साप्ताहिक संवाददाता
राजुकाजी शाक्य
राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान एवं प्रशिक्षक
कुनै पनि खेलकुद प्रतियोगितामा खेलाडीहरूलाई गृहमैदान वा घरेलु दर्शकको प्रशस्तै फाइदा हुन्छ । यो कुरालाई खेलाडीले मात्र नभएर देशले र आयोजना गर्ने सहरले पनि बुझेका हुन्छन् । त्यही भएर त सबै देशले कुनै न कुनै खेलकुद प्रतियोगिता आयोजना गर्न होड नै गर्छन् । भौतिक पूर्वाधार नभएका देशका कुरा छोडौं, हालै भएको साग खेलकुद प्रतियोगितालाई नै हेरौं न, यो क्षेत्रको साग सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता हो ।यो खेलकुद प्रतियोगिता आयोजना गर्न यो क्षेत्रका धेरै राष्ट्रलाई आर्थिक रूपमा गाह्रो भए पनि आफ्नो गृहमैदान र घरेलु दर्शकको बढी सफलता पाउने मौका मिल्छ भनेरै आयोजना गर्छन् ।
साग प्रतियोगिताकै कुरा गर्दा यो खेलकुद प्रतियोगिता आयोजना गर्दा हामीले बढी पदक जितिरहेको पदक तालिकामा देख्छौं । जस्तो आठौं साग नेपालले आयोजना गर्दा ३१ स्वर्ण पदक जित्यो ।
त्यसपछिका साग प्रतियोगितामा हामीले स्वर्ण सफलताको यो संख्यालाई बढाउन त सकेनौं नै, छेउछाउसम्म पनि पुग्न सकेनौं । यो हुनुमा खेलकुदप्रतिको रणनीति नहुनु मुख्य कारण भए पनि नेपाली खेलाडीहरूले गृहमैदानमा खेल नभएका कारण पनि स्वर्ण पदक जित्न नसकेका हुन् । अहिले १३ औं साग नेपालमा आयोजना भयो, जसमा नेपाली खेलाडीहरूले गृहमैदानमा घरेलु दर्शकको साथ पाएर पदक संख्या ५१ पुर्याए । यसमा उनीहरूले खेलेर जित्नु त छँदै छ, त्योभन्दा बढी फाइदा गृहमैदानमा आफ्नै दर्शकको समर्थनले पनि हो ।
कुनै पनि खेलाडीलाई गृहमैदानमा खेल्दा किन बढी फाइदा हुन्छ भने त्यहाँ आउने अधिकांश दर्शकको साथ र समर्थन राष्ट्रिय टिमका खेलाडीहरूलाई हुने गर्छ । एकल खेल होस् वा टिम गेम, जेमा भए पनि दर्शकको हौसलाले धेरै नै काम गरिरहेको हुन्छ । कुनै प्रतियोगिता खेल्नुभन्दा अगाडि खेलाडी मैदानमा छिर्दा दर्शकको उत्साहले खेलाडीहरूको जोस–जाँगरलाई ह्वात्तै बढाउँछ । कुनै पनि प्रतियोगितामा खेल्न जाने खेलाडीलाई यो खेल जित्छु वा जित्नैपर्छ भन्ने दबाब भइरहेको हुन्छ । जब दर्शकले समर्थनमा चिच्याउन थाल्छन् शरीरको रौं नै सिरिङ्ग भएर आउँछ । यसले हाम्रो खेल्ने शैलीलाई परिवर्तन गर्न सक्दैन, तर उनीहरूको उत्साहले हाम्रो क्षमता भने बढाइरहेको हुन्छ ।
जस्तो बल खोस्नुपर्छ भन्ने थाहा हुन्छ, जानुपर्छ भन्ने पनि थाहा हुन्छ । यस्तो बेलामा दर्शकले उत्साह बढाउन थालेपछि शरीर थाके पनि जोस कताबाट आउँछ कताबाट, थाहै हुँदैन । जस्तो, १३ औं सागमा नेपाल माल्दिभ्ससँग १–० ले पछि परेको थियो । त्यत्रा दर्शक उत्साहित भएका कारण पनि नेपाली टिमलाई कमब्याक गर्न सफल भयो । दर्शकको यो कामले हामीलाई कसरी फाइदा गर्छ भन्ने कुरा भन्नै सकिँदैन । उनीहरू मैदानबाहिरका खेलाडी नै हुन् ।
तुलनात्मक रूपमा नेपालमा धेरै दर्शकको उपस्थिति हुने खेल भनेकै फुटबल हो । हाम्रो खेल करिअरमा रंगशाला भरिएर रंगशालावरिपरिका अग्ला घरका छत र रूखमा समेत दर्शक हुन्थे । राष्ट्रिय टिमको खेल भयो भने त होटलदेखि नै दर्शक हौसला बढाउन तयार भएर बसेका हुन्थे । रंगशालाबाहिर पनि त्यत्तिकै दर्शक हुन्थे भने भित्र त थामि नसक्नु नै हुन्थ्यो । यो हौसलाले हाम्रो शरीरमा के कारणले यस्तो किसिमको जोस देखा पथ्र्यो कि कहिले गेम सुरु होला र जितेर देखाउला जस्तो हुन्थ्यो ।
मैदानभित्र छिरेपछि कुनै दर्शकले व्यक्तिगत रूपमा चिच्याएको हामी सुन्दैनथ्यांै । ठूलो आवाजमा ‘नेपाल π नेपाल π’ भनेको मात्र सुन्थ्यौं । हौसला बढाउन दर्शक जति जोस्सिन्थे, आफ्नो समर्थन गरेको टिमले गोल खाएपछि गाली गर्न पनि त्यत्ति नै आतुर हुन्थे । हाम्रो त खेलाडीहरू यताउता कुदिरहेका कारण त्यो कुरामा ध्यान नै पुग्दैन, खेलले दबाब सिर्जना गरिरहेको हुन्छ ।
पछि पर्नुको कारण खेलाडीले भन्दा पनि गोलकिपरले भएको हो भन्ने कुरा दर्शक ठम्याउँछन् अनि गोलकिपरलाई गाली गर्न थाल्छन् । गोलकिपर एकै स्थानमा हुने हुँदा दर्शकले गरेको गाली थाहा पाउँथे । हाम्रो पालाका एक चर्चित गोलकिपर त दर्शकको गाली सहन नसकेर कुट्न समेत गएका थिए । हुन पनि त्यो बेलामा अहिलेको जस्तो खेलेर पैसा आउँदैनथ्यो । आफ्नो घरको मानो खाएर खेल्नुपर्ने अवस्था थियो । त्यस्तो अवस्थामा पनि गाली खानुपर्ने अवस्था आएपछि खेलाडीहरू पनि सामान्य दर्शकजस्तै बन्थे ।
कुनै पनि खेलमा आउने दर्शकले दुई किसिमले फाइदा गरिरहेका हुन्छन् । एउटा उनीहरूको समर्थनले हौसला बढाइरहेको हुन्छ भने अर्को उनीहरू खेल हेर्न आउँदा काटेको टिकटबाट आएको पैसाको केही भाग खेलाडीले पनि पाउँछन् । विदेशमा यो कुरा परम्पराका रूपमा बसेको छ भने हामीकहाँ यो किसिमको सोचाइ अझै आउन सकेको छैन, जसका कारण हाम्रो खेलकुदका धेरै क्षेत्र पछि परेका पनि हुन् ।