साप्ताहिक संवाददाता
बलिउडमा निर्देशनमा पाइला टेकेका युवा निर्देशकहरू पहिलो चलचित्रबाटै चर्चामा आए । सन् २०१९ मा रिलिज चलचित्रमध्ये सर्वाधिक नेट कलेक्सन गर्ने चलचित्रको तेस्रो स्थानमा ‘उरी : द सर्जिकल स्ट्राइक’ पनि पर्छ । यसका निर्देशक आदित्य धर हुन् । चलचित्रले बक्स अफिसमा २ सय ४४ करोडको सानदार कलेक्सन गरेको थियो । पाकिस्तानमा भारतको सर्जिकल स्ट्राइकमा आधारित रहेर बनेको यो चलचित्रमा विक्की कौशल प्रमुख भूमिकामा थिए । निर्देशनमा आउनुअघि आदित्यले बलिउडमा पाश्र्व गायन र संवाद लेखन गर्दथे ।
सहायक निर्देशक आर बाल्कीसँग कैयौं चलचित्रमा काम गरिसकेका जगन शक्ति चलचित्र ‘मिसन मंगल’मार्फत पूर्ण निर्देशकका रूपमा बलिउडमा ‘डेब्यु’ गरेका थिए । भारतको पहिलो मंगलयानको अन्तरिक्षमा सफलतापूर्वक पठाउने कथामा आधारित चलचित्रमा अक्षयकुमार र विद्या बालन प्रमुख भूमिकामा थिए । चलचित्रमा सोनाक्षी सिन्हा, तापसी पन्नू, कीर्ति कुल्हरी, नित्या मेनन र शरमन जोशी सहअभिनेता अभिनेत्री छन् । चलचित्रले बक्स अफिसमा २ सय करोडको कारोबार गरेको थियो ।
बलिउडमा लामो समयदेखि कुशल सम्पादकको प्रतिभा देखाइरहेका अकिब अलीले यो वर्ष रोमान्टिक कमेडी चलचित्र ‘दे दे प्यार दे’बाट निर्देशनमा ‘डेब्यु’ गरेका थिए । अजय देवगन र तब्बु अभिनीत चलचित्रले बक्स अफिसमा सय करोड बढी कलेक्सन गरेको थियो ।
राज सान्डिल्य बलिउडमा लामो समयदेखि संवाद लेखनमा व्यस्त चलचित्रकर्मी हुन् । यो वर्ष उनले ‘डेब्यु’ निर्देशन गरेको चलचित्र ‘ड्रिम गर्ल’ले बक्स अफिसमा सफलताको स्वाद चाख्यो । आयुष्मान खुराना र नुसरत भरुचा अभिनीत चलचित्रमा बक्स अफिसमा १ सय ३९ करोडको व्यापार गरेको थियो ।
मराठी र हिन्दी चलचित्रमा सिनेमाटोग्राफरका रूपमा काम गरिरहेका लक्ष्मण उटेकरले चलचित्र ‘लुका छिपी’मार्फत निर्देशनमा हात हाले । यो चलचित्र वर्षकै सफल चलचित्रको सूचीमा परेको छ । कार्तिक आर्यन र कृति सेनोन अभिनीत चलचित्रले बक्स अफिसमा ९४ करोडको व्यापार गरेको थियो ।
चलचित्र ‘कवीर सिंह’का निर्देशक सन्दीप रेड्डी पनि चलचित्र निर्देशनका लागि बलिउडमा नयाँ अनुहार हुन । यो चलचित्र तेलुगु हिट ‘अर्जुन रेड्डी’को रिमेक हो । सन् २०१९ को यो सफल चलचित्रमा शाहिद कपुर र कियारा आडवाणी प्रमुख भूमिकामा थिए ।