साप्ताहिक संवाददाता
नेपाली खेलकुदले दक्षिण एसियाली वृत्तमा प्राप्त सफलताको आधारमा नम्बर १ खेलाडी पाएको छ र उनी हुन्— पौडीकी गौरिका सिंह । यसअघि नेपाली खेलकुद इतिहासमा सफलताका आधारमा वैकुण्ठ मानन्धर र दीपक विष्टदेखि संगीना वैद्यको नाम लिंदै आइएकोमा अब यसमा एउटा नयाँ अनुहार पनि थपिएको छ, तिनै गौरिकाका रूपमा । उनकै प्रदर्शनका कारण पौडीले १३ औं दक्षिण एसियाली खेलकुदमा अद्वितीय सफल हात पार्न पनि सफल रह्यो ।
नेपाली पौडीले आफ्नो इतिहासमै प्राप्त गरेको यो सबैभन्दा ठूलो सफलता हो । पौडीबाट नेपालले ४ स्वर्ण ४ रजत ४ नै कांस्य पदक जित्न सफल रह्यो । यसमध्ये ४ स्वर्ण एकै खेलाडी गौरिकाले जितेकी थिइन् । त्यसो त नेपालले यसअघि आठौं दक्षिण एसियाली खेलकुदमा पनि एउटा स्वर्ण जितेको थियो, तर यो स्वर्ण कसरी प्राप्त भएको थियो र यसमा किन गर्व गर्न लायक छैन भन्ने तथ्य त सबैलाई थाहा छ । यो खालि बिर्सनलायक संयोगले मात्र प्राप्त भएको स्वर्ण थियो ।
जबकि गौरिकाले अहिलेसम्म पौडीमा जितेका प्रत्येक पदकमा गर्व रहनेछ, चाहे त्यो स्वर्ण होस् अथवा कांस्य पदक नै । सन् २०१६ को सागमै पनि गौरिकाले २ रजत पदक जितेकी थिइन् र यो आफैंमा ठूलो प्रदर्शन थियो, तर त्यति बेला उनको प्रदर्शन स्वर्ण पदकका लागि लायक पनि थिएन । तीन वर्षको अन्तरमा गौरिकाले आफ्नो प्रदर्शनमा निकै सुधार गरेकी छिन् र यसै कारण उनी ४ स्वर्ण जित्न सफल रहिन् । उनको यो प्रदर्शन केही खास खास कारणले अर्थपूर्ण छ ।
गौरिकाले प्राप्त गरेको यो सफलताको सबैभन्दा ठूलो विशेषता हो, यसमा नेपालको लगभग न्यून लगानी । उनी लन्डनमा बस्छिन् र उतै अभ्यास गर्छिन् । यसका लागि उनको परिवारले ठूलो लगानी मात्र गरेको छैन, उत्तिकै धेरै त्याग पनि गरेको छ । लन्डनमै गरेको अभ्यासले त उनी यति धेरै सानदार प्रदर्शन गर्न सफल भएकी हुन् । त्यहाँको अन्तर्राष्ट्रिय स्तरको अभ्यासबिना त नेपालले पौडीमा दक्षिण एसियामै पनि स्वर्ण पदकको कल्पना गर्न सकिन्न ।
उनको सफलतामा अर्को विशेषता पनि लुकेको छ, त्यो हो— नेपाली पौडीमा उनको उपस्थितिमा हुने आपत्ति । नेपाली पौडी संघ र त्यस वृत्तका केहीलाई गौरिकाको उपस्थितिमा समस्या हुने गर्छ । गौरिकाकै कारण केही खेलाडीले मौका पाउने गरेका छैनन् । अथवा भनौं ती खेलाडी गौरिकाको चर्चा अगाडि हराएका छन् । त्यसैले गौरिकालाई धेरै व्यवधान तेस्र्याउने काम हुन्छ । यी बाबजुत पनि गौरिका र उनको परिवार नेपाल आएर अन्तर्राष्ट्रिय मात्र होइन, घरेलु प्रतियोगिता पनि खेलिरहेकी हुन्छिन् ।
गौरिकाले चारमध्ये पहिलो स्वर्ण जितेयताको भनाइ सबैभन्दा महत्त्वपूर्ण छ । उनले भनेकी थिइन्, ‘यो स्वर्ण नेपालीले नेपालका लागि जितेको हो ।’ अर्थात् त्यही एउटा वृत्त उनलाई विदेशीभन्दा पनि पछाडि पर्दैन, तर गौरिका र उनको परिवार त्यस्तो छ, जसले नेपालका लागि खेलेको खुसी र गर्व मान्छ । यी सबै पृष्ठभूमिमा गौरिकाको यसपल्टको सागको प्रदर्शनलाई अद्वितीय मान्नैपर्छ, अझ यसलाई उत्तिकै ठूलो ऐतिहासिक पनि मान्न सकिन्छ ।
अझ उनी भर्खर १७ वर्षकी भइन्, उनीबाट अझ ठूलो सफलताको अपेक्षा गर्न सकिन्छ । गौरिकाको चार स्वर्णको प्रदर्शन २ सय मिटर फ्री स्टाइल, ४ सय मिटर फ्री स्टाइल, २ सय मिटर ब्याक स्ट्रोक्स र सय मिटर फ्री स्टाइलमा सम्भव भएको हो । यही प्रदर्शनका कारण समापन समारोहमा उनले मार्च पास गरेको नेपाली टिमको नेतृत्व गर्ने अवसर पनि पाइन्, सुरुमै झन्डा बोकेर । उत्तिको ठूलो प्रदर्शनका लागि उनी त्यसको पूर्ण हकदार पनि थिइन् ।