साप्ताहिक संवाददाता
भानु नगरपालिका–४ शिखरकटेरीमा करिब तीन करोडको लागतमा रामायण भवन निर्माण सम्पन्न भएको छ । पर्यटन विभाग र भानु जन्मस्थल विकास समितिद्वारा संयुक्त रुपमा भवन निर्माण पूरा भएको भानु नगरपालिकाले जनाएको छ ।
आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कलात्मक रामायण भवन बनाइएको भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौलीले जानकारी दिए । भवनको बार्दली काठमा कुँदिएको कलात्मक रहेको छ ।
करिब १० रोपनी क्षेत्रफलभित्र भानुगृह, आवासगृह, चमेनागृह, पुस्ताकालय, शौचालय, पोखरीलगायतका भौतिक संरचना निर्माण गर्ने गुरुयोजना रहेको भानु जन्मस्थल विकास समितिका निर्वतमान कार्यकारी निर्देशक शंकर रानाभाटले जानकारी दिए ।
उक्त गुरुयोजनाका लागि अनुमानित लागत १६ करोड रहेको छ । पर्यटकलाई थप आकर्षित गर्न आदिकविको १०० फिट अग्लो शालिक निर्माणलगायतका दीर्घकालीन गुरुयोजना रहेको भानु नगरपालिकाले जनाएको छ ।
चुँदी रम्घाबोसीदेखि शिखरकटेरीसम्म पुग्ने कच्ची मोटरमार्ग भएका कारण मानिसलाई आवातजावत गर्न समस्या भएकाले उक्त मार्गको स्तरोन्नतिका लागि आवश्यक पहल भइरहेको वडाध्यक्ष पूर्णबहादुर लौडारीभाट जानकारी दिए । नेपाली भाषा र साहित्यका प्रथम आदिकवि भानुभक्त विसं १९७१ असार २९ गते चुादी रम्घामा जन्मेका थिए । -रासस