साप्ताहिक संवाददाता
श्रृखलाबद्ध चलचित्र ‘फास्ट एन्ड फ्युरियस’ बाट चर्चामा आएका हलिउडका दिवंगत अभिनेता पउल वाकरको निधन भएको सात वर्षपछि उनका २१ वटा सवारी साधन (१८ कार तथा ३ मोटरसाइकल) २५ करोड ६० लाख रुपैयाँ (२ दशमलव ३३ मिलियन डलर) मा बिक्री भएका छन् । उक्त लिलामी अमेरिकाको एरिजोनाको स्कटडेलमा गरिएको थियो ।
एउटा समाचारमा जनाइएअनुसार लिलामीबाट संकलित रकम वाकरकी छोरी मेडोको एउटा ट्रस्टलाई हस्तान्तरण गरिनेछ । वाकरको निधन सन् २०१३ मा भएको एउटा कार दुर्घटनामा भएको थियो । उनको कार एउटा रूखमा ठोक्किएको थियो । वाकरका सवारी साधनहरूको लिलामी करिब एक हप्ता समय लगाएर गरिएको थियो ।
उनीसँग अल्पाइन ह्वाइट १९९५, बीएमडब्लू एम–३ जस्ता कारहरू थिए । तिनको अत्यधिक मूल्य ४ करोड ३६ लाख रुपैयाँसम्म थियो । एम–३ बीएमडब्ल्यूका पाँच लाइटवेट कारमध्ये एक थियो । २००९ को निशान ३७०–जेडमा बोली लगाउनेहरू सबैभन्दा बढी थिए । उक्त कारलाई ‘फास्ट फाइभ’ चलचित्रमा देखाइएको थियो ।
कम माइलेज भएको उक्त कार १ करोड २० लाख रुपैयाँमा बिक्री भएको थियो । अभिनेता वाकर कारका सौखिन थिए । मानिसहरूले लिलामीमा राखिएका उनका राम्रा कारहरू खुसी हुँदै किनेका थिए । ती कार किन्नेहरूले स्वयंलाई नयाँ पउल वाकरजस्तो सेलिब्रेटी भएको अनुभव गरेका थिए ।