साप्ताहिक संवाददाता
जीवनको लामो समय नेपाली चलचित्र क्षेत्रमा विताएकी अभिनेत्री हुन्– करिश्मा मानन्धर । उनले अभिनय गरेका धेरै चलचित्र चर्चित छन् । उनै अभिनेत्री करिश्मा सहभागी एक कार्यक्रममा वक्ताले नेपाली इतिहास १० वर्षको मात्रै भएको उल्लेख गरे । ति वक्ताको उक्त अभिव्यत्तिले करिश्मालाई चित्त दुखाएको छ ।
कार्यक्रमबाट फर्किएपछि आफ्नो फेसबुक पेजमा लामो स्टाटस हाल्दै आक्रोश पोखेकी छिन् । उनले लेखेकी छिन्–‘एक वक्ताले भन्नुभयो कि सिनियरहरुले भन्नुहुन्छ नेपाली चलचित्रको इतिहास ५० बर्षको छ । तर, म यो मान्दिन । नेपाली चलचित्रको इतिहास १० बर्षको मात्र छ ।’
करिश्माले वक्ताप्रति आक्रोश पोख्दै अगाडी लेखेकी छिन्–‘त्यसो भए त के हामी अस्तित्वमा थिएनौँ ? हामीले भोगेको घाम, पानी, तिर्खाको वेमतलव ?’
करिश्माले आफूले जुन समयबाट चलचित्र क्षेत्र सुरु गर्यो, सोही समयबाट मात्र चलचित्रको इतिहास सुरु भएको भन्नु संकुचित सोच भएको समेत उल्लेख गरेकी छिन् । उनले अगाडि भनेकी छिन्–‘यो दश बर्षको विचमा म त खोई, आठ–दस वटा भन्दा बढी चलचित्रको नाम गन्न सक्दिन, जुन उत्कृष्ट थिए । जबकी रहेक बर्ष सयौं चलचित्र बन्छन् ।’ उनले, इतिहासलाई टेकेरनै सबै जना उभिएको भन्दै यसलाई नभुल्न चेतावनी समेत दिएकी छिन् । करिश्माले ति वक्ता को थिए भन्ने कुरा भने उल्लेख गरेकी छैनन् ।