साप्ताहिक संवाददाता
दक्षिण एसियाली खेलकुद (साग) नेपाली खेलकुदका लागि एक मात्र यस्तो बृहत् खेल प्रतियोगितामा हो, जसमा बलियो चुनौती पेस गर्न सकिन्छ । त्यो अर्थमा नेपालका लागि सबैभन्दा महत्त्वपूर्ण अन्तरदेशीय प्रतियोगिता नै यही हो । प्रतियोगिताको ३५ वर्ष लामो इतिहासमा नेपालले केही गर्विला उपलब्धि पनि हात पारेका छन् । सागको इतिहासमा यस्ता उपलब्धिको साक्षी बनेका सबैभन्दा शीर्ष १० नेपाली खेलाडी यिनलाई मान्न सकिनेछ ।
वैकुण्ठ मानन्धर, एथलेटिक्स
नेपाली खेलकुदमा सबैभन्दा चिनिएका अनुहार हुन्, वैकुण्ठ मानन्धर । दक्षिण एसियाली खेलकुदमा उनको सबैभन्दा ठूलो उपलब्धि हो, नेपालका लागि लगातार तीन स्वर्ण जित्नु । उनले काठमाडौं, ढाका र कोलकातामा भएका सागको म्याराथनमा लगातार तीन स्वर्ण जिते । अझ उनले त कोलकातामा कायम गरेको २ घन्टा १५.०३ मिनेटको प्रदर्शन अझै पनि कसैले पनि उछिन्न सकेका छैनन् । इस्लामावादमा भएको चौथो सागमा भने उनी कांस्यमै सीमित भए ।
दीपक विष्ट, तेक्वान्दो
नेपाली खेलकुद इतिहासकै सबैभन्दा सफल खेलाडी हुन्, दीपक विष्ट । तेक्वान्दोका यी खेलाडीले लगातार चार स्वर्ण जिते र नेपाली खेलकुदकै नम्बर १ खेलाडी रहे । उनले दक्षिण एसियामा कहिले पनि हारको सामना गर्नु परेन् र अनडिफिटेड रहे । सन् १९९९ मा काठमाडौंमा भएको आठौं सागमा पहिलो पटक स्वर्ण जितेका दीपकले सन् २०१० को सागसम्म लगातार स्वर्ण जिते । नेपाली खेलकुदमा यस्तो उपलब्धि हात पार्ने उनी एक्ला खेलाडी हुन् ।
गीता क्षेत्री र सिजरिन शाह / टेबल टेनिस
सन् १९९१ मा पाकिस्तानको इस्लामावादमा भएको सागमा नेपालले दुई स्वर्ण जितेकामा दुवै महिला खेलाडीको नाममा थियो । यसमध्ये सबैभन्दा प्रसिद्ध जित रह्यो, टेबल टेनिसमा गीता क्षेत्री र सिजरिन शाहको । उनीहरूले महिला टिम इभेन्ट्समा यो उपलब्धि हात पारेका थिए । यो काममा उनीहरूलाई पूजा थापा र नीलम तुलाधरले पनि साथ दिए । गीता र सिजरिनले यसअघिका सागमा पनि रजत र कांस्य पदक हात पारिसकेका थिए ।
राजु शाक्य, फुटबल
साग इतिहासमै सर्वाधिक संस्कण खेल्ने खेलाडी हुन्, नेपालका राजु शाक्य । यी फुटबल खेलाडीले पहिलादेखि सन् १९९५ को सातौं संस्करणसम्म नेपालका लागि लगातार खेले । नेपालले काठमाडौंमा स्वर्ण जित्दा उनी टिमका युवा खेलाडी थिए । सन् १९९३ मा नेपालले ढाकामा स्वर्ण जित्दाको अवसरलाई नेपाली फुटबको सबैभन्दा ठूलो उपलब्धि मानिन्छ । त्यो टिमको नेतृत्व पनि उनले नै गरेका थिए । सन् २०१६ को पछिल्ला सागमा पुरुष फुटबलमै नेपालले स्वर्ण जित्दा उनी त्यसका टिमका प्रशिक्षक थिए ।
दलबहादुर रानामगर, बक्सिङ
