
साप्ताहिक संवाददाता

आर यू सिंगल ?
शोभित बस्नेत, निर्देशक
प्रधानमन्त्रीज्यू, हजुर पूर्ण रूपमा कहिले स्वस्थ हुने ?
विवेक खतिवडा, भीजे
आखिर छुट्टिनु नै थियो भने किन भेटियौं हामी ?
नीलम आङबुहाङ राई, गीतकार
केटाले बिहे गर्ने उमेर कुन ठीक होला ?
विधान कार्की, निर्देशक
जिन्दगीमा आफूले चाहेजस्तो कहिल्यै हुँदैन, किन होला ?
सुष्मा लामा, आरजे/भीजे
तपाईंहरू मलाई किन प्रश्न गर्नुहुन्छ ?
सरोज खनाल, अभिनेता
तपाईं कान्तिपुर साप्ताहिकमै हो ?
टेकेन्द्र शाह, निर्देशक
ट्राफिक प्रहरी प्रमुखज्यू, तपाईं मातहतका कर्मचारीहरूले चोकचोकमा बसेर एकापट्टि लामो जाम गराएर अर्कोपट्टि पर–परबाट फाट्टफुट्ट आइरहेका सवारी साधनलाई मरी–मरी किन पासिङ गर्न लगाएका होलान् ?
फुपू तेन्जिङ शेर्पा, प्रबन्ध निर्देशक, इन्टरनेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी
आजकाल दर्शक–श्रोताले गहन शब्द भएका गीत–संगीतभन्दा अश्लील, छाडा शब्दले भरिएका गीत रुचाएजस्तो लाग्छ । यसो गर्दा नेपाली मौलिक संगीत बिस्तारै पलायन हुँदै जाँदैन र ?
उजन नेम्वाङ, गायक
आजकल के भएको होलान् मानिसहरू, आफैंभित्र विश्वास किन गुमाउँदैछन् ?
सुचित्रा श्रेष्ठ, निर्देशक
संसारमा सानो–ठूलो, धनी–गरिब नभनी सबैलाई एकै परिवार भएर समान रूपमा खान, बस्न र स्वस्थ भएर बाँच्न किन नदिएको भगवान् ?
श्रीदेव भट्टराई, कलाकार
नेपाली चलचित्र निर्माणको नाममा विभिन्न विकसित देशहरू (युरोप, अमेरिका, अस्ट्रेलिया) मा मानव तस्करीको खेती भइरहेको जानकारीमा आएको छ । यसलाई निरुत्साहित गर्न मिडिया (विशेष गरी कान्तिपुर) ले के–कस्तो कदम चालेको छ ? केही महिनाअगाडि युरोपमा सुटिङ गर्नका लागि दुईवटा चलचित्रको टिम गएकोमा दुवै टिमले मान्छे लुकाएको जानकारी आएको छ र मिडियामा यो कुरा यदाकदा उजागर भएको छ । तर, किन कुनै राष्ट्रिय मिडियाले उजागर गर्न सकेको छैन ? जबकि यहींनेर भिसा दिने दूतावासले अन्य भिसाग्राहीलाई सोध्ने गरेको छ ।
श्याम श्रेष्ठ, अभिनेता
प्रेमी/प्रेमिका वा श्रीमान्/श्रीमतीबाट धोका भयो भनेर आत्महत्या गर्नेहरूप्रति तपाईंको विश्लेषण के छ ?
शारदा थापा, सञ्चारकर्मी
नेपालमा नचाहिँदो म्युजिक एवार्ड रोक्नुपर्यो । यसलाई कसरी रोक्ने होला ?
सपन श्रेष्ठ, गायक
मन चोर्ने चोर्नेलाई चाहिँ जेल हाल्न मिल्दैन ?
सुजन श्रेष्ठ, सञ्चारकर्मी
देशमा नागरिकको आम्दानी बढाउनतिर लाग्ने हो कि कर मात्र बढाउनतिर ? हामीले तिरेको करको उचित सदुपयोग भएको छ त ?
