बुटवलकी अन्जली शाक्य एक सातासम्म स्काउट तालिममा सहभागी भइन् । एक हप्ताको अवधिमा स्काउट तालिम युवा वर्गका लागि अपरिहार्य महसुस गरेको उनले बताइन् ।
‘सुरुवातमा मैले खासै महत्त्व दिएको थिइनँ’ अन्जली भन्छिन्, ‘प्रशिक्षण लिँदै जाँदा सकारात्मक सोचको विकाससँगै सहयोगी भावना र निडर बन्ने प्रेरणा मिल्यो । सबै युवामाझ यो तालिम पुग्नु अनिवार्य छ ।’ तालिममा सहभागी युवा–युवती स्काउट मास्टरबाट दीक्षित भएपछि स्थानीय तह र विद्यालयस्तरमा प्रशिक्षण दिने छन् ।
परासीस्थित सगरमाथा एकेडेमीका प्रिन्सिपल अभिनाश रेग्मीलाई पनि स्काउटमा सहभागी हुन मन लाग्यो । उनले आफ्नो विद्यालयलाई संस्थागत रूपमा नै स्काउट कार्यक्रममा सहभागी गराए । ‘देशभक्ति र अनुशासनका दृष्टिकोणले यो अभियान राम्रो छ,’ उनले भने, ‘विपद्को समयमा उद्धारको तालिम पनि यसको अर्को राम्रो पक्ष लाग्यो ।’
स्काउटको आधारभूत तालिमबाट प्रदेश नम्बर ५ का ५ सय ३४ जना युवा–युवती माघ ८ गते दीक्षित भएका छन् । प्रदेश नम्बर ५ को १ सय ९ स्थानीय तहका युवालाई एक हप्ताको विशेष प्रशिक्षण प्रदान गरेर दीक्षित गरिएको हो । तालिममा सहभागीलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले स्काउट नियमानुसार शपथ गराएर दीक्षित गरेका हुन् ।
दीक्षान्त समारोहमा बोल्दै मन्त्री विश्वकर्माले अनुशासित युवा नै देश विकासको आधार भएको बताए । ‘केही वर्षदेखि स्काउट नेपालमा खासै सक्रिय थिएनन् । अहिले यसमा संलग्न युवाहरू समृद्ध राष्ट्रका लागि कर्तव्यबोध र सहयोगी भावना भएका युवा शक्ति निर्माणमा लागि पर्नुभएको छ,’ उनले भने, ‘यसले युवामा व्यक्तित्व विकाससँगै राष्ट्रप्रेम र विपद्को समयमा सहयोगी भावनाको विकास हुँदैछ ।’
एक हप्तासम्म सञ्चालन भएको तालिममा युवा–युवतीलाई विपद्को समयमा कसरी उद्धार कार्यमा सहभागी हुने, व्यक्तित्व विकासका लागि प्रशिक्षण दिइएको स्काउटका राष्ट्रिय सयोजक लोकबहादुर भण्डारीले बताए ।