साप्ताहिक संवाददाता
नेपालमा पर्यटक यहाँको संस्कृति र सम्पदा अवलोकन गर्न आउने हो । त्यसमाथि आधुनिकतासँगसँगै आफ्नो मौलिक परम्परागत संस्कृति अझै पनि जीवन्त राख्न सफल भक्तपुर जिल्ला त भ्रमण वर्ष २०२० मा पर्यटनको केन्द्रविन्दु बन्न सक्छ । तसर्थ पर्यटकलाई आकर्षित गर्न संस्थागत रूपमा हामी यहाँका परम्परागत बाजा तथा नाचहरू प्रस्तुत गर्ने/गराउने शैलीको कार्यक्रम अघि सार्दैछौं । व्यक्तिगत रूपमा पनि पर्यटकलाई आवश्यक सहयोग र राम्रो व्यवहार गर्ने तथा टोलछिमेकलाई भ्रमण गर्न प्रोत्साहित पार्दै भ्रमण वर्षलाई टेवा पुर्याउने कुनै पनि कार्यक्रमलाई सफल बनाउन आफ्नो स्तरबाट सक्दो सहयोग गर्नेछु ।
अलबर्ट बज्राचार्य, संगीतकर्मी
नीति–नियम बनाउने स्थानमा नभए तापनि सामाजिक सञ्जालको माध्यमबाट नेपाल आउने पर्यटकलाई उचित सम्मान र साथ दिने प्रयास एक नेपालीको नाताले सदा रहनेछ ।
विभोर पोखरेल, निर्देशक
म अहिले बैंग्लोर, कर्नाटकमा छु । नेपाली राजदूतावास र पीएचडीसीसीईले आयोजना गर्न लागेको भिजिट नेपाल इयर–२०२० का लागि म प्यानलिस्टका रूपमा सहभागी हुँदैछु । मैले खिचेका नेपालका तस्बिरहरूको स्लाइड शो भारतीय सहभागीहरू, ट्राभल एजेन्टहरूसमक्ष गर्दैछु । आशा छ, नेपाल भ्रमण वर्षलाई केही सघाउ पुग्नेछ । मैले खिचेका तस्बिरहरूको प्रदर्शनी सन् १९९६ मा बेलायतका केही सहरमा पनि गरिएको थियो, उक्त प्रदर्शनी हेरेर पनि नेपाल भ्रमण गर्न केही विदेशी नेपाल आएका थिए ।
विकास रौनियार, फोटो पत्रकार
नेपाल भ्रमण वर्ष–२०२० को विषयलाई लिएर एउटा गीत भर्खरै गाएकी छु, जुन गीत नेपालको पर्यटकीय स्थानहरूमा आयोजना हुने विभिन्न कार्यक्रममा आफ्नै प्रस्तुतिद्वारा सबैसामु पुर्याउने नयाँ सोच छ ।
मनीषा पोखरेल, गायिका
मैले आफ्नो ठाउँबाट गर्ने सहयोग अवश्य गर्नेछु । जुनसुकै ठाउँबाट पनि गर्नेछु । एउटा कलाकार, निर्देशक अथवा आमनागरिकका हिसाबले देशको जुन ठाउँमा काम गर्नुपर्यो भने पनि जान तयार छु । नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन म आफ्नो जन्मथलो पोखरा गएर विदेशीलाई नेपाल यति राम्रो छ, सबै एकपटक आउनुपर्छ भन्ने छाप छाड्नका लागि काम गर्नेछु ।
राजु गिरी, निर्देशक
सन् २०२० मा नेपाली फेसनलाई अन्तर्राष्ट्रियकरण गर्न सक्दो प्रयास गर्नेछु । किनभने अहिले नेपाली फेसनले विदेशमा समेत राम्रो स्थान पाउन थालेका छन् । अन्तर्राष्ट्रिय बजारमा नेपाली ह्यान्डलुमको राम्रो माग हुनसक्छ । नेपाली फेसनको अन्तर्राष्ट्रियकरण गर्ने क्रममा हाम्रा कच्चा पदार्थ, टेक्सटाइलहरूको प्रवद्र्धन गरेर आर्थिक अवसरहरू सिर्जना गर्ने प्रयास गर्नेछु ।
