साप्ताहिक संवाददाता
अभिनेता रणवीर सिंह सफल अभिनेताको छैटौं स्थानमा छन् । उनको चलचित्र ‘गली ब्वाइ’ले १ सय ३९ कराड आसपासको कलेक्सन गरेको थियो । रणवीरको यो वर्ष एक चलचित्र मात्र प्रदर्शनमा आयो ।
सन् २०१९ बलिउडका लागि निकै सुखद रह्यो । कैयौं यस्ता चलचित्र प्रदर्शनमा आए, जसले बक्स अफिसमा उत्कृष्ट कलेक्सन गर्यो नै, कलाकारको करियरलाई नयाँ आयाम नै दियो । सन् २०१९ ले उनीहरूको करियरलाई एउटा नयाँ उचाइमा पुर्यायो ।
अभिनेता शाहिद कपुरले चलचित्र उद्योगमा कम उमेरमै आफ्नो करियर बनाए । अभिनय करियरमा उनले धेरै सफल चलचित्रमा काम गरे, तर त्यो सफलताभन्दा उत्कृष्ट सफलता भने उनले सन् २०१९ मै पाए । यो वर्ष शाहिद अभिनीत ‘कबिर सिंह’ ले वर्षमा सर्वाधिक कमाउने दोस्रो चलचित्रको रेकर्ड राख्यो । अर्जुन रेड्डीको यो रिमेक चलचित्रले २ सय ७८ करोडको कलेक्सन गरेको थियो । बक्स अफिस कलेक्सनको औसत हिसाब हेर्ने हो भने शाहिद वर्षकै नम्बर एक अभिनेता हुन् ।
अर्का अभिनेता विक्की कौशल बक्स अफिस सफलताको हिसाबमा दोस्रो नम्बरमा छन् । विक्कीको यो वर्ष प्रदर्शनमा आएको ‘उरी–द सर्जिकल स्ट्राइक’ले २ सय ४० करोडको कलेक्सन गरेको थियो । यो चलचित्रले विक्कीलाई बलिउडको नयाँ स्टारका रूपमा स्थापित गराइदियो ।
अभिनेता रितिक रोशनको यो वर्ष दुई चलचित्र प्रदर्शनमा आए, जसमा ‘वार’ ले ३ सय १८ करोडको कलेक्सन गर्दै सन् २०१९ मा सर्वाधिक कलेक्सन गर्ने चलचित्रको रेकर्ड राख्यो । उनको दोस्रो चलचित्र ‘सुपर ३०’ ले १ सय ४६ करोडको कलेक्सन गरेको थियो । यी दुई चलचित्रको कलेक्सनको औसत हिसाब निकाल्दा २ सय ३२ दशमलव ०५ करोड हुन आउँछ । रितिकको बक्स अफिस कलेक्सनको औसत आम्दानी तेस्रो नम्बरमा पर्छ ।
त्यस्तै अभिनेता सलमान खान वर्षको सूचीमा चौथो स्थानमा पर्छन् । सलमानको यो वर्ष ‘दबंग–३’ बाहेक चलचित्र ‘भारत’ मात्र रिलिज भयो, जसले बक्सअफिसमा २ सय ९ दशमलव ३६ करोडको कलेक्सन गरेको थियो । चलचित्र ‘दबंग ३’ रिलिजको सँघारमा छ । यो चलचित्रले बक्सअफिसमा २ सय करोड कलेक्सन गर्ने प्रारम्भिक अनुमान गरिएको छ । यदि यस्तो हुन सकेमा औसत बक्स अफिस कलेक्सनका हिसाबले सलमानले चौथो स्थानमा आफूलाई उभ्याउनेछन् ।
बक्स अफिसको सफलतामा नयाँ सफलता लेखिरहेका अभिनेता अक्षय कुमारको सन् २०१९ मै तीन चलचित्र रिलिज भए, जसमा ‘केशरी’ले १ सय ५३ करोड, ‘मिसन मंगल’ले २ सय करोड र ‘हाउसफुल–४’ ले २ सय ६ करोडको कलेक्सन गरेको थियो । यी तिनै चलचित्रको कलेक्सनको औसत आम्दानी १ सय ८६ दशमलव ३८ करोड हुन आउँछ । यी तीन सफलतालाई आधार मान्दा अक्षय सन् २०१९ को पाँचौं सफल अभिनेता भएका छन् । उनको चलचित्र ‘गुड न्युज’ डिसेम्बर २७ मा रिलिज हुँदैछ । यदि यो चलचित्रले २ सय करोडको व्यापार गर्न सक्यो भने अक्षयले पाएको सफलताको स्थान सुरक्षित नै रहनेछ ।
अर्का अभिनेता रणवीर सिंह सफल अभिनेताको छैटौं स्थानमा छन् । उनको चलचित्र ‘गली ब्वाइ’ले १ सय ३९ कराड आसपासको कलेक्सन गरेको थियो । रणवीरको यो वर्ष एक चलचित्र मात्र प्रदर्शनमा आयो ।
यसैगरी अजय देवगनको दुई चलचित्र ‘दे दे प्यार दे’ र ‘टोटल धमाल’ रिलिज भए । दुवै चलचित्रको बक्स अफिस कलेक्सनको औसत हिसाब १ सय २८ दशमलव ३५ करोड निस्कन्छ, जसका कारण अजयलाई सूचीको सातौं सफल अभिनेता मान्न सकिन्छ ।
वर्षको सफल अभिनेतामा नछुट्ने नाम भनेको आयुष्मान खुराना पनि हो । उनको सफलताको उचाइमा नयाँ इँटा थप्ने काम सन् २०१९ ले गरेको छ । आयुष्मानको तीन चलचित्र ‘आर्टिकल १५’, ‘बाला’ र ‘ड्रिम गर्ल’ बक्सअफिसमा हिट साबित भए । ‘बाला’ र ‘ड्रिम गर्ल’ सय करोड क्लबमा पुगे । यो हिसाबले उनको बक्सअफिस कलेक्सनको औसत १ सय ६ दशमलव ०१ करोड रह्यो । त्यसकारण उनी आठौं सफल अभिनेता बने ।
स्रोत : एजेन्सी