने गर्छ । तर, सागका सन्दर्भमा कुनै पनि देशले त्यस्तो लज्जा महसुस गरेझैं लाग्दैन । यसबाट पनि देखिन्छ, सरकारहरूले खेलकुदलाई कुन प्राथमिकतामा राखेका छन् । दक्षिण एसियाली राष्ट्रहरूले खेलकुदलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने मानसिकताको विकास भएकै छैन । यो क्षेत्रमा व्याप्त गरिबी, शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता विषयहरूलाई सम्बोधन गर्नु नै पहिलो प्राथमिकता हो । यस्तो अवस्थामा सरकारले खेलकुदलाई अन्तर्राष्ट्रिय ख्याति कमाउने मौका त मान्छन् तर प्राथमिकतामा राख्नै सक्दैनन् ।
दक्षिण एसियामा भारत सबैभन्दा बलियो देखिन्छ । भौतिक पूर्वाधारको दृष्टिकोणले भारतले चाहेको बेलामा सागको आयोजना गर्न सक्छ । बाँकी सबै राष्ट्रको समान हैसियत भएका कारण धेरथोर सबैले यसको आयोजना गर्न पाउनुपर्छ नै । अरू राष्ट्रहरूले आयोजना गर्न चाहनुलाई जति गौरवको विषय माने पनि सम्पन्न गर्नु फलामको चिउरासरह बन्न जान्छ । त्यसैले भुटान, माल्दिभ्सजस्ता राष्ट्रहरूलाई साग आयोजना गर्नु कल्पनाभन्दा बाहिरको विषय बनेको छ भने भारतबाहेक अरू राष्ट्रलाई निकै कठिन बन्दै गएको देखिन्छ ।
साग खेलकुदमा सधैं सर्वाधिक पदक जित्ने भारतले दक्षिण एसियाली खेलकुदमा लगभग दोस्रो दर्जाको खेलाडीहरूलाई पठाउने प्रवृत्तिलाई बढाएको छ । उनीहरूको रणनीति दोस्रो दर्जाका खेलाडीहरूको पनि पदकमा हकदार होऊन्, राम्रा खेलाडीहरूलाई एसियाली, कमनवेल्थ र ओलम्पिकमा अवसर दिऊँ भन्ने पनि हो ।
यो सोचाइ एक किसिमले राम्रो भए पनि अरू देशका पहिलो रोजाइमा रहेका खेलाडीहरूलाई हेपेको देखिन्छ । खेलकुदको परिभाषा व्यापक भए पनि भारतले पछिल्लो पटक देखाउँदै आएको यो किसिमको रबैयाका कारण बाँकी राष्ट्रका खेलाडी र अर्बौं लगानी गरेर आयोजना गर्ने राष्ट्रलाई हीनताबोध गराएको छ । यही साग प्रतियोगितामा समावेश गरेको २६ वटा खेलमा भारतले चाहेमा सबै खेलमा सहभागिता गर्न सक्थ्यो । तर, उसले थोरै खेलमा मात्र सहभागिता गर्ने जनायो । यसले दर्सायो, उसले यो प्रतियोगितालाई प्राथमिकतामा राखेकै छैन ।
पछिल्लो पटक भारत र पाकिस्तानबीच सरकार प्रमुखहरूबीच उठेको विवादले पनि यो खेलकुद प्रतियोगितालाई ओझेलमा पार्न थालेको देखिन्छ । विश्वका धेरै खेलकुद प्रतियोगितले देशहरूको राजनीतिक द्वन्द्व समाप्त गरेका उदाहरणहरू प्रशस्तै छन् । तर, यो क्षेत्रका दुई ठूला राष्ट्रको द्वन्द्वले सागलाई पनि प्रभावित पार्ने गरेको छ । यो प्रभाव सम्भवत: सन् २०२१ मा इस्लामाबादले आयोजना गर्ने १४ औं सागमा अझ बढी देखिने पक्का छ ।
सागको रौनक किन कम हुँदै गइरहेको छ ? ओलम्पिक चार्टरअनुसार गरिने खेलकुद प्रतियोगिताको आयोजना सहरले गर्ने गर्छ । जस्तो मेरो सहरमा म खेलकुद प्रतियोगिता आयोजना गर्छु भनेर उक्त सहरको मेयरले सरकारको नेतृत्व गरेर झन्डा लिएर आउनुपर्छ । तर, हाम्रो परिप्रेक्ष्यमा मन्त्री वा अरू अधिकारीहरूले बोकेर आउँछन् । हाम्रो जस्तो क्षेत्रमा सरकार लगातार परिवर्तन भइरहन्छन् भने राजनीतिक पूर्वाग्रहका कारण असफल बनाउने प्रयास पनि हुने गरेको देखिन्छ ।
जसका कारण प्रतियोगिताको आयोजना सधैं अन्तिम समयमा हुने गरेको छ । भारतको गुवाहटीमा सन् २०१६ मा भएको सागमा नेपालले सन् २०१८ मा आयोजना गर्छु भनेर झन्डा बोकेर आएको हो नि । यसरी झन्डा बोकेपछि दुई वर्षमा आयोजना गर्छु भनेर पहिल्यै खाका बनाउनुपर्छ । तर, तेस्रो वर्षको पनि अन्तिम समयसम्म पनि निर्माण जारी छ । यसले के पनि देखाउँछ भने झन्डा बोकेर आयोजना गर्छु भन्ने सहर वा राष्ट्र नै यो खेललाई बेवास्ता गर्छन् र अन्तिम समयमा झारा टार्ने किसिमले प्रतियोगिता आयोजना गर्छन् भन्ने देखिएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतियोगिता आयोजना हुनुभन्दा धेरै अगाडि सबै निर्माण सम्पन्न भएर, मैत्रीपूर्ण खेलकुद प्रतियोगिता आयोजना गरेर आयोजना स्थलको सुरक्षा परीक्षण गरिन्छ । १ सय दिनको काउन्टडाउनमा जनलहर ल्याउने प्रयास गरिन्छ । अहिले हाम्रै परिप्रेक्ष्यमा हेर्ने हो भने प्रतियोगिता हुने दिनमा पनि मापदण्डअनुसारको निर्माण सम्पन्न हुने देखिँदैन भने सुरक्षाजस्ता विषयलाई त ख्याल नै राखिएको छैन । जसका कारण आममानिसमा साग खेलकुद प्रतियोगिताप्रति उत्साह नै जाग्न सकेको छैन ।
(कुराकानीमा आधारित)