साप्ताहिक संवाददाता
नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा.हेमनाथ पौडेल इनसाइक्लोपेडिया विकिपोइजियाको मानार्थ अध्यक्ष उपाधिबाट सम्मानित भएका छन् । विकिपोइजियाका इनसाइक्लोपेडिया पोइजियाको जनवरी ३ तारिकका दिन इटालीमा सम्पन्न कङ्ग्रेसले उक्त पदवीबाट पौडेललाई सम्मान गर्ने निर्णय गरेको हो । कविता/काव्यका क्षेत्रमा नेतृत्व गर्ने संस्थाका प्रमुखमध्येबाट पौडेल सम्मानित भएका हुन् ।
यसअघि विश्वभरबाट १६ जना व्यक्तित्वहरू उक्त सम्मानबाट सम्मानित भैसकेका छन् । यसरी मानार्थ अध्यक्ष पदवीबाट सम्मानित हुने पौडेल १७ औँ व्यक्तित्व हुन् । नेपाल प्रज्ञा–प्रतिष्ठानको काव्य विभागले नेपाली कविता काव्यका क्षेत्रको उन्नयनमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरेको हो ।
इनसाइक्लोपेडिया विकिपोइजियामा हालसम्म दशलाखभन्दा बढी कविहरू सदस्य रहेका छन् । पौडेलको प्रेसिडेन्टमा प्रवेशसँगै नेपाल प्रज्ञा–प्रतिष्ठानबाट राष्ट्रिय कविता महोत्सवमा २०२२ यता पुरस्कृत नेपालका कविहरू समेत इनसाइक्लोपेडियामा पुरस्कृत कविहरूका समूहमा दर्ता भएका छन् ।