साप्ताहिक संवाददाता
हलिउड अभिनेत्री तथा गायिका सेलेना गोमेज यतिबेला भारतीय प्रशंसकहरूको आलोचनाको शिकार भएकी छिन् । कारण हो उनको एउटा तस्बिर । वास्तवमा सेलेनाले हालै एउटा फोटोसेसन गराएकी थिइन् । सेलेनाको उक्त फोटोसेसन पुस्तकालयभित्र गरिएको थियो, त्यो पनि किताबहरूमा टेकेर ।
सेलेनाको उक्त तस्बिर सार्वजनिक भएलगत्तै भारतीय प्रशंसकहरूले त्यसलाई ट्रोल बनाइदिए । एक जना प्रशंसकले लेखे– ‘हे भगवान्, यिनले सरस्वती मातामाथि खुट्टा राखिन् ।’ अर्का प्रशंसकले लेखे– ‘हाम्रो देशमा यिनको पूजा गरिन्छ ।’ तेस्रा प्रशंसकले लेखे– ‘झुक्किएर खुट्टा लाग्दा त हामी माफी माग्छौं, यिनले किताबहरूमाथि खुट्टा राख्ने हिम्मत कसरी गरिन् । यिनलाई पाप लाग्छ ।’ पछिल्लो समय सेलेना गोमेज बडी सेमिङमाथि टिप्पणी गरिरहेकी छिन् ।
गिभिङ ब्याक जेनेरेसनको एउटा श्रृंखलामा सेलेनाले आफ्नो तौलका कारण मानिसहरूले गरेका टिप्पणीहरूले कसरी आफ्नो मानसिक स्थिति तथा उनको स्वास्थ्यलाई प्रभावित गरेको थियो । आफ्नो शरीरको बढ्दो वजनका कारण आफूले बडी सेमिङको सिकार हुनुपरेको उनको गुनासो छ । मानिसहरूले उनको मोटो ज्यानको खिल्ली उडाएको उनको आरोप छ । सेलेना करिब पाँच वर्षपछि आफ्नो नयाँ एल्बम सार्वजनिक गर्ने तयारी गरिरहेकी छिन् ।