क्षितिजा शाक्य, फेसन डिजाइनर
जापान, बेलायत तथा युरोपका विभिन्न देशमा आयोजना हुने सांगीतिक कार्यक्रमहरूमा प्रस्तुत हुँदैछु । ती सांगीतिक कार्यक्रमहरूमा नेपाल भ्रमण वर्षका गीत, संगीत प्रस्तुत गरेर विदेशीहरूलाई नेपाल घुम्नका लागि प्रोत्साहन गर्नेछु ।
यम बराल, गायक
राज्यले घोषणा गरेको भ्रमण वर्ष सफल पार्नु हामी सबैको दायित्व हो । यसमा म पनि योगदान गर्न तयार छु । विदेशी पर्यटकका साथै आन्तरिक पर्यटनलाई पनि उत्तिकै महत्त्व दिएर यसलाई सफल पार्नुपर्छ । म पनि व्यक्तिगत रूपमा आफू सहभागी भएका कन्सर्ट, कार्यक्रमहरूमा भ्रमण वर्षको प्रचार गरेर र आफूलाई मन परेका केही गन्तव्यहरू परिवारको साथमा घुम्न गएर भ्रमण वर्षलाई सार्थक बनाउनेछु ।
सुशीला पाठक, गायिका
हाल म अमेरिकामा अध्ययन गर्दैछु । यहाँ भेट हुने सबै जनालाई म मेरो देश नेपालका बारेमा बुझाइरहेको हुन्छु । अनि अन्य देश घुम्दा लाग्ने खर्च र नेपालमा हुन सक्ने अनुमानित खर्चको तथ्यांकका साथै घुम्न पाइने ठाउँहरूका बारेमा जानकारी दिन्छु । कहिलेकाहीँ केही नसुनेकोलाई बुझाउन निकै समस्या पनि हुन्छ । तर, प्राय:जसो इच्छुक नै देख्छु । कति जना विदेशीले त उल्टै मलाई नै छक्क पार्ने गरी नेपालको बयान पनि गर्छन् ।
गैरे सुरेश, संगीतकार
नेपाल भ्रमण वर्ष–२०२० लाई सामाजिक सञ्जालमार्फत विदेशमा रहेका स्वदेशी तथा विदेशीहरू, आफन्त साथीभाइमार्फत नेपाल भ्रमण वर्षको प्रचार–प्रसार गर्ने योजना बनाएको छु ।
लाक्पा शेर्पा, गायक
सामाजिक सञ्जालको माध्यमबाट नेपालको सौन्दर्य झल्किने पर्यटकीय स्थलहरू सेयर गरिरहेको छु । हाम्रो सानो प्रयासले नेपाल विश्वसामु चिनिनुपर्छ ।
बीबी फुयाँल, निर्देशक
चलचित्र निर्माता संघले भ्रमण वर्ष–२०२० को पूर्वसन्ध्यामा वीरगन्जमा चलचित्र महोत्सव गरिसकेको छ । त्यसैगरी प्रदेश ५ मा पनि चलचित्र महोत्सव आयोजना गरी भ्रमण वर्ष–२०२० सफल बनाउन चलचित्र निर्माता संघको महासचिवको हैसियतले लागिपरेको छु ।
रोज राणा, चलचित्रकर्मी
नेपाल भ्रमण वर्ष–२०२० सफल पार्न दोब्बरको गतिमा कुद्नुपर्छ ।
नारद खतिवडा, कलाकार
सबैभन्दा पहिला त सबैमा २०२० को शुभकामना । कलाकार भएकाले हरेक क्षेत्रका लागि आफ्नो तर्फबाट प्रमोसनमा सहयोग गरिरहेको छु । मैले बुझेको र जानेसम्मको सपोर्ट गरिरहेको छु । यो अवधिमा धेरै विद्यालय भ्रमण गरेर २०२० को प्रचार–प्रचार गरिरहेको छु ।
सञ्चिता लुइँटेल, अभिनेत्री
