साप्ताहिक संवाददाता
धनगढीमा विश्व नेपाली साहित्य महोत्सव सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको प्रवद्र्धनमा बुधबारदेखि महोत्सव सुरु भएको हो । महोत्सवमा सहभागी हुन विश्वभरबाट नेपालीभाषी साहित्यकार धनगढी आउने आयोजक सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताए । जोशीका अनुसार भारतको दार्जिलिङ, सिलगुडी, आसाम, मेघालय, सिक्किमलगायत ठाउँबाट साहित्यकार धनगढी आइसकेसकेका छन् । महोत्सवमा ५० भन्दा बढी साहित्यकार सहभागी हुने अपेक्षा गरिएको जोशीले बताए ।
मोहत्सवमा सिक्किमका पूर्वमुख्यमन्त्री चामलिङ, प्रा.डा बासुदेव त्रिपाठी, डा. विष्णुबिभु घिमिरे, मनु–मञ्जिललगायतको सहभागिता रहनेछ । फागुन २० गतेसम्म चल्ने महोत्सवमा साहित्य, राजनीतिलगायत समसामयिक विषयमा छलफल सत्र सञ्चालन हुनेछ । छलफलमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, उद्योगमन्त्री लेखराज भट्ट, नेता भीम रावल, गगन थापालगायत सहभागी हुने जोशीले जानकारी दिए । महोत्सवको उद्घाटन समारोहमा स्थानीय कला, संस्कृति झल्कने प्रस्तुति प्रदर्शन गरिएको थियो ।