सन्तोषी श्रेष्ठ, फेसन डिजाइनर
तपाईंले आज कुन किताब पढ्नुभयो ? यसको उत्तर कुनै एउटा किताब पढ्दैछु आयो भने ठीकै छ, तर पढेको छैन भन्ने आयो भनेचाहिँ फेरि अर्को प्रश्न सोध्छु– पढ्ने बानी छैन ? यसैगरी हरेक पल अनि हरेक दिन सोध्ने गर्छु, तपाईंले आज कुन किताब पढ्नुभयो ? के गर्नु, जीवन नै किताबका पानाहरूमा पाइने शब्दजस्तै त हुन्— कुनै रुखा, कुनै मीठा, कहीँ सपना, कहीँ बिपना, कहीँ प्रेम, केही बिछोड । पढ्नचाहिँ छोड्नु हुन्न है ।
ऋषिराम अधिकारी, सिइओ, किताब यात्रा
एउटा बलात्कारी त पत्ता लगाउन सक्नुहुन्न भने देश समृद्ध कसरी बनाउन सक्नुहुन्छ ?
सिर्जना सुब्बा, अभिनेत्री
तपाईंलाई के सोध्न मन छ सोध्नुहोस् ?
छेतेन गुरुङ, निर्देशक
कसलाई सोध्ने हो ? केटीलाई भए उमेर, केटालाई भए तलब, जुन सोध्नु हुँदैन, सबैलाई त्यही सोध्न मन लाग्छ ।
विल्सनविक्रम राई, अभिनेता
के छ, कस्तो छ खबर तपाईंको ?
सञ्जय तुम्रुक, गायक
एउटा कुरा भनूँ ? तिमी मलाई मन पर्छ ?
सञ्जीव पराजुली, गायक
इच्छा, रहर र बाध्यताबीचमा फरक के हो ?
संयम पुरी, अभिनेता
चन्द्रमामा एक जनालाई लिएर जान पाउनुभयो भने कसलाई लैजानुहुन्छ ?
रेवत राई, गायक
बुद्धभूमिमा जन्मिएर के तपाईंले बुद्धलाई साँच्चै चिन्नुभएको छ ?
रवीन्द्रसिंह बानियाँ, निर्माता
हाम्रो संगीत उद्योगमा एउटा प्याटर्नको गीत, गायक वा गायिका चलेपछि भएभरको सबै त्यतै किन दौडिन्छन् ?
प्राश्ना शाक्य, गायिका
प्रेम के हो ?
बालिका थपलिया, कवियत्री
नेपाली चलचित्र उद्योग कहिले बन्छ ?
अर्जुन तिवारी, छायाँकार
हाम्रो देशमा राजनीतिक स्थिरता कहिले आउँछ ?
अजित शाह, मिथिला कलाकार
पत्रकारहरूले तोकिएअनुसारको पारिश्रमिक पाउनका लागि कसले कस्तो भूमिका र जिम्मेवारी निर्वाह गर्नुपर्छ जस्तो लाग्छ ?
गंगाधर पराजुली, अध्यक्ष, न्यूनतम पारिश्रमिक निर्धारण समिति
जाडो कत्तिको छ ?
लक्ष्मी खतिवडा, विद्यार्थी नेतृ
हाम्रो देशले भ्रष्टाचारीहरूको चंगुलबाट कहिले मुक्ति पाउँछ ?
हरि फुयाँल, शिक्षक
जीवन के हो ?
सन्जोक बस्याल, आरजे
ग्ल्यामरस फोटो हटाउन मिल्दैन ? कहिलेकाहीं ‘साप्ताहिक’ परिवारसँगै बसेर हेर्न पनि गाह्रो हुन्छ ।
प्रकाश केसी, मिक्सिङ इन्जिनियर