नेपाल भ्रमण वर्ष–२०२० सफल पार्न सबैभन्दा पहिला हामीले बढीभन्दा बढी पर्यटक भित्र्याउन सक्दो जानकारी दिनुपर्छ । त्यस्तै आन्तरिक पर्यटकका रूपमा आफू पनि नेपालका विभिन्न ठाउँहरूको भ्रमण गर्दैछु । सबैभन्दा मुख्य कुरा गायिकाका रूपमा गीत–संगीतको माध्यमबाट नेपाललाई खासगरी पोखरा भित्रिनु भएका पर्यटकहरूलाई मनोरञ्जन गराउने योजना छ । हामीले गर्न सकिने यति नै होला ।
इतु जोजिजू, गायिका
म आफ्नो तर्फबाट जतिसक्दो सफल बनाउन लागिपरेको छु । आफ्नो सामाजिक सञ्जालमा र नेपालबाहिर हुँदा भर्खरै मात्र अमेरिकामा नेपाली परेड डेमा मैले नेपाल भ्रमण वर्ष–२०२० को बारमा मान्छेहरूलाई जानकारी गराएको छु । भ्रमण वर्षलाई सफल बनाउनु हामी सबैको दायित्व रहेकाले सबैलाई सहयोग गर्न अनुरोधसमेत गर्छु ।
दीवाकर भट्टराई, निर्देशक
विश्वसम्पदा क्षेत्रमा सूचीकृत स्वयम्भू महाचैत्यमा भ्रमण वर्ष–२०२० मा भ्रमण गर्न आउने पाहुनाहरूका लागि एउटा महत्त्वपूर्ण स्थान भएको हुँदा उक्त क्षेत्रको सरसफाइ, ट्राफिक व्यवस्थापनलाई चुस्त–दुरुस्त बनाउनका लागि म त्यस क्षेत्रको सामुदायिक सेवा मञ्चको अध्यक्षको हैसियतले आफ्नो तर्फबाट पहल गरिरहेको छु ।
अमिन पाण्डे, गायक
नेपालबाहिर रहनु भएका मेरो सम्पूर्ण साथीहरूलाई सामाजिक सञ्जालमार्फत नेपाल भ्रमण गर्न आग्रह गरिरहेको छु । नेपालका सुन्दर तस्बिरहरू पठाएर उनीहरूलाई नेपालतर्फ आकर्षित गरिरहेको छु ।
जित राघव, कलाकार
हाम्रो देशमा रहेका विविध सांस्कृतिक र प्राकृतिक सुन्दरता नै पर्यटक भित्र्याउने मुख्य आधारहरू हुन् । त्यसैले म पनि २०२० मा आफैंले नघुमेका र नपुगेका धेरै ठाउँमा जाने र ती ठाउँहरूलाई कसरी हुन सक्छ, सबैको नजरमा पार्ने कोसिस गर्नेछु र पर्यटन बोर्डले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी हुनेछु ।
दुर्गा खरेल, गायिका
नेपाल भ्रमण वर्ष २०२० म देशका केही रमणीय स्थलको भ्रमण गर्दैछु । आफ्नो भ्रमणका तस्बिरहरू फेसबुक तथा इन्स्टाग्राममा राखेर ती स्थलका प्रचार–प्रसार गर्ने सोच बनाएको छु ।
कविर खड्का, अभिनेता
मैले चाहिं नेपालका प्राकृतिक रूपले सुन्दर देखिने स्थानका तस्बिरलाई आफ्ना सामाजिक सञ्जालमा प्रोफाइलका रूपमा प्रयोग गर्ने र सकेसम्म नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने खालका सामग्रीहरू सामाजिक सञ्जालमा सेयर गर्ने योजना बनाएको छु ।
कमलमणि नेपाल, अभिनेता
नेपालका विभिन्न स्थानमा आफैं भ्रमण गरेर, फोटो खिचेर इन्स्टा र फेसबुकमा पोस्ट गर्छु । ती फोटो सामाजिक सञ्जालमार्फत विभिन्न स्थानका विभिन्न व्यक्तिसमक्ष पुग्नेछ, जसले उहाँहरूलाई ती स्थानको भ्रमण गर्न उत्साहित गराउनेछ ।
