रंगको पर्व होलीलाई भारतीय र नेपाली हिन्दू समुदायले विशेष उल्लासका साथ मनाउँछन् । एक–अर्कालाई रंग लगाउनेदेखि लिएर नाचगानलगायतका काम यो दिन गरिन्छ । बलिउडमा केही विशेष यस्ता होली गीत छन्, जसलाई सदावहार होली गीत मानिन्छ ।
सन् १९५९ मा रिलिज चलचित्र ‘नवरंग’को होली गीत ‘होली है : आरे जा रे हात नटखट’ होलीका गीतमा प्राय: बज्ने गीत हो । यो चलचित्रले कवि दिवाकर (मणिपाल) को उनी श्रीमती जमुना (सन्ध्या) सँगको गहिरो प्रेम देखाएको छ । यो गीतमा आशा भोषले र महेन्द्र कपुरको स्वर छ । गीतमा साधनाले उत्कृष्ट प्रस्तुति दिएकी छन् ।
सन् १९७० मा रिलिज भएको चलचित्र ‘कटी पतंग’को गीत ‘आज ना छोडेङ्गे’ गीत पनि होलीमा बज्ने गीत हो । आनन्द बाक्सीको शब्द र आरडी बर्मनको संगीत रहेको गीतमा किशोर कुमारको स्वर सुन्न सकिन्छ । गीतमा राजेश खन्ना र आशा पारेखको केमेस्ट्री देख्न सकिन्छ ।
चलचित्र ‘शोले’लाई आमदर्शकले सदावहार संवाद र चरित्रका कारण सम्झिरहन्छन् । जय, वीरु, वसन्ती र गब्बरजस्ता चरित्रले सुपरहिट यो चलचित्र होली गीतका कारण पनि उत्तिकै चर्चामा आउँछ । लता मंगेशकर र किशोर कुमारको स्वर रहेको ‘होली के दिन’ गीत आज पनि उत्तिकै कर्णप्रिय छ ।
होलीको दिन नछुट्ने गीत ‘रंग बरसे भिगी चुनर वाली’ पनि हो । चलचित्र ‘सिलसिला’मा समावेश यो गीतमा हरिवंश राय बच्चनको शब्द र अमिताभ बच्चनको स्वर छ । अभिनेता शाहरूख खान र अभिनेत्री जुही चावला अभिनीत चलचित्र ‘डर’को गीत ‘आग से आग लगाना’ पनि उत्तिकै लोकप्रिय होली गीत हो । यो गीतमा अल्का याग्निक, विनोद राठोड र सुदेश भोषलेको स्वर सुन्न सकिन्छ ।
सन् २००० मा रिलिज चलचित्र ‘मोहब्बतें’ भन्नासाथ दर्शकले अमिताभ बच्चनको संवाद ‘परम्परा, प्रतिष्ठा र अनुशासन’ सम्झन्छन् । तर यो चलचित्र संवादका कारण सम्झनुपर्नेमा मात्र सीमित छैन । चलचित्रमा प्रयोग गरिएको होली गीत ‘हम तेरे दिवाने हे’ पनि सम्झनायोग्य छ । गुरुकुलबाट निस्किएका विद्यार्थीले होली मनाएको दृश्य समेटिएको यो गीत डान्सिङ नम्बरमा पर्छ ।
चलचित्र ‘बागवान’मा रहेको होली गीत ‘होली खेले रघुवीरा’ पनि अर्को सम्झनलायक गीत हो । अमिताभको स्वर र हेमा मालिनीको चार्मिङ प्रस्तुतिले यो गीतलाई न्याय गरेको छ । सन् २००५ मा रिलिज चलचित्र ‘वक्त–वक्त द रेस एगेन्स्ट द टाइम’ मा ‘डु मी ए फेभोर’ बोलको होली गीत समावेश गरिएको छ ।
गीतमा प्रियंका चोपडा र अक्षय कुमारको जोडी देख्न सकिन्छ । चलचित्रमा अमिताभ बच्चन, सिफाली शाह, बोमन इरानीको पनि अभिनय छ । सन् २०१३ मा रिलिज चलचित्र ‘ये जवानी हे दिवानी’को गीत ‘बालाम पिच्करी’ पनि लोकप्रिय होली गीत हो । गीतमा रणवीर कपुर र दीपिका पादुकोण फिचर्ड छन् ।
चलचित्र ‘बद्रीनाथकी दुल्हनिया’ को गीत ‘बद्री कि दुल्हनिया’ पनि होलीको पार्टीमा सर्वाधिक बज्ने गीतमा पर्छ । गीतमा आलिया भट्ट र बरुण धवन फिचर्ड छन् । चलचित्रमा सशांक खेतानको निर्देशन र हिरो यस जोहार, करण जोहार र अपुर्वा मेहताको निर्माण छ ।
त्यस्तै चलचित्र ‘मेरा ब्रदरकी दुल्हन’को गीत ‘मधुबाला’ पनि होलीमा रुचाइने गीतमा पर्छ । चलचित्र ‘एक्सन रिप्ले’ मा समेटिएको गीत ‘चान के मोहल्ला’ गीत पनि होलीमा बज्ने गीतमा पर्छ । गीतमा ऐश्वर्या राय बच्चन फिचर्ड छिन् । सन् २०१७ को चलचित्र ‘जोली एलएलबी–२’मा रहेको गीत ‘गो पागल’ पनि होलीमा बज्ने गीतमा पर्छ । सुभाष कपुरले निर्देशन गरेको चलचित्रको गीतमा अक्षय कुमार र हुमा कुरेसी फिचर्ड छन् । गीतमा रफ्तार र निन्दी कौरको स्वर सुन्न सकिन्छ । राजेश खन्ना र मुमताज अभिनीत चलचित्र ‘आप की कसम’को गीत ‘जय जय शिव शंकर’ पनि होलीमा सर्वाधिक बज्ने गीत हो । गीतमा किशोर कुमार र लता मंगेशकरको स्वर सुन्न सकिन्छ ।