विश्वास गुमाएको सफा लिग

- हिमेशरत्न बज्राचार्य

फाल्गुन १२, २०७६

सहिद स्मारक लिग ‘ए’ डिभिजन लिग–२०७६ का खेल, जसले प्रेस बक्समा बसेर हेरेको हुनुपर्छ, त्यहाँ गज्जब–गज्जबका दाबी सोझिएर आउने गर्छन् । जस्तो, आजको खेलको नतिजा यस्तो हुनेछ । खेलअगाडि नै नतिजा ? यही त समस्या हो, नेपाली लिग फुटबलको । निकै लामो इतिहास भएको प्रतियोगिता हो, सहिद स्मारक लिग । अनि यसकै सबैभन्दा खराब पाटो हो, खेल मिलोमतो अर्थात् म्याच फिक्सिङ । यसको इतिहास पनि उत्तिकै पुरानो छ ।

पुरानो पुस्ताका खेलाडी र क्लब पदाधिकारीसँग कुराकानी गर्नुपर्छ, उनीहरू हाकाहाकी भन्ने गर्छन्, यो–यो खेलको नतिजा त पहिले नै तय थियो । विशेषत: ०६० सालपछिका लिगको लोकप्रियता जहाँ अकासिएको थियो, त्यहीं खास–खास खेलमा म्याच फिक्सिङ भएको मानिन्छ, भलै यसका लागि ठोस प्रमाण पेस गर्न सकिन्न । केही क्लबले आफ्नो स्वार्थका लागि खेलको नतिजा पहिले नै तय गर्ने गरेका छन् । केहीले त पैसा लिएर नै हार्न तयार भएका पनि छन् ।

पोहोर सालको लिगका विजेता रह्यो, मनाङ–मस्र्याङ्दी । उसका प्रशिक्षक सुमन श्रेष्ठले क्लबले उपाधि जित्ने निश्चितजस्तै देखिएपछि भनेका थिए, ‘अब अन्य खेलका नतिजाहरू तलमाथि भएनन् भने च्याम्पियन बन्ने टिम हाम्रै हो ।’ उनी मात्र होइन, अन्य केही प्रशिक्षक र खेलाडीले पनि पत्रकारसामु सोझै भनेका छन्, नतिजा मैदानमै मात्र तय हुन्न, खासमा नतिजा मैदानबाहिर तय हुन्छ । गत वर्षको त्यही लिगका लागि थ्रीस्टारले बलियो टिम बनाएको थियो ।

तर उसले उपाधि जित्न सकेन । त्यसैले उसले यसपल्टको लिगमा औसत टिम मात्र बनायो । कारण ? थ्रीस्टारले प्रस्तुत गर्ने गरेको तर्क हो, ठूला भनिएका केही खेलाडीमाथि नै विश्वास गर्न सकिन्न, उनीहरू पैसामा मज्जाले बिक्ने गर्छन् । अब प्रश्न, के यसपल्टको लिगमा पनि खेल मिलोमतो भए होलान् त ? यसको ठ्याक्कै उत्तर सजिलो छैन, तर यत्ति भने पक्कै भन्न सकिन्छ, यसअघि भएका लिगका तुलनामा यसपल्टको प्रतियोगिता धेरै सफा रह्यो ।

यसपल्ट पनि केही प्रशिक्षकले घुमाउरो पारामा खेल मिलोमतो भएको दाबी गरे, आफूअनुकूलको नतिजा नआएपछि । यस्तै यस्तै–दाबी संकटा, एपीएफ र सरस्वतीका प्रशिक्षकबाट आएको थियो । तर, यी सबै त्यस्तै हल्लाका भरमा भनिएका दाबी हुन्, जसरी यस्तै हल्ला प्रेस बक्समा आउने गर्छन् । फेरि यस्तै प्रशिक्षकले खेल मिलोमतोको दाबी गर्ने गर्छन्, जसको छविमा दाग छ र उनीहरू नै यही खेल मिलोमतोका लागि बढी बदनाम र गन्हाउने खालका छन् ।

यही लिगका क्रममा सबैभन्दा ठूलो मुद्दा बन्यो, दर्शक अभावको । केही खेलमा त दर्शक नै थिएनन् भन्दा हुन्छ, त्यसमाथि महँगो टिकट । आखिरमा दर्शकले किन पो लिगका खेल हेर्न आउँछन्, जति बेला यी खेलमा सधैं खेल मिलोमतोको गन्ध हुन्छ । यसपल्ट पनि एपीएफ र फ्रेन्ड्स, सरस्वती र हिमालयन शेर्पाबीचको खेलको नतिजालाई लिएर आशंका गर्ने धेरै कारण छन् । त्यसमाथि सरस्वतीले हिमालयनलाई हराएको खेल विवादमै पर्‍यो ।

