साप्ताहिक संवाददाता
मीटूको सबैभन्दा ठूला आरोपी तथा ८० भन्दा बढी अभिनेत्री तथा महिलाहरूलाई यौनशोषण गरेको आरोप लागेका हलिउडका चलचित्र निर्माता हार्वे वेन्स्टिनका काला कर्तुत अहिले आएर पीडितमार्फत नै सार्वजनिक हुन थालेका छन् ।
हलिउड शो ‘द सोप्रानोस’ की अभिनेत्री एनाबेल स्कियराले हालै मात्र अमेरिकी अदालतमा रुँदै वेन्स्टिनद्वारा आफूमाथि गरिएको दर्दनाक अपराधका बारेमा बयान दिएकी छन् । उनले हार्वेले आफूलाई बलात्कार नै गरेको दाबी गरेकी छिन् । हार्वे उनको न्युयोर्कको अपार्टमेन्टमा मध्यराति जबर्जस्ती घुसेर आफूसँग जबर्जस्ती गरेको बताएकी छन् । त्यसक्रममा हार्वेले आफूलाई ओछ्यानमा पल्टाएर बलात्कार गरेको बताएकी हुन् ।
बलात्कारपछि उनीसँग ओरल सेक्स गरेको आरोप पनि उनले लगाएकी छिन् । उक्त आरोप अदालतमै रहेका ६७ वर्षीय हार्वेले निर्लज्ज भएर सुनिरहे । अभिनेत्री एनाबेलका अनुसार उक्त घटना सन् १९९३ मै घटेको थियो । बलात्कारपछि हार्वेले आफूलाई धम्क्याएकाले लामो समयसम्म उक्त घटनाका बारेमा मुख खोल्न नसकेको एनाबेलाले बताएकी छन् ।
कुनै बेला गड अफ हलिउडको नामले चिनिने हार्वेले विगतमा शेक्सपियर इन लभ, किल बिल तथा ग्याङ्स अफ न्युयोर्कजस्ता चर्चित चलचित्रहरू निर्माण गरेका छन् । उनीमाथि अभिनेत्रीहरूलाई यौन प्रताडना तथा बलात्कार गरेका गम्भीर आरोप लागेका छन् । एन्जेलिना जोली, रोज म्याकगाउन, उमा थर्मन, ग्वायनेथ पाल्त्रो, सलमा हायकजस्ता अभिनेत्री हार्वेको सिकार भइसकेको बताइन्छ ।