साप्ताहिक संवाददाता
आगामी जून महिनामा हलिउडमा एउटा चलचित्र प्रदर्शन हुँदैछ, जसको शीर्षक छ, ‘वन्डर वुमन– १९८४’ । उक्त चलचित्रको केही साताअघि सार्वजनिक भएको एक्सन तथा इनर्जीले भरिएको ट्रेलरले दर्शकको मन जितिसकेको छ । यो सुपर हिरो चलचित्रको ट्रेलरलाई समेत दर्शकहरूले व्यग्रताका साथ प्रतीक्षा गरिरहेका थिए । ट्रेलरपछि अहिले दर्शकहरू चलचित्रकै प्रतीक्षामा ब्यग्र भएका छन् ।
डीसी कमिकका चर्चित सुपर हिरो चरित्र वन्डर वुममा आधारित यो चलचित्रमा अभिनेत्री गल गाडोटले मुख्य भूमिका निर्वाह गरेकी छिन् । चलचित्रमा उनलाई डायना प्रिन्सको चरित्रमा देख्न सकिन्छ । चलचित्रमा प्रिन्सले आफ्नो सुपरपावरमार्फत शत्रुहरूविरुद्ध लडिरहेको देखिनेछ । यही चलचित्रमार्फत वन्डर वुमनले एउटा नयाँ सुरुवात गर्दैछिन् ।
सन् १९८४ को पृष्ठभूमिमा बनेको यो चलचित्रमा वर्तमान तथा भविष्यको मिलनलाई देखाइएको छ । यो चलचित्र दुई वर्षअघि प्रदर्शन भएको वन्डर वुमनको सिक्वेल हो । उक्त चलचित्रले बक्स अफिसमा समेत उत्कृष्ट व्यवसाय गर्न सफल भएको थियो । चलचित्रमा गल गाडोट, क्रिस पाइन, क्रिस्टिन विग आदिले मुख्य भूमिका निर्वाह गरेका छन् ।