साप्ताहिक संवाददाता
यस वर्षको ओस्कार एवार्डका लागि जोकर, क्याप्टेन मार्भल, जुमान्जी–द नेक्स्ट लेभल, द आइरिस म्यान, म्यारिज स्टोरी, द टु पोप्स, फोर्ड भर्सेस फरारी, जोजो रेबिट, लिटिल वुमन, डोलमाइट इज माई नेम, द फेयरवेल, एभेन्जर्स इन्डगेमजस्ता चलचित्रहरूबीच कडा प्रतिस्पर्धा हुने सम्भावना छ ।
विगतका वर्षहरूमा झैं वर्ष २०१९ मा पनि हलिउडमा सयौं चलचित्र प्रदर्शन भए । तीमध्ये अधिकांश चलचित्र अमेरिकामा मात्र प्रदर्शन भए भने केही चलचित्र विश्वव्यापी रूपमा प्रदर्शन भए । तीमध्ये केही चलचित्रले उत्कृष्ट व्यवसाय गर्न सफल भए भने केही चलचित्र औसत रहे ।
व्यावसयिक सफलताको कुरा गर्ने हो भने अप्रिल २२ का दिन प्रदर्शन भएको चलचित्र ‘एभजेन्जर्स : इन्डगेम’ लाई वर्षकै सर्वोत्कृष्ट मानिएको छ । थार, आइरन म्यान तथा हल्कजस्ता सुपरहिरोहरूले सजिएको यो चलचित्रले विश्वभरका दर्शकको मन जित्न सफल भयो । मार्बल स्टुडियोजको यो सुपरहिरो चलचित्रलाई एन्थोनी रस्सो तथा उनका भाइ जो रस्सोले संयुक्त रूपमा निर्देशन गरेका थिए । रोबर्ट डाउनी जुनियर, क्रिस इभान्स, मार्क रुफालो, क्रिस हेम्सवर्थ आदि कलाकारद्वारा अभिनीत यो चलचित्रले झन्डै ३ बिलियन डलर आम्दानी गर्न सफल भएको थियो ।
सफल चलचित्रको सूचीमा जोन फेवरोको निर्देशनमा बनेको चलचित्र ‘द लायन किङ’ दोस्रो स्थानमा छ । १९ जुलाई २०१९ मा प्रदर्शन भएको यो चलचित्रले वयष्कमात्र होइन, बालबालिकाहरूको समेत मन जित्न सफल भयो । यसअघि द जंगल बुकको सफल निर्देशन गरिसकेको फेवरोले यो चलचित्र निर्देशन गरेका थिए ।
जोन वाट्सको निर्देशनमा बनेको चलचित्र ‘स्पाइडर म्यान : फार फ्रम होम’ २६ जून २०१९ का दिन प्रदर्शन भएको थियो । मार्भल कमिक्सलाई मन पराउनेहरूका लागि यो चलचित्र वरदान नै सावित भयो । जसरी एभेन्जर्स इन्डगेममा थुप्रै सुपर हिरोजको अन्त्य भएको थियो, स्पाइडर म्यान : फार फ्रम होमको थालनी त्यहींबाट गरिएको छ । चलचित्रमा टम हलेन्डले स्पाइडर म्यानको चरित्र निर्वाह गरेका छन् । यो चलचित्रले करिव डेढ बिलियन डलर आम्दानी गर्न सफल भएको छ ।
मार्वल स्टुडियोजले निर्माण गरेको चलचित्र ‘क्याप्टेन मार्भल’ फेब्रुअरी २७ का दिन प्रदर्शन भएको थियो । एना बोडेन तथा रियाल फ्लेकद्वारा संयुक्त रूपमा निर्देशन गरिएको यो चलचित्रमा ब्री लार्सन, स्यामुअल एल ज्याक्सन, बेन मेन्डेल्सन आदि कलाकारले अभिनय गरेका छन् । यो चलचित्रले करिब डेढ मिलियन डलर आम्दानी गर्न सफल भएको थियो ।
टोड फिलिप्सको निर्देशनमा बनेको चलचित्र ‘जोकर’ अगस्ट ३१ का दिन प्रदर्शन भएको थियो । यो मनोवैज्ञानिक विषयवस्तुमा आधारित चलचिको कथा डीसी कमिक्सको चरित्रमा आधारित छ । जोकिन फिनिक्सले यो चलचित्रमा मुख्य भूमिका निवर्शह गरेका छन् । यो चलचित्रले विश्वभरीबाट १ दशमलव शून्य ६ मिलियन डलर आम्दानी गर्न सफल भएको छ ।
