साप्ताहिक संवाददाता
पहिलो पटक मात्रै होइन अहिले यात्रा गर्दा पनि मलाई यति धेरै मान्छे बोकेर यो जहाज आकाशमा कसरी उड्न सक्या होला जस्तो लाग्छ ।
अविरल थापा, चलचित्र निर्माता
त्यो पोखरादेखि काठमाडौंसम्मको हवाई यात्रा थियो । सुरुमा मनमा डर हावी थियो, त्यसपछि रोमाञ्चकता । जब जहाजले उडान लियो, तलतल देखिएको बादल र हिमालका दृश्यले एकछिन त लठ्ठ जस्तो भएको अझै पनि याद छ ।
सरस्वती प्रतीक्षा, लेखक
पहिलो पटक भएका कारणले होला के होला कस्तो महसुस होला भन्ने लागिरह्यो प्लेन नउडेसम्म । त्यसैले आँखा चिम्म गरेर बसे । उडेपछि रमाइलो लाग्यो ।
काजिश श्रेष्ठ, निर्देशक
पहिलो पटक प्लेनमा सवार भई काठमाडांैबाट नेपालगन्ज उडेको थिएँ । अरू बेला झण्डै दुई दिन लाग्ने यात्रा एक घण्टा नपुग्दै तय गरेको थिएँ । यति कम समयमा नै भूगोल तथा मौसमको अभूतपूर्व परिवर्तनले तीव्र आश्चर्य, हर्ष र महसुस भएको सम्झना अझै ताजै छ मेरो मानसपटलमा ।
प्रदीप बास्तोला, अभिनेता
फस्ट टाइम डोमेस्टिक प्लेन चढेको थिएँ, त्यो पनि सेक्युरिटीबाट अलमल भएको थिएँ । अनि प्लेनको टरबुलेन्सले सातो गएको थियो । त्यसपछि पनि धेरै यात्रा गरेँ । अहिले टरबुलेन्समा त त्यस्तो केही लाग्दैन तर ल्यान्डिङमा गर्ने बेलामा चाहिँ अझै पनि डर नै लाग्छ ।
शिवानी भट्टराई, भिजे
सुरुमा चढ्दा धेरै उत्साहित भएकी थिएँ तर चढिसकेपछि अनौठो अनुभव भयो । डर पनि लाग्यो ।
प्रिया भण्डारी, गायिका
पहिलो पटक भएर होला धेरै नै डराएँ । अब कहिल्यै चढ्दिन भन्ने फिल पनि भयो तर पछि–पछि बानी पर्दै गयो ।
ममता अधिकारी, मोडल
पहिलो चोटि हवाई जहाजमा बस्न पाएँ भनेर खुसी लाग्यो, तर जब प्लेन उड्यो डर पनि लाग्यो । करिब एक घण्टाको रोमाञ्चक क्षणमा धेरै खुसी थोरै डर अनि कौतूहलपूर्ण यात्रा भयो ।
रामलाल जोशी, लेखक
मैले पहिलो पटक हवाई यात्रा २००८ को डिसेम्बरमा गरेको थिएँ । त्यो यात्रा विराटनगरबाट काडमाडांैसम्मको थियो । सुरुमा म हवाईजहाज चढेपछि नै डराएको थिएँ । किनभने मलाई आकाशमा जहाज देख्दा पनि डर लाग्थ्यो ।
निमेश गुरुङ, खेलाडी
नेपालको हिमाल, पहाड, तराई तिनै क्षेत्र देख्दा जति ठूलो छ, नेपाल भन्ने सोचेको थिएँ पहिले, त्यति रै’नछ भन्ने लाग्यो ।
अर्बिन भट्टराई, गायक
सुटिङका लागि काठमाडौंबाट भरतपुर गएको थिएँ । तर, मौसमको कारण प्लेन समयमा उड्न सकेन । प्लेन डिले भयो । सुटिङका लागि सबैभन्दा अगाडि नै गइसक्नुभएको थियो । मचाहिँ ढिलामाथि झन् ढिला भएँ अनि त्यो सुटिङ भोलिपल्ट भयो । त्यसैले अनुभवभन्दा पनि मैले गर्दा सुटिङ क्यान्सिल भयो भन्ने कुरा मात्र मनमा खेल्यो ।
लोमश शर्मा, मोडल
राइट ब्रदर्सले राइट काम गरेका रहेछन् भन्ने लाग्यो । सुरुमा कुनै पनि अनुभव नभएका कारण यात्रा कस्तो होला भन्ने कौतूहलता त थियो नै तर आकाशमा उड्दा र नदीहरू पार गर्दाचाहिँ रमाइलो भयो । सधैं हामीमाथि हुने बादलहरूलाई आफू मुनि पारेर लुकामारी खेल्दा झनै मज्जा भयो । जहिले टेकेर हिँडेको पृथ्वीलाई नटेकी हेर्न पाएँ । आनन्द लाग्यो ।
शैल सुमन सिलवाल, पत्रकार
पहिलो पटक हवाईजहाज अन्तर्राष्ट्रिय यात्राका लागि चढेको थिएँ । मनमा अलिअलि डर भए तापनि ठूलो मान्छे भइएछ क्यारे भन्ने लाग्यो । जहाजभित्र एयरहोस्टेज आउँदा आबुइ होटलको जस्तो वेटर आउँदो रहेछन् भन्ने लागेको थियो । के गर्नु हामी नेपालीहरूको वास्तविकता अझै अरूको भन्दा धेरै भिन्न छ । संसार कहाँ पुगिसक्यो । तर, त्यहीँ मान्छेले बनाएको हवाईजहाजमा कैयौं नेपाली अझै पनि राम्रोसँग चढ्न र बस्न जान्दैनन् । यस्तै छ हामी नेपालीहरूको विडम्बना !
