राइनासकोट डाँडामा रेस्लिङ

- आश गुरुङ

फाल्गुन १२, २०७६

टेलिभिजनको पर्दामा रेस्लिङ खेलेका देखिने भिमकाया शरीर भएका रेस्लरहरु आफ्नै आँखा अगाडी आउँदा राइनासकोट मेलामा सहभागि भएका धेरैलाई झट्ट हेर्दा डर लाग्यो ।

रेस्लिङ खेलाडीहरुसंग बोल्ने सहास प्रायः ले गर्न सकेनन् । खेल्न बनाइएको रिङमा नेपाली महिला रेस्लर भगवती खड्का (युनिका) र अस्मिता सुनार (जुरेली) भिडन्तलाई उभिइन् । उनीहरु एकले अर्कोलाई हान्ने र पछार्ने क्रम चलिरह्यो । युनिकालाई उठ्न नदिएपछि जुरेलीले जितेको संकेतको घण्टी रेफ्रिले बजाए ।

दोस्रो खेलमा टंगबहादुर श्रेष्ठ (मिस्टर यति) र राम महर्जन (अजिङ्गर) भिडे । अजिङ्गरले जित हात पारे । तेस्रो खेलमा भारतीय रेस्लर बालियान अंकुरलाई जापानी रेस्लर फुगो फुगो युमीजीले हराए । चौथो खेलमा जमुना तामाङलाई गीता जिरेलले हराइन् । ‘रेस्लिङ लाइभ हेर्नुको मज्जा छुट्टै हुने रहेछ । अहिलेसम्म टेलिभिजनमा हेरिएको रेस्लिङ आँखै अगाडी देख्दा कस्तो छुट्टै लाग्ने’ दूधपोखरीका सुमन गुरुङले भने ।

उत्तरार्धमा भरतबहादुर विसुराल (हिमालयन टाइगर) र अष्ट्रेलियन रेस्लर द हाइपनोटिक क्रिस ट्रान्स विच खेल भयो । निकै प्रतिष्पर्धाबीच ७ मिनेटको समयमा हिमालयन टाइगरले हाइपनोटिकलाई ५ पटक पछारे । हाइपनोटिकले हिमालयन टाइगरलाई २ पटक पछारे । हिमालयन टाइगरले जित हासिल गरे । 

समुद्री सतहदेखि करीब १ हजार ७ सय मिटर उचाईको राइनासकोटको डाँडा खेल मैदानमा रिङ बनाएर १२ जना राष्ट्रिय तथा अन्तराष्ट्रिय रेस्लरहरु विच भिडन्तको आयोजना गरिएको थियो ।  राइनास नगरपालिका र हिमालयन टाइगरले आयोजना गरेको राइनासकोट हिमालयन अन्तराष्ट्रिय रेस्लिङ महा–भिडन्तलाई नेपाली रेस्लर भरतबहादुर विसुरालले संयोजन गरेका हुन् । ‘राष्ट्रिय अन्तराष्ट्रिय खेलाडीलाई हाम्रो गाउँठाउँको डाँडामा ल्याएर भिडन्त गराउँदा स्थानीयले यसबाट मनोरञ्जन त लिनेछन् नै यसले पर्यटन प्रवद्र्धनमा सहयोग मिल्नेछ’ उनले भने 

राइनासकोटको रेस्लिङ हेर्न लमजुङका मात्रै नभएर गोरखा, तनहुँ, कास्की, मनाङबाट समेत खेलप्रेमी आएका थिए । स्थानीय विष्णु गुरुङका अनुसार रेस्लिङ खेल हुने भएपछि राइनासकोटको होमस्टेमा पर्यटक खचाखच भएको र धेरैजना बस तथा जिपकार रिजर्भ गरेर आएको बताइन् । 

विसुरालका अनुसार रेसलिङ महा–भिडन्त कार्यक्रममा ७ लाख ९० हजार रुपैयाँ खर्च भएको हिमालयन टाइगरले बताए । ‘विदेशी खेलाडीलाई टिकटदेखि खानपानको व्यवस्था सवै आयोजकले गर्नुपर्छ । यो निकै महंगो खेल हो’ उनले भने, ‘काठमाडौंबाट राइनासकोटसम्म आउजाउ गर्दा, उनीहरुले लिने खर्च गर्दा खर्च धेरै लाग्छ । राइनास नगरपालिका प्रमुख सिंहबहादुर थापाले सहासिक खेलका माध्ययमबाट पर्यटन प्रवद्र्धन थालिएको बताए । 

 

प्रकाशित :फाल्गुन १२, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×