साप्ताहिक संवाददाता
अमेरिकन चलचित्र समीक्षक टोड म्याकार्थीले सन् २०१० मा प्रदर्शन भएको हलिउडको चलचित्र ‘कार्लोस’ लाई यो दशककै सबैभन्दा उत्कृष्ट चलचित्र भएको बताएका छन् । एउटा अंग्रेजी न्युज वेबसाइटका लागि स्तम्भ लेख्ने टोडले दशकका उत्कृष्ट हलिउड चलचित्रहरूको सूची तयार पारेका छन् । उनको यो सूचीमा ‘द सोसल मिडिया’ तथा ‘ब्रुक्लिन’ सहित अन्य थुप्रै सफल चलचित्र समावेश छन् ।
१. कार्लोस
सन् २०१० मा प्रदर्शन भएको यो क्राइम–ड्रामा चलचित्र भेनेजुएलाका क्रान्तिकारी इलिच रामिरेज सान्चेजको जीवनमा आधारित छ । इलिजले एक आतंकवादी संगठनको थालनी गरेका थिए, जसले सन् १९७५ मा आयोजित ओपेक मिटिङमा आक्रमण गरेको थियो । ५ घण्टा ३४ मिनेट लामो उक्त चलचित्रले एक गोल्डेन ग्लोब एवार्डसहित अन्य थुप्रै पुरस्कार जित्न सफल भएको थियो । आफ्नो उत्कृष्ट कथा तथा प्लटका साथै यो चलचित्र यो दशककै टोडको सूचीको उत्कृष्ट चलचित्र बन्न सफल भएको छ ।
२. द सोसल नेटवर्क
फेसबुकका संस्थापक मार्क जुकरबर्गको जीवन तथा सोसल मिडिया फेसबुकको यात्राबाट प्रेरित यो चलचित्रले तीनवटा ओस्कार एवार्ड जित्न सफल भएको थियो । यो चलचित्रमा मार्कको मुख्य भूमिकामा जेस इसनबर्गले निर्वाह गरेका थिए, जबकि उनका साथी एड्वार्डोको भूमिका एन्ड्रयू गार्फिल्डले निर्वाह गरेका थिए । यो फिल्मले विश्वभरिबाट २ सय २४ मिलियन डलरको व्यापार गरेको थियो ।
३. इन्साइड लेभिस डेभिस
सन् २०१३ मा प्रदर्शन भएको यो चलचित्रमा सन् १९६१ को एउटा कथालाई प्रस्तुत गरिएको छ । यो चलचित्रमा एक जना त्यस्ता लोकगायकको कथालाई चित्रण गरिएको छ, जसले सांगीतिक क्षेत्रमा सफलता हासिल गर्न सक्दैनन् । चलचित्रमा ओस्कार आईज्याकले मुख्य भूमिका निर्वाह गरेका छन् । यो चलचित्रको निर्देशन इथन कोएन तथा जोएल कोयनले संयुक्त रूपमा गरेका हुन् । करिब दुई घण्टा लामो यो चलचित्र ओस्कारका दुई विधामा मनोनीत हुन सफल भएको थियो ।
४. वन्ली लभर्स लेफ्ट अलाइभ
२५ डिसेम्बर २०१३ मा प्रदर्शन भएको यो चलचित्रमा नार्नियामा बीचको चरित्र निर्वाह गरिसकेकी टिल्डा स्विन्टनले मुख्य भूमिका निर्वाह गरेकी छिन् । उनका साथमा टम हिडल्सट्रन पनि चलचित्रको महत्त्वपूर्ण भूमिकामा छन् । चलचित्रले वर्षौं पुराना दुई जोडीको कथा बोकेको छ, जो आधुनिक समाजअनुसार आफूलाई परिवर्तन गर्ने प्रयास गर्छन् । जिम जार्मुसद्वारा निर्देशित यो चलचित्रले विश्वभरिबाट करिब ७ मिलियन डलरको व्यापार गर्न सफल भएको थियो ।
५. द हेन्डमेडन
