साप्ताहिक संवाददाता
हरेक कार्यक्रममा सधै कडा रुपमा प्रस्तुत हुने संचारमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले हालै एक कार्यक्रममा बोलेको मन्तव्यले मिडियामा निकै चर्चा पाएको छ ।
केहि दिनअघि मात्रै हल संचालकहरुको छाता संगठन ‘नेपाल चलचित्र संघ’को साधारण सभामा प्रमुख अतिथी बनेर पुगेका सूचना, संचार तथा प्रविधी मन्त्री बास्कोटाले चलचित्रकर्मीहरुकै अगाडि कडा मन्तव्य व्यक्त गरेका हुन् ।
लगभग आधा घण्टा बोलेका उनले भने, ‘सधै घाटामा मात्र जाने हो भने चलचित्रमा किन लगानी गरिरहनुभएको छ ?’ निर्माताहरु घाटामा, हलवालाहरु पनि घाटामा, कलाकार साथीहरु घाटामा । सबै घाटामा । उनले फेरी जोडे, ‘अनी सुन्छु, अर्बौको लगानी छ । अर्बौको लगानी मात्र गर्ने अनी सधै घाटामा नै जाने हो भने तपाइहरु के खाएर बाच्नुहुन्छ ? के गरेर बस्नुहुन्छ ? यो एउटा गम्भिर प्रश्न भयो नि !’
यस्तो घाटाको व्यापार गर्न सक्ने संसारमै नभएको व्यापारिक सिद्धान्तको सफल प्रयोग भएको भन्दै उनले यसका लागी अन्तराष्ट्रिय पुरस्कार पाउनु पर्ने भन्दै व्यङ्ग्य समेत गरे ।