साप्ताहिक संवाददाता
कुनै पनि खेलका खेलाडीहरूलाई तिम्रो लक्ष्य के हो भनेर सोध्यो भने ओलम्पिक वा विश्वकप खेल्ने भन्ने हुन्छ । यस्तै कुनै क्रिकेटरलाई के खेल्ने लक्ष्य छ भनेर सोध्यो भने पक्कै पनि इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भन्ने नै उत्तर आउँछ । पछिल्लो पटक आईपीएलका टिमले क्रिकेटरलाई दिने पैसा र चर्चा अरू कुनै क्रिकेट प्रतियोगिताले दिँदैन, जसका कारण आईपीएल क्रिकेटर र दर्शकलाई विश्वकै सर्वाधिक आकर्षणको प्रतियोगिता भएको छ ।
नेपालमा भर्खर क्रिकेट करिअर थालेका सन्दीप लामिछानेले पनि आईपीएलमा मौका पाएपछि उनी नेपालको मात्र नभएर विश्वकै चर्चित खेलाडीको सूचीमा पर्न सफल भए । आईपीएलमा उनी आबद्ध रहेको टिम दिल्ली क्यापिटलले तेस्रो सिजनका लागि अनुबन्ध गरे पनि उनको टिमले अझैसम्म पनि खासै सफलता पाएको छैन । तर, उनको खेलले पाएको चर्चाले उनलाई फ्रेन्चाइज क्रिकेट प्रतियोगिताका अरू ढोका पनि खुल्यो, जसका कारण उनी अहिले नेपालको सर्वाधिक आम्दानी गर्ने खेलाडी भएका छन् भने चर्चाका हिसाबले नेपालकै चर्चित खेलाडी पनि बनेका छन् ।
आईपीएल अहिले खेलाडीहरूलाई आर्थिक रूपमा समृद्ध बनाउँदै उनीहरूको प्रतिभाको मूल्यांकन गर्ने प्रतियोगिता पनि भएको छ । यही प्रतियोगितामार्फत धेरै खेलाडीले चर्चासहित आफूलाई करोडपतिको सूचीमा राख्न सफल भएका छन् । यसपटक पनि सन् २०२० मा आयोजना हुने आईपीएल प्रतियोगिताको खेलाडी खरिद प्रक्रिया हालै कोलकतामा सम्पन्न भयो । यो लिलामीले धेरै खेलाडीलाई खरिद गरेर र केही चर्चित खेलाडीहरूलाई कुनै पनि टिमले खरिद नगरेर पनि चर्चामा ल्याइदियो ।