अञ्जना मिश्र, बैंकर
सामाजिक सञ्जालमा आफू घुमेका स्थानहरूको तस्बिरहरूमा राम्रो क्याप्सन लेख्ने र बाहिर भएका साथीभाइ, विदेशीहरूलाई नेपाल भ्रमण गर्न उत्साहित बनाउने योजना छ ।
आमेश भण्डारी, अभिनेता
नेपाल भ्रमण वर्षका लागि मैले गीत–संगीतको माध्यमबाटै हाम्रो संस्कृतिका लागि आफ्नो ठाउँबाट सरकारी मातहतका तथा विभिन्न संघ–संस्थाले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी भएर, हाम्रो देशको लोकसंगीतका बारेमा प्रचार गरेर, मैले बुझेको र सिकेको कुरालाई सबैसामु व्यक्त गरेर हाम्रो परम्परालाई संसारभरि पुर्याउने प्रयास गर्नेछु ।
याम क्षेत्री, गायक
मेरो सामाजिक सञ्जालमा थुप्रै विदेशी साथी हुनुहुन्छ । त्यसैले म नेपालका सुन्दर तस्बिरहरू सामाजिक सञ्जालमा अपलोड गरेर उनीहरूलाई आकर्षित गर्नेछु । यसबाहेक पर्यटन क्षेत्रमा हुनुभएका मेरा साथीभाइहरूलाई समेत अझ बढी शक्ति लगाउनका लागि आग्रह गर्नेछु ।
विपना थापा, मोडल
एउटा कलाकर्मीको नाताले विदेशी पर्यटकलाई भित्र्याउन के–कस्तो भूमिका खेल्नुपर्छ, खेल्नेछु । हामी समाजमा जमिसकेपछि आ–आफ्नो ठाउँबाट राज्यलाई आ–आफ्नो क्षेत्रले सक्दो सहयोग गर्नुपर्छ । त्यसैअनुरूप म सांस्कृतिक कार्यक्रमको सिलसिलामा युरोपमा छु । युरोपका धेरै सहरमा मेरो प्रस्तुति पनि छ । त्यही कार्यक्रममार्फत पनि नेपाल घुम्न आह्वान गर्नेछु र नेपालका धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थलहरू समेटेर एउटा गीत तयार पारेको छु । त्यो गीतमार्फत पनि भ्रमण वर्ष २०२० सफल पार्न भूमिका खेल्नेछु ।
सन्दिप न्यौपाने, गायक
भर्खर हामीले अमेरिकाको सन फ्रान्सिस्कोमा ग्लोबल नेपाली फिल्म एवार्ड कार्यक्रममा पनि भिजिट नेपाल २०२० लाई सफल बनाउन प्रचार गर्यौं । त्यसको भोलिपल्ट त्यहीं नेपाल डे परेज भिजिट नेपाल २०२० आयोजना गर्यौं । यसलाई निरन्तरता दिँदै जानेछौं ।
कृष्ण मल्ल, अभिनेता
मेरा प्रत्येक कन्सर्ट तथा सामाजिक सञ्जालमा आफ्नो टोल, छिमेक तथा शहरलाई सफा राखौं तथा से नो टु ड्रग्स भन्ने अभियानलाई प्रत्येक दर्शक र स्रोतालाई सम्बोधन गरेर नेपाल भ्रमण वर्ष सफल बनाउने एउटा सानो प्रयास गर्नेछु ।
सचिन रौनियार, गायक
छायांकनको क्रममा पुगिने हरेक रमणीयस्थललाई सामाजिक सञ्जालमा पोस्ट गर्ने हरेक फोटो र भिडियोमा भिजिटनेपाल २०२० ह्यास ट्याग गर्दैछु । आफ्नो विदेशी साथीहरूलाई पनि भिजिटनेपाल २०२० को सुविधाका बारेमा जानकारी गराउँदै हाम्रो देश घुम्न आउनु निमन्त्रणा दिँदैछु ।
रीमा विश्वकर्मा, अभिनेत्री