साप्ताहिक संवाददाता
गत बर्ष देखि संचालनमा आएको ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जलाई अन्तर्राष्ट्रियकरण गर्न गैर आवासीय नेपाली संघ (एनआरएनए) ले वि विल राइज फाउण्डेशनसंग सहकार्य गर्ने भएको छ । संघको सचिवालय, वालुवाटारमा दुई संस्थाबीच आधिकारिक रुपमा सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
‘नेपालीका लागि नेपाली’ भन्ने भावनाका साथ विश्वका ८० भन्दा बढी मुलुकमा सक्रिय एनआरएनएको यो सहकार्य, नयाँ कार्यसमितिको गठन पश्चात् एनआरएनएको व्यापार, उद्योग तथा नेपाल प्रवद्र्धन विभागकै पहिलो कार्यका रुपमा अघि बढाएको हो । यो सहकार्यले नेपालमा ओझेलमा परेका तर प्रचुर पर्यटन सम्भावना बोकेका हाम्रो गाउँठाउँलाई विश्वव्यापी रुपमा चिनाउन टेवा पु-याउने संघका उपाध्यक्ष एवम् व्यापार, उद्योग तथा नेपाल प्रवद्र्धन विभागका प्रमुख अर्जुन श्रेष्ठले बताए ।
‘समग्र राष्ट्रको अर्थतन्त्रको बलियो मेरुदण्डमध्येको एक पर्यटन नै हो । पहिले पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएका गाउँठाउँको पहिचान गर्नु महत्वपूर्ण हुन्छ । ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज त्यस्ता गाउँठाउँ, त्यहाँको विशेषता र अवस्था पहिचान गर्ने अभियान हो । एनआरएनएको सहकार्यले विजेता भिडियोहरुले अन्तर्राष्ट्रिय डबलीमा प्रदर्शनी गर्ने अवसर पनि पाउनेछन्’, वि विल राइज फाउण्डेशनका संस्थापक निर्देशक तथा अभियानका संयोजक निर्मल श्रेष्ठले बताए।
‘आफ्नो गाउँठाउँलाई प्रवद्र्धन गर्ने दायित्व सबैभन्दा पहिले आफ्नै हो भन्ने भावना जगाइदिने प्रयास सँगै आफूमा निहित प्रतिभा प्रस्फुटन गर्ने अवसरका रुपमा हामीले यस मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेन्जलाई लिएका छौं । यसले ओझेलमा परेका गाउँठाउँको पहिचान, प्रचार मात्र होइन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा त्यहाँका स्थानीय युवाजमात्मा उद्यमशील सोचको बीजारोपण पनि गर्छ’, विभागका सदस्य सचिव तथा एनआरएनए–अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य रमेश काफ्लेले जोड दिए ।
समारोहमा फाउण्डेशनका तर्फबाट परिचालन निर्देशक तथा नाडाका सचिव अनुप बराल, सदस्यहरु राष्ट्रिय फुटबल टिमका प्रशिक्षक तथा पूर्वकप्तान राजु काजी शाक्य र पत्रकार आरोही तथा कलाकार रोजिता बुद्धाचार्य एवम् सद्भावना राजदूत सगरमाथा आरोही फुर्वा तेन्जिङ शेर्पा साथै एनआरएनएका तर्फबाट प्रमुख कार्यकारी अध्यक्ष डा. हेमन्त दवाडी र एनआरएनए–हङकङका अध्यक्ष राधिका गुरुङ तथा महासचिव गोकर्ण ढकालको उपस्थिती रहेको थियो ।
गतवर्ष आयोजित यो प्रतियोगितामा सातै प्रदेशबाट उत्साहजनक सहभागिताका साथ १ सय ३२ भिडियोहरु प्राप्त भएका थिए । उक्त प्रतियोगिता नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष २०२० सचिवालय र चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित थियो । यसपटक गण्डकी प्रदेश र गैरआवासिय नेपाल संघले समेत यस अभियानमा सह–आयोजकका रुपमा सहकार्य गर्दैछ ।
यसवर्ष सहभागी हुन चाहने प्रतियोगीले डिसेम्बर १ देखि मार्च ९ सम्म आफ्ना भिडियोहरु पठाईसक्नु पर्नेछ जनाएको छ । सहभागी वृत्तचित्रको गुणस्तर न्यूनतम फूल एचडीको हुनु पर्ने र भिडियोको समय ५ मिनेट तोकेको छ ।
निर्णायक मण्डलले सहभागि भिडियोहरु मध्येबाट १० विधागत अवार्डका लागि ७० भिडियो मनोनयन गर्नेछन् । छनौटमा परेका १० उत्कृष्ट भिडियोहरुलाई आगामी अप्रिलमा बृहत कार्यक्रम गरी पुरस्कार वितरण गर्ने जनाएको छ ।