सन् २०१६ मा प्रदर्शन भएको यो कोरियन तथा जापानिज चलचित्रले थुप्रै चलचित्र समीक्षकको ध्यान आकर्षित गर्न सफल भएको थियो । रोमान्स, ड्रामा तथा थ्रिलर विधाको यो चलचित्रले एक बाफ्टासहित ६२ एवार्ड आफ्नो पक्षमा पार्न सफल भएको थियो । यो चलचित्रको निर्देशक चान वु पार्क हुन् । चलचित्रमा मिन सिक चोई, जी ताय यूले मुख्य भूमिका निर्वाह गरेका छन् । चलचित्रको कथा एक बेलायती उपन्यासबाट प्रेरित थियो । चलचित्र समीक्षक टोडले यसलाई दशककै सबैभन्दा उत्कृष्ट इरोटिक थ्रिलर चलचित्रको दर्जा दिएका छन् ।
६. लेभियाथन
सन् २०१४ मा प्रदर्शन भएको यो चलचित्रमा एक रूसी फिसरम्यान भ्रष्ट मेयरसँग आफ्नो हकका लागि लड्छन् । चलचित्रले ग्लोबल बक्स अफिसमा ४ मिलियन डलरको आम्दानी गर्न सफल भएको थियो । चलचित्रमा एलेक्से सेरेब्रियाकोव तथा एलेना ल्यादेवाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यो चलचित्र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय कथानक चलचित्रको विधामा ओस्कार एवार्डका लागि मनोनीत हुन सफल भएको थियो ।
७. वन्स अपन अ टाइम इन हलिउड
दिग्गज क्वेन्टिन टेरेन्टिनोको यो चलचित्रले विश्वव्यापी बक्स अफिसमा ३ सय ७२ मिलियन डलरको व्यापार गर्न सफल भएको थियो । ओस्कार विजेता लियोनार्दो डि क्याप्रियो, ब्राड पिट तथा मार्गोट रोबीले चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् । चलचित्रमा एक जना टेलिभिजन अभिनेता तथा उनका एक स्टन्ट म्यानले सन् १९६९ को समयमा उद्योगमा सफलता पाउनका लागि गरेको प्रयासलाई चित्रण गरिएको छ ।
८. ब्रक्लिन
ड्रामा तथा रोमान्सले भरिएको यो चलचित्र ओस्कार एवार्डका तीन महत्त्वपूर्ण विधामा मनोनीत हुन सफल भएको थियो । चलचित्रमा एक आइरिस प्रवासी महिलाको कथा चित्रण गरिएको छ, जो स्थानीय युवकको प्रेममा पर्छिन् । सन् २०१५ मा प्रदर्शन भएको हुई जोन क्राउलेद्वारा निर्देशित यो चलचित्रले विश्वभरिबाट ६२ मिलियन डलर व्यापार गर्न सफल भएको थियो ।
९. म्याड म्याक्स : फ्युरी रोड
सन् २०१५ मा प्रदर्शन भएको यो एक्सन–एड्भेन्चर चलचित्रले थुप्रै दर्शकलाई आफूतिर आकर्षित गर्न सफल भएको थियो । चलचित्रको कथा अनुसार एक बागी महिला मरुभूमिमा महिला साथीहरू तथा म्याक्स नाम गरेका ड्रिफ्टरको सहयोगले शासकविरुद्ध लड्छिन् । यो चलचित्रले ६ वटा ओस्कारसहित थुप्रै महत्त्वपूर्ण एवार्ड जित्न सफल भएको थियो । यो चलचित्रको निर्देशन जर्ज मिलरले गरेका थिए । चलचित्रमा टम हार्डी तथा चार्लिज थेरोन मुख्य भूमिकामा थिए ।
१०. द गेटकिपर्स
सन् २०१२ मा प्रदर्शन भएको यो चलचित्रले टोडको लिस्टमा स्थान बनाउन सफल भएको छ । ड्रोर मोरेहद्वारा निर्देशित यो चलचित्रमा शिन बेटका ६ पूर्व प्रमुखहरूको दृष्टिकोणबाट इजरायलको अन्तरिम सुरक्षा सेवा शिन बेटको कथाका बारे बताइएको छ । वृत्तचित्र शैलीको यो चलचित्रलाई लामा–लामा अन्तर्वार्ता तथा कम्प्युटर एनिमेसनमार्फत निर्माण गरिएको छ । यो वृत्तचित्र ८५ औं ओस्कार एवार्डमा उत्कृष्ट वृत्तचित्र विधामा मनोनीत भएको थियो ।
स्रोत : एजेन्सी