गत डिसेम्बर ४ का दिन प्रदर्शन भएको ‘जुमान्जी द नेक्सट लेभल’ ले पनि उत्कृष्ट व्यवसाय गर्न सफल भएको छ । जेक कासडनद्वारा निर्देशित यो चलचित्रमा ड्वेन जोनसन, केविन हार्ट, ज्याक ब्ल्याक, डेनी डिविटो, डेनी ग्वोवर, केरेन गिलन आदि कलाकारले अभिनय गरेका छन् । यो चलचित्रमा निर्देशक कासडनले रोबिन विलियम्सको जुमान्जीको बोर्ड गेमलाई कम्प्युटर गेममा परिवर्तन गर्न सफल भएका हुन् । उक्त गेमका परिचित चरित्रहरूलाई जुमान्जी जंगलमा नयाँ अवतारमा प्रस्तुत गरिएको छ । जुमान्जीको यो सिक्वेल चलचित्रले हरेक उमेरका दर्शकहरूलाई आकर्षित गर्न सफल भएको छ । प्रदर्शन भएको तीन सातामा यो चलचित्रले तीन सय मिलियन डलर आम्दानी गर्न सफल भैसकेको छ ।
२ अगस्टका दिन प्रदर्शन भएको चलचित्र ‘फास्ट एन्ड फ्यूरियस’को श्रृंखला ‘फास्ट एन्ड फ्युरियस : हब्स एन्ड श’ पनि सन् २०१९ का उत्कृष्ट चलचित्रको सूचीमा पर्न सफल भएको छ । यो चलचित्रमा ड्वेन जोन्सन तथा जेसन स्टेथमलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । डेविड लिचद्वारा निर्देशित यो चलचित्रमा इदरीस अल्बा तथा वनेसा किर्बी पनि मुख्य भूमिकामा छन् । यो चलचित्रले ७ सय ५८ मिलियन डलर आम्दानी गर्न सफल भएको छ ।
२१ मे का दिन प्रदर्शन भएको चलचित्र ‘वन्स अपन ए टाइम इन हलिउड’ पनि यो वर्षका उत्कृष्ट चलचित्रहरूमध्येको एक हो । क्वेन्टिन टेरन्टिनोद्वारा निर्देशित यो चलचित्रमा लियोनार्दो डिक्याप्रियो तथा ब्राड पिट मुख्य भूमिकामा प्रस्तुत भएका छन् । यो चलचित्रले विश्वव्यापी रूपमा २ सय ७२ मिलियन डलर बराबरको आम्दानी गर्न सफल भएको थियो ।
क्रिस बक तथा जेनिफर लिद्वारा निर्देशित एनिमेडेट चलचित्र हो फ्रोजन–२ । क्रिस्टेन बेल, इडिना मेन्जेल, जोश गाड, जोनाथन ग्रोफ आदि कलाकारले अभिनय गरेको यो चलचित्रले १ बिलियन डलर आम्दानी गर्न सफल भएको थियो । यो चलचित्र नोभेम्बर ७ का दिन प्रदर्शन भएको हो ।
जोस कुलीद्वारा निर्देशित चलचित्र ‘टोय स्टोरी–४’ जून ११ का दिन प्रदर्शन भएको थियो । २ सय मिलियन डलरको लगानीमा निर्माण गरिएको यो चलचित्रले १ सय बिलियनभन्दा बढी आम्दानी गर्न सफल भएको थियो । यो चलचित्रमा टम ह्याङ्स, टिम एलेन, एनी पोट्स, टोनी हेल आदि कलाकारले अभिनय गरेका छन् ।
ओस्कारको तयारी
नयाँ वर्ष २०२० को प्रारम्भमै अर्थात् १३ जनवरीका यो वर्षको ओस्कार एवार्डको मनोनयन सूची सार्वजनिक हुँदैछ । यसपटकको ओस्कारका लागि सन् २०१९ मा प्रदर्शन भएका ३ सय ४ वटा चलचित्र प्रस्तुत गरिएका छन् । यसपटकको ओस्कार एवार्ड ९ फेब्रअरीका दिन वितरण गरिनेछ । यस वर्षको ओस्कार एवार्डका लागि जोकर, क्याप्टेन मार्भल, जुमान्जी–द नेक्स्ट लेभल, द आइरिस म्यान, म्यारिज स्टोरी, द टु पोप्स, फोर्ड भर्सेस फरारी, जोजो रेबिट, लिटिल वुमन, डोलमाइट इज माई नेम, द फेयरवेल, एभेन्जर्स इन्डगेम जस्ता चलचित्रहरूबीच कडा प्रतिस्पर्धा हुने सम्भावना छ ।