त्यो खेलअगाडि सरस्वतीका कप्तान रहेका दिपेश श्रेष्ठले ख्यालख्यालमै सही हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरीलाई फोनमा खेल मिलोमतोको प्रस्ताव राखेका थिए । पछि दिपेश कारबाहीमै पनि परे र लिगका बाँकी खेल खेल्नबाट प्रतिबन्धमा परे । सहिद स्मारक लिगमा खेल मिलोमतोको आरोपमा खेलाडीमाथि कारबाही भएको यो नै पहिलो अवसर हो । यी दुई खेलका नतिजा जस्तै भए पनि अझै दाबी गर्न सकिन्छ, यसपल्टको लिग धेरै हदसम्म सफा नै रह्यो ।

तर समस्या रह्यो, विश्वासको । यी दुई खेलको नतिजाबारे शंका हुनुपछाडि पनि विश्वासकै कमी रह्यो । यसअघिका लिगमा केही न केही खेल मिलेर खेलेको हुनाले नेपाली दर्शकले यसपल्टको लिगलाई लिएर पनि विश्वास नै गर्न सकेनन् । त्यसैले नेपाली फुटबल भनेपछि हुरुक्क हुनेहरू पनि टिकट काटेर खेल हेर्न गएनन् । यो त कर्मको सिद्धान्तकै खेल जस्तो भयो । केही क्लब, खेलाडी र प्रशिक्षकले गरेको खराब कामको चर्को मर्का समग्र नेपाली फुटबलमै पर्‍यो । यसपल्टको लिग सफा त धेरै रह्यो, तर समस्या के भने यसलाई विश्वास गर्ने पो कसरी ?

च्याम्पियन मछिन्द्र

नेपाली फुटबलका दुई ठूला शक्ति हुन्, मनाङ–मस्र्याङ्दी र थ्रीस्टार । अचेल पुलिस पहिलेजस्तो बलियो टिम रहेन । मनाङ र थ्रीस्टारले यसपल्ट खासै बलियो टिम बनाएनन् । यसपछाडि जस्तै ठूला तर्क प्रस्तुत गरिए पनि यसको एउटा प्रमुख कारण हो— यी दुई क्लबका प्रमुख–प्रमुख खेलाडीलाई अनुबन्ध गर्ने काम गरेको थियो, मछिन्द्रले । भित्री काठमाडौं जनबहालको यो क्लबले सुरुदेखि नै लिग जित्ने उद्देश्य राखेको थियो र यसका लागि खेलाडीमा खर्च गर्न कन्जुस्याइँ गरेन ।

विशेषत: पूर्वेली खेलाडीले भरिएको टिमका प्रशिक्षक पनि पूर्वेली नै थिए, प्रवेश कटुवाल । लिग सुरु हुनअघि प्रश्न थियो, के स्टार खेलाडी अनुबन्ध गर्दैमा लिग जित्न सकिन्छ र ? अथवा प्रश्नको स्वरूप यस्तो पनि थियो, के खर्च गर्ने आँट गर्दैमा लिग जित्न सकिन्छ र ? मछिन्द्रका अध्यक्ष त प्रमोद कंसाकार हुन्, तर यसपल्टको टिम तयार पार्न सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुन्, व्यवस्थापक अनिल श्रेष्ठ । उनले अहिलेको मछिन्द्र टिम बनाउन ठूलै महत्त्वाकांक्षा देखाए ।

तर एउटा ठूलो समस्या के थियो भने लिग सुरु हुनुअगाडि नै मछिन्द्रको एक अंक काटिइसकेको थियो । पोहोरको लिगमा पुछारबाट दोस्रो रहेकाले यो सजाय दिइएको थियो । अब संयोग हेरौं न, गत वर्षका लिगमा रेलिगेसनको व्यवस्था गरिएको भए, यो टिमले यसपल्ट ए डिभिजन नै खेल्ने थिएन । तर, यसपल्ट यही क्लबले राम्रो टिम बनायो र जित्यो, यसपल्टको सहिद स्मारक लिग । उपाधिसँगै उसको हातमा पर्‍यो, ५० लाख रुपैयाँ ।

