बुटवलमा ‘भ्यालेन्टाइन क्रेज’

- स्वस्तिक श्रेष्ठ

फाल्गुन २, २०७६

बुटवल कालिकानगरकी अस्मिता थापा आइतबार नीलगिरी गिफ्ट हाउसमा चकलेट किन्दै थिइन् । भ्यालेन्टाइन डे मनाउने क्रममा आफ्ना प्रेमीलाई उपहार दिन चकलेट किन्न पसल आएकी थिइन् । खुसी मुद्रामा भेटिएकी उनले माया गर्नेहरूका लागि भ्यालेन्टाइन डे विशेष पर्व भएको भन्दै प्रेमीका लागि चकलेट किन्न आएको बताइन् । शनिबार ‘प्रपोज डे’मा प्रेमप्रस्ताव राखेकी उनले सम्बन्धलाई अघि बढाउन ‘चकलेट डे’को दिन चकलेट उपहार दिन लागेको बताइन् । उनले ‘भ्यालेन्टाइन सप्ताह’नै रमाइलोसित मनाउने योजना सुनाइन् ।

श्रीमतीलाई उपहार दिन पसलमा ‘टेडी’ छान्दै गरेका सिजन प्रधान पनि निकै खुसी देखिन्थे । लक्ष्मीनगरका प्रधानले विवाहपछिका पाँच वर्ष श्रीमतीसँग उपहार साटासाट गरेर भ्यालेन्टाइन डे मनाइरहेको बताए । मागी विवाह गरेका प्रधान दम्पतीका एक छोरी छिन् । भ्यालेन्टाइन डेमा उनीहरू विगतमा जस्तै सपरिवार कतै घुम्न जाने मुडमा छन् । यस्ता पर्व विशेषमा उपहार साटासाटसँगै घुम्न जाँदा सम्बन्ध थप सुमधुर हुने गरेको प्रधानको अनुभव छ ।

अस्मिता र सिजन बुटवलमा बढिरहेको भ्यालेन्टाइन क्रेजका प्रतिनिधि पात्र हुन् । विदेशी संस्कृति भए पनि भ्यालेन्टाइन डेको प्रभाव नेपाली समाजमा राम्रैसित परेको छ । यो मात्रै होइन, क्रिसमस, अंग्रेजी नयाँ वर्षलगायत विदेशी पर्वलाई पनि धेरै नेपालीले स्विकारिसकेका छन् । यसरी विदेशी सांस्कृतिक प्रभाव नेपालमा बढ्दै जानु गलत नभए पनि पार्न सक्ने नकारात्मक प्रभावबाट जोगिनुपर्ने तर्क गर्छन्, राममणि क्याम्पसका समाजशास्त्र विभाग प्रमुख प्राध्यापक ताराप्रसाद पराजुली । उनी भन्छन्– ‘पश्चिमा संस्कृति स्वीकार गर्दा हामीले आफ्नो मौलिक मान्यतालाई भुल्न हुँदैन ।’ 

प्रकाशित :फाल्गुन २, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×