कृष्ण रेउले, गायक
धेरै नै डर लागेको थियो । मेरो फिंगर क्रस र आँखा दुइटै बन्द थियो । यात्राको बीचमा के–के भयो केही थाहा छैन । एकैचोटि ल्यान्ड भइसकेपछि आँखा खोलेको थिएँ ।
पूजन घिमिरे, मोडल
पोखराबाट काठमाडौं उड्दा हिमाल साइडमै सिट पर्यो । मौसम खुलेकाले हिमशृंखला हेर्न कम्ता मज्जा आएन । ल्यान्ड गर्ने बेलाचाहिँ भगवान्लाई सम्झेको थिएँ ।
रञ्जन अधिकारी, पत्रकार
पहिलो उडान नै वैदेशिक यात्राका लागि थियो । त्यसैले जहाजमा यात्राको भन्दा पनि उता पुगेर के हुने हो, कसो हुने हो भन्ने कुरा मात्र सोचेर यात्रा सकियो ।
उमेश राई (फुलन्देको आमा), हास्य कलाकार
मेरो पहिलो हवाई यात्रा थाइल्यान्डतर्फको थियो । त्यो यात्राचाहिँ सांगीतिक कार्यक्रमका लागि थियो । मनमा एउटा छुट्टै रमाइलो र उत्सुकता त थियो तर प्लेन उडेदेखि ल्यान्ड नगरुन्जेलसम्म सार्है डर लागेको थियो । बीच–बीचमा टब्र्युलेन्सहरू भएर प्लेन हल्लिँदा त मुटुले ठाउँ नै छोडेको थियो । ३ घण्टासम्मको हवाई यात्रामा डर अनि रमाइलोको मिश्रण थियो ।
निराजन कँडेल, गायक
म सधैं आकाशको माथिबाट सहरको भ्यू कस्तो देखिएला भनेर कल्पना गर्थें । त्यसैले जहाज चढेका बेला मज्जाले आँखा दुखुन्जेल सहरको सुन्दर दृश्य हेर्छु भन्ने सोच्थें । जहाज चढ्ने दिन पनि आयो । दिउँसोको टिकट काटे । किनभने सूर्यको चम्किलो लाइटमा भ्यूहरू राम्रो देखिन्छ भनेर । तर, दुर्भाग्य प्लेन नै डिले भयो । अनि मैले कल्पना गरेको सबै कुरा भताभुङ्ग भयो । म अहिले पनि जबजब जहाजको यात्रा गर्छ, यही कुरा सम्झिन्छु । त्यसैले अरू कुराको महसुस गर्नुभन्दा पनि मेरो पहिलो अनुभव नै झुर भयो ।
विमलेश अधिकारी, अभिनेता
पहिलोपल्ट हवाई यात्रा गर्दा जो छेउमा पर्नु भा’थ्यो उहाँको पनि पहिलोपल्ट रै’छ । म त यसै एक्साइटेड थिए, उहाँ मभन्दा पनि ओभर एक्साइटेड हुनुभएछ । हाम्रो उस्तै कलरको लगेज थियो । उहाँले ट्याग नहेरी मेरो लगेज बोकेर जानुभएछ । अनि लगेज लिन त्यही दिन बेलुका उहाँको घर जानुपर्याथ्यो ।
संयोग गुरागाईं, कलाकार
मेरो पहिलो हवाई यात्रा काठमाडौंदेखि पोखरासम्मको थियो । पहिलो पटक यात्रा गर्दा केही डर, केही उत्साहित हुनु त स्वाभाविक नै हो । तर, सुन्नमा आए जस्तो डोमेस्टिक प्लेनहरू धेरै हल्लिने, यात्रा गर्दा गार्हो हुने, व्यवस्थित नै नहुने भन्नेचाहिँ नहुँदो रहेछ ।
वसन्त विश्वकर्मा, गायक
मलाई त पिङ खेलेजस्तो अनुभव भयो अनि रमाइलो तर बेला–बेलामा डर पनि । अन्तिममा चाहिँ मैले पनि प्लेन चढे है भन्ने महसुस भयो ।
संजोग बस्याल, आर जे
मेरो पहिलो हवाई यात्रा मलेसियाका लागि थियो । सुरुमा सिट बेल्ट बाँध्न पनि नआएर हैरान भन्या । डर अनि लाज पनि लागिरा’थ्यो । जब प्लेन उड्यो म त बेहोस हुन्छु कि क्या हो जस्तो भयो । चक्कर आएर भमिट आउला जस्तो भयो ।
सिन्धु मल्ल, गायिका