खासमा मछिन्द्रको प्रदर्शन नै च्याम्पियन टिमको जस्तो रह्यो । सुरुवाती ६ खेलसम्म उसको प्रदर्शन ठिकै रह्यो । सातौं चरण आएर मछिन्द्र हिमालयनसँग पराजित भयो । डर थियो, कतै मछिन्द्र चिप्लिने त होइन ? तर यसपछिका ६ खेल उसले लगातार जित्यो । यसमा मछिन्द्रले पुलिस, थ्रीस्टार र आर्मीलाई हरायो । आर्मीविरुद्धको खेल त अन्तिम नै थियो, निर्णायक पनि । समीकरण थियो, उपाधि जित्ने हो भने मछिन्द्रले त्यो खेल जित्नैपर्छ ।

अन्यथा आर्मीले जितेमा अथवा बराबरीमा पनि उपाधि मछिन्द्रको हुने छैन । आर्मीको प्रदर्शन पनि त यसपल्ट च्याम्पियन टिमकै जस्तो रह्यो, खाली उसले अन्तिम खेलमा आफूलाई सम्हाल्न सकेन । आर्मीले दोस्रो चरणमा मनाङविरुद्धको एउटा खेल गुमाएको थियो । त्यसयता थ्रीस्टार र पुलिसमाथि सानदार जित रच्यो । खासमा भन्ने हो भने यसपल्ट पूरा लिगमा सबैभन्दा अब्बल दर्जाको खेल प्रदर्शन गर्ने टिम कुनै थियो भने त्यो आर्मीको थियो, मछिन्द्रको तुलनामा पनि ।

थ्रीस्टारविरुद्धको खेलमा सन्तोष तामाङले लिगमा पुनरागमन गरे । उनी के आए, आर्मीको खेल प्राविधिक रूपमा अब्बल दर्जाको रह्यो । आठौं चरणमा एनआरटीविरुद्धको खेल गोलरहित बराबरीमा टुंग्याउनु उसका लागि ठूलो मूल्यको नतिजा रह्यो । त्यसयता पनि आर्मीले लगातार चार खेल त जित्यो, तर निर्णायक खेलमा भने फितलो सावित भयो । दशरथ रंगशालामा भएको अन्तिम खेलमा मछिन्द्र १–० ले विजयी रह्यो । संयोग कस्तो भने यो एकमात्र गोल पनि आत्मघाती रह्यो, विकास तामाङको नाममा ।

आर्मीले ०६३ को लिगमा पनि अन्तिम खेल गुमाएर लिग उपाधि जित्नबाट वञ्चित रहेको थियो । यसपल्ट पनि आर्मीलाई भाग्यले साथ दिएन । आर्मीका प्रशिक्षक हुन्, नवीन न्यौपाने । उनी अहिले उपलब्ध प्रशिक्षकमध्ये सबैभन्दा बढी प्राविधिक ज्ञान भएका हुन्, यसमा कुनै शंका नगरे हुन्छ, तर अन्तिम खेलमा उनले कुनै प्रकारको जादु गर्न सकेनन् । आर्मी निकै नजिक रहेर पनि उपाधिबाट वञ्चित रह्यो, तर यसकै मूल्यमा मछिन्द्र भने सफल रह्यो, नयाँ गर्विलो इतिहार रच्न ।

फितलो फुटबलस्तर

यसपल्टको लिगका क्रममा उठेको अर्को सबैभन्दा ठूलो प्रश्न हो, नेपाली फुटबलको स्तर त कमजोर पो रहेछ, प्राविधिक रूपमा ढंगले फुटबल खेल्ने खेलाडीकै कमी छ । किन यस्तो होला ? मछिन्द्र र आर्मीले छाडेर अन्य कुनै टिमले आधुनिक फुटबलको सिद्धान्तअनुसार खेल्न सकेनन् । पुलिस कुनै समय नेपाली फुटबलको सबैभन्दा ठूलो शक्ति थियो, अब त्यो शक्ति बिस्तार कमजोर हुन थालेको छ । यसपल्ट पुलिसले पुरानो जमानाका खेलाडी अनन्त थापाको प्रशिक्षणमा खेलेको थियो ।

