साताको फिल्मी खबर 

- साप्ताहिक संवाददाता

माघ १०, २०७६

    माघ १७ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘दि कर्मा’ लाई सेन्सर बोर्डले ‘पिजी’ सर्टिफिकेट दिएको छ । १६ वर्षभन्दा कम उमेरका दर्शकहरूले अभिभावकको साथमा हेर्न पाउने प्रमाणपत्र पाएको यो चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । नेपाल र भारतको सीमा क्षेत्रमा हुने घटनामा आधारित यो चलचित्रमा करण बर्मा, नीता ढुंगाना, पारमिता आरएल राणा, बुद्धि तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित आदि कलाकारले अभिनय गरेका छन् । 

    फागुन २ गतेदेखि प्रदर्शन हुने सौरभ चौधरीद्वारा निर्देशित चलचित्र ‘लभ डायरिज’ को ट्रेलर सार्वजनिक भएको छ, जसमा अभिनेता सुशील श्रेष्ठ तथा अभिनेत्री रुविना थापाबीचको प्रेम, रोमान्स र बिछोड चित्रण गरिएको छ । चलचित्रमा विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विजय पहारी आदि कलाकारले पनि अभिनय गरेका छन् । 

    चैत २१ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘लक्का जवान’ को शीर्षक गीत ‘म त सधैं लक्का जवान’ ले युट्युबमा औसत भ्युज पाएको छ । एक साताअघि सार्वजनिक भएको उक्त गीतले छ दिनमा साढे तीन लाख मात्र भ्युज पाएको छ । उक्त गीतमा दिलीप रायमाझी, प्रियंका कार्की, वर्षा शिवाकोटी, सलोन बस्नेत, किरण केसी, शिवहरि पौडेल आदि कलाकारले नृत्य गरेका छन् । कविराज गहतराजको कोरियोग्राफीको उक्त गीतमा बाबुल गिरी तथा मीना निरौलाको स्वर छ । 

अभिनेता पुष्प खड्काले जन्मथलो कैलालीस्थित सहारा घरलाई नगद ५० हजार रुपैयाँ तथा खाद्यान्न सहयोग गरेका छन् । मेलाबाट पाएको पारिश्रमिकको केही प्रतिशत सहारा घरलाई सहयोग गरेको पुष्पले बताए । पुष्पले हालैमात्र चलचित्र ‘चालबाज’ को छायांकन सम्पन्न गरेका छन् । 

पोस्ट प्रोडक्सनमा रहेको चलचित्र ‘आमा’ फागुन ९ गतेदेखि प्रदर्शन हुँदैछ । आमा र छोरीबीचको भावनात्मक सम्बन्धको विषय समेटिएको यो चलचित्र अष्ट्रेलिया तथा अमेरिकामा समेत प्रदर्शन हुने भएको छ । निर्देशक दीपेन्द्र के खनालका अनुसार अब यो चलचित्र नेपालसँगै ती दुई देशमा पनि एकै साथ प्रदर्शन हुने छ । चलचित्रमा सुरक्षा पन्त र मिथिला शर्मा मुख्य भूमिकामा छन् ।

प्रकाशित :माघ १०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×