साप्ताहिक संवाददाता
हलिउडको सफल चलचित्र ‘क्याप्टेन अमेरिका : द फस्ट एभेन्जर’ मा अभिनय गरिसकेकी अभिनेत्री मोली फिजगेराल्टलाई आमा पेट्रिसिया फिजगेराल्डको हत्या गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । अघिल्लो साता मोलीलाई प्रहरीले सेकेन्ड डिग्री मर्डरअन्तर्गत मुद्दा दर्ता गरेको छ ।
मोली अभिनेत्रीका साथै निर्देशक तथा निर्मात्रीसमेत हुन् । क्याप्टेन अमेरिकामा स्टार्क गर्लको चरित्र निर्वाह गरिसकेकी मोलीमाथि ६८ वर्षीया आमालाई अत्यधिक कुटपिटपछि हत्या गरेको आरोप छ । पेट्रिसियाको लास उनकै घरबाट डिसेम्बर २० का दिन बरामद गरिएको थियो ।
प्रहरीले त्यही दिन उक्त स्थानमा कुटिपटको घटना भएको खबर पाएको थियो । प्रहरी उनको घरमा पुग्दा पेट्रिसिया गम्भीर रूपले घाइते थिइन् । मोलीले यसअघि ‘ट्रबल इज माइ बिजनेस’, ‘द लफुल ट्रूथ’, ‘अबसर्ड इल्युजन’जस्ता चलचित्रमा अभिनय गरेकी छिन् ।