उनले पनि माने, नेपालमा केही सीमित संख्यामा खेलाडी मात्र राम्रा छन्, अरू त औसत मात्र छन् । उनको भनाइ थियो, ‘अहिलेको आधुनिक फुटबल प्रशिक्षकको खेल भइसकेको छ । प्रशिक्षकले नै तय गर्छ, टिमले कस्तो खेल्नेछ भनेर । तर, हाम्रोमा त्यस्ता बुझ्न सक्ने खेलाडीको कमी छ, अझ छैन भन्दा पनि हुन्छ ।’ यही तथ्यमा थ्रीस्टारका प्रशिक्षक मेघराज केसी पनि सहमतजस्तै रहे । अझ उनले के पनि दाबी गरे भने राम्रा खेलाडीकै कमीले अहिलेको लिग औसत मात्र देखिएको हो ।

उनको भनाइ थियो, ‘नेपाली फुटबलमा सानै उमेरदेखि प्राविधिक फुटबल कसरी खेल्ने भनेर सिकेका खेलाडी निकै कमी छन् । यसमध्ये धेरै खेलाडी मछिन्द्र र आर्मीमै रहे । लिगका अन्य क्लबले बाँकी केही राम्रा खेलाडी पाए । यही कारण त हो, अधिकांश टिमको प्रदर्शन राम्रो हुन नसकेको । नेपाली फुटबलमा राम्रा भन्न मिल्ने खेलाडीकै कमी छ भने टिमले मात्र राम्रो खेल्छ भनेर कसरी अपेक्षा गर्ने ?’ नेपाली फुटबलमा १४ टिमको माथिल्लो डिभिजन धान्नै गाह्रो रहेको उनको तर्क थियो ।

च्यासलका युवा प्रशिक्षक हुन्, बालगोपाल साहुखल । उनी सन्तोष साहुखलका आफ्नै दाजु पनि हुन् । उनले पनि माने, आधुनिक विश्व फुटबल कहाँबाट कहाँ पुगिसक्यो, तर नेपालमा अझै पनि पुरानै पाराले फुटबल खेलिन्छ । जहाँ निकै बलियोसँग बल प्रयोग गर्न पायो भने त्यसैलाई राम्रो मानिन्छ । अचेलको फुटबलमा एकपछि अर्को पास खेलेर आक्रमण गरिन्छ, सकेसम्म बलमाथिको नियन्त्रण गुमाउने काम गरिँदैन । तर, नेपालमा बल क्लियर गर्न पाए पुग्यो, भलै त्यसले तय गर्ने दिशा कस्तो छ, मतबल हुन्न ।

नेपाली फुटबलको स्तर किन खस्किएको छ त ? यसको सबैभन्दा राम्रो उत्तर त एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले दिने प्रयास गरे । एनआरटीको अन्तिम खेल हिमालयनविरुद्ध थियो र त्यस खेलमा आफ्नो टिम पराजित भएपछि निकै भावुक भएर उनी मिडियासामु प्रस्तुत भए । उनले निकै लामो बोले, तर जति बोले, ठीक बोले । उनको भनाइ विश्लेषण गर्ने हो भने त्यसले देखाउँछ, नेपाली फुटबल कता गइरहेको छ र किन कमजोर छ भनेर ।

उनले भनेका थिए, ‘मैले अभ्यासका बेला खेलाडीलाई एक थोक सिकाएको हुन्छु, मैदानमा खेलाडीले त्यसको ठीक विपरीत खेल्ने गर्छन् । मलाई त दिक्क लागेर आउँछ र फुटबल नै छाडिदिउँ जस्तो लाग्छ । मेरो त मन नै रुन्छ । खेलाडीले मलाई बुझ्न नसकेको हो कि मैले उनीहरूले मलाई बुझ्न नसकेको हुँ, म त्यो नै भन्न सक्दिनँ । खेलमा हार–जित हुन्छ नै, तर कम्तीमा खेलाडीले फुटबल त राम्रोसँग खेल्नुपर्छ । अधिकांश खेलाडीमा फुटबल सोच नै कमजोर छ ।’

खेलाडीमा ठीक समयमा निर्णय गर्न सक्ने क्षमताको पनि कमी रहेको उनको भनाइ थियो । ‘बाहिरबाट लगातार कराइरहनुपर्छ, त्यो राम्रो होइन । खेलाडीले सिक्ने प्रयास गर्नुपर्छ, तर यसमै समस्या छ । घमन्ड गरेको होइन, तर खेलाडी र प्रशिक्षक दुवै भूमिकामा निकै मेहनत गर्छु । तर अहिलेका खेलाडीले त्यसो नगर्दा मेरो मन रुन्छ । म सबै खेलाडीलाई भन्छु, अभ्यासमा खेलाडी गम्भीर हुनैपर्छ र त्यसलाई उत्तिकै गम्भीर भए मैदानमा उतार्नुपर्छ । तर, हाम्रा खेलाडी यस्ता पक्कै पनि छैनन्’– उनले भने । 

अबको लिग कस्तो ?