भनिन्छ, नेपाली बक्सिङले पाएका अहिलेसम्मकै सबैभन्दा राम्रा खेलाडी हुन्, दलबहादुर रानामगर । उनले बक्सिङ खेल्दाको दिन नेपालमा यो खेल निकै लोकप्रिय पनि थियो । उनी जत्तिको खेलाडी नेपाली बक्सिङमा अहिलेसम्म देखिएको छैन । उनले पहिलो सागमा स्वर्ण जिते भने त्यसपछि त्यस्तै सफलता कोलकातामा भएको तेस्रो सागमा पनि दोहोराए । ढाकामा भने उनी कांस्यमै रोकिए । उनले लामो जीवन भने पाएनन्, उनको निधन भइसकेको छ ।
गणेश थापा, फुटबल
जत्तिकै विवादास्पद व्यक्तित्व भए पनि नेपाली फुटबलका सबैभन्दा ठूला नाम हुन्, गणेश थापा । सन् १९८४ मा नेपालले आफ्नै भूमिमा भएको पहिलो सागमा स्वर्ण जित्दा उनी त्यस टिमका सदस्य थिए । त्यसपछि उनको नेतृत्वमा नेपालले दोस्रो र तेस्रो साग पनि खेल्यो । दोस्रोमा नेपालले कांस्य जित्यो भने तेस्रोमा रजत पदक । कोलकातामा भएको सागमा उनी फुटबलका नायक थिए, उनले भुटानविरुद्धको खेलमा नेपालकै लागि पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक पनि गरे ।
कमल अधिकारी, भारोत्तोलन
साग इतिहासमा नेपालले सबैभन्दा बढी पदक कुनै एक खेलबाट जितेको छ भने त्यो भारोत्तोलनबाट हो । तर, यी पदकको थुप्रोमा एक मात्र स्वर्ण छ र यसको श्रेय जान्छ, कमल अधिकारीलाई । उनले सन् २००६ को कोलम्बो सागमा स्वर्ण जिते र यो भारोत्तोलनबाट प्राप्त एक मात्र स्वर्ण हो । त्यति उनको प्रदर्शन उच्च थियो नै उनलाई धेरै हदसम्म भाग्यले पनि साथ दिएको थियो । लगत्तैको ढाका सागमा भने उनी वासआउटको शिकार बने ।
दीपक श्रेष्ठ, कराँते
नेपाली कराँतेले पाएका अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट खेलाडी हुन्, दीपक श्रेष्ठ । यसको प्रमाण रहेको छ, उनले सागमा जितेका दुई स्वर्ण । दीपकले सन् १९९९ को काठमाडौं सागमा स्वर्ण जितेर आफ्नो खेल जीवन सुरु गरेका थिए । त्यसको चार वर्षपछि पाकिस्तानमा पनि उनले यस्तै सफलता दोहराए । त्यति बेला अरु सबै नेपाली खेलाडी कराँतेमा पराजित रहे पनि उनी एक्लैले मात्र स्वर्ण जितेका थिए । लगतै कोलम्बो सागमा उनी पदकविहीन रहे ।
संगीना वैद्य, तेक्वान्दो
नेपाली तेक्वान्दोकी क्विन खेलाडी मानिन्छन्, संगीनालाई । उनले पनि सागको इतिहासमा दुई स्वर्ण र एक कांस्य जितेकी छिन् । उनले पनि सबैभन्दा पहिले सन् १९९९ कै सागमा पहिलो स्वर्ण जिते । त्यसपछि त्यस्तै उपलब्धि पाकिस्तानमा भएको सागमा पनि प्राप्त गरे । त्यति बेला नेपाली खेलाडी प्रतिकूल स्थितिबाट गुज्रिनु परेको थियो । त्यस अवस्थामा पनि संगीताले स्वर्ण जितेर आफूलाई अब्बल भएको सावित गरिन् । सन् २००६ को सागमा उनले विरामी भएर पनि खेलिन र कांस्यमै चित्त बुझाइन् ।