लिग आयोजना कमिटीका प्रमुख हुन्— पूर्व खेलाडी विज्ञानराज शर्मा । उनको भनाइ थियो, ‘हामीले यसपल्टको लिगमा धेरै सुधार गर्ने प्रयास त गर्‍यौं, तर अझै सुधार गर्नुपर्ने पक्ष धेरै छन् ।’ पोहोरको लिगमा रेलिगेसनको व्यवस्था नै थिएन र यो लिग संरचनामाथि सबैभन्दा ठूलो प्रहार थियो । त्यसैले त यसलाई सधैं कलंकको लिग भनेर सम्झिनेछ । यसपल्ट पनि जम्माजम्मी एकै टिम मात्र रेलिगेसनमा पर्ने नियम बनाइयो र यसमा अभाग्यशाली टिम रह्यो, सरस्वती ।

लिगमा सहभागी टिमको संख्या थियो— १४, तर रेलिगेसन भने एकै मात्र टिम । नेपाली लिग फुटबलको सबैभन्दा ठूलो समस्या हो, यसमा एकरूपता नहुनु । कहिले कस्तो लिग त कहिले कस्तो लिग ? कुनै देशको फुटबलको सबैभन्दा ठूलो आधार नै लिग हुने गर्छ । लिग भएन भने कुनै पनि देशको फुटबल कसरी उँभो लाग्न सक्छ र ? यस्तो भनिँदा पनि लिग फुटबल गर्न भने सजिलो छैन । निकै गाह्रो छ । यही कारणले नेपाली फुटबल प्राय: माथ खाने गर्छ । ०६० सालको लिगमा १२ टिम थिए, ०६१ मा १३ टिम भए । ०६२ मा बढेर १५ पुग्यो । फेरि ०६३ मा १४ टिम भयो ।

लिगको ०६८ मा टिमको संख्या बढेर १८ पुग्यो । फेरि लिग कहिले डबल राउन्ड रोबिनका आधारमा भएको छ भने कहिले सुपर सिक्सका आधारमा । धेरैको निचोड हो, नेपाली फुटबलका लागि धेरै टिमको लिग ठीक छैन । खालि १० अथवा १२ टिमको लिग भयो भने राम्रो । यसले खेल पनि कम हुनेछन्, अनि राम्रा खेलाडीको संख्या पनि सबैलाई पुग्ने गर्छ । तर दु:ख के भने अखिल नेपाल फुटबल संघभित्र राजनीतिका कारण अझै केही वर्ष ए डिभिजन खेल्ने टिमको संख्या घट्ने छैन ।

तर केही वर्षमा त्यस्तो निश्चित बिन्दु स्थापित नगरेर सुखै हुन्न, जति बेला एसियाली फुटबल महासंघ (एएफपी) ले तय गरेको क्लब लाइसेन्सिङको व्यवस्था लागू गर्नुपर्ने नै हुन्छ । अबको केही वर्षमा माथिल्लो डिभिजनको लिगमा सहभागी हुने टिमको संख्या घटाएर निश्चित गरिनेछ, १० अथवा १२ को हाराहारीमा मात्र । क्लब लाइसेन्सिङको व्यवस्थाअनुसार क्लबले माथिल्लो डिभिजन खेल्न खास–खास सर्त लागू नै गर्नुपर्ने हुन्छ । अनि क्लब व्यावसायिक मोडलमा जानैपर्छ ।

अनि त्यस्तो दिन अब धेरै टाढा छैन, जति बेला आर्मी, पुलिस र एपीएफजस्ता विभागीय टिमले लिग फुटबल खेल्न पाउनेछैन, किनभने उनीहरू बिजनेस मोडलमा जान सक्दैनन् । यसपल्टको लिगमा सहभागी कुनै पनि टिमले क्लब लाइसेन्सिङअनुसार आफूलाई ढालेका छैनन्, त्यसैले त लिग विजेताका रूपमा मछिन्द्रले एएफसीको कुनै पनि क्लब प्रतियोगितामा खेल्ने छैन, त्यसैले पनि एन्फालाई ढिलो चाँडो लिगलाई एकरूपता नदिएर सुखै छैन ।

प्रकाशित :फाल्गुन १२, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×