अझै खेल मिलोमतो ?

- हिमेशरत्न बज्राचार्य

फाल्गुन २४, २०७६

 

 

भर्खरै सकिएको सहिद स्मारक लिग ‘ए’ डिभिजनमा दर्शकको उपस्थिति एकदमै कम रह्यो । अधिकांश खेलमा दर्शक नै थिएनन् भन्दा हुन्छ । यही कारणले लिगको चर्को आलोचना पनि भयो । नेपालमा फुटबलको लोकप्रियता घटेको हो पनि भनियो । साँच्चै २०७६ को लिगमा किन दर्शक अपेक्षित रूपमा आएनन् त ? थरीथरी अनुमान गरिए । त्यसमध्ये एउटा ठूलो कारण थियो, लिगप्रति वास्तविक दर्शकको विश्वास नहुनु । 

यो विश्वास भनेको के त ? आमदर्शकले के अपेक्षा गर्छन् भने मैदानमा हुने फुटबलको प्रतिस्पर्धा वास्तविक हुनुपर्छ अनि यसबाट निस्कने नतिजा सही हुनुपर्छ । जति बेला यसैमा शंका हुन्छ, त्यति बेला न हो, विश्वास नहुने । नचाहेर पनि भन्नैपर्छ, नेपाली फुटबलको एउटा तीतो सत्य हो, यसमा खेल मिलोमतो छ र यसले नै नेपाली फुटबललाई हुनुसम्म बदनाम मात्र गरेको छैन, नेपाली फुटबललाई विश्वास नै गर्न नसकिने गरेर तल्लो स्तरमा झारेको छ । 

नेपालमा लिग फुटबलको इतिहास नै निकै लामो छ, २०११ सालदेखि सुरु भएको प्रतियोगिता हो यो । ३० को दशकसम्म यो लिग नेपाल फुटबल संघले आयोजना गरेको थियो, त्यति बेला के भयो, हामीसँगै कुनै इतिहास छैन । अहिले अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्यसपछि लिग आयोजना गर्न थालेको छ । पछिल्लो एक दशकमा लिग फुटबल लोकप्रियताको शिखरमा पुगेको थियो । अहिले त्यो ओरालो लागेर निकै तल झरेको छ । 

र, यसको कारण अरू केही नभएर खेल मिलोमता नै हो अर्थात ‘म्याच फिक्सिङ’ । लिगमा ०६० यता जति पनि संस्करणका लिग भए, विजेतादेखि रेलिगेसनमा परेका लगभग सबै क्लबले कुनै न कुनै मोडमा खेल मिलोमता गरेर नै खेलेका छन् । ‘अफ द रेकर्ड’ सबै क्लबका पदाधिकारी र खेलाडीले हाकाहाकी भन्ने गर्छन्, ‘यो–यो खेलमा मिलोमतो भएको थियो, यो–यो खेलको नतिजा पहिले नै तय थियो ।’ केहीले ख्यालख्यालमै खेल मिलोमतो गरे । 

केहीले आफ्नो क्लबको फाइदा र स्वार्थका लागि गरे । केहीले पैसाका लागि पनि गरे । यसरी खेल मिलोमतोको चाङ–चाङ थुप्रिदै गयो र अन्तत: त्यसले समग्र नेपाली फुटबललाई नराम्रोसँग धक्का दियो । यसैको परिणाम हो, नेपाली फुटबलले आफ्नो लोकप्रियता गुमाउनु । अनि सबैभन्दा ठूलो विश्वास गुमाएको छ । जति बेला मैदानमा भइरहेको खेलको नतिजा मैदानबाहिरबाट तय हुन्छ भने किन दर्शकले पैसा तिरेर त्यही खेल हेर्न गएर आफू मूर्ख हुन्छन् ? 

हुँदा–हुँदा यो रोग नेपालको राष्ट्रिय टिममा पनि सर्‍यो र केही खेलाडी आजीवन प्रतिबन्धमै परे । नेपालले खेलेका केही खेलमा मिलोमतो गरेको आरोपमा त्यो बेलाका कप्तान सागर थापासहित सन्दीप राई, विकाससिंह क्षेत्री र अञ्जन केसी समातिए । उनीहरूमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले आजीवन प्रतिबन्धको सजाय सुनायो, तर उनीहरूलाई नेपालकै कानुनअनुसार केही पनि कारबाही भएन । किन त ? किनभने नेपालमा यससम्बन्धी कानुन नै थिएन । 

अहिले यो सबै चर्चाको सान्दर्भिकता किन भन्दा भर्खरै सकिएको ‘ए’ डिभिजन लिगबाट रेलिगेसनमा परेको सरस्वतीका कप्तान दिपेश श्रेष्ठ कारबाहीमा परे । उनी नेपाली फुटबल इतिहासमै यसरी खेल मिलोमतोको आरोपमा कारबाहीमा पर्ने पहिलो खेलाडी भएका छन् । त्यसैले जति–जति बेला नेपालमा खेल मिलोमतोको प्रसंग उठ्नेछ, उनको नाम गलत कारणले सम्झिइनेछ । खासमा उनले त्यस्तो काम गरेका छन्, जसलाई अहिलेको आधुनिक फुटबलमा सर्वथा अस्वीकार्य मानिन्छ । 

लिगमा सरस्वती र हिमालयन शेर्पाबीचको खेलको निकै ठूलो अर्थ थियो, किनभने यसले धेरै हदसम्म रेलिगेसनमा पर्ने टिमको सम्भावना तयार पाथ्र्यो । त्यो खेलमा सरस्वती विजयी रह्यो र यो नतिजा धेरैले पचाउन पनि सकेनन् । खेल अविश्वसनीय रूपमा ‘हाइ स्कोरिङ’ पनि रह्यो, ४–३ को । खेलअगाडि दिपेशले हिमालयनका गोलरक्षक किशोर गिरीलाई खेल मिलोमतोको प्रस्ताव राखेका थिए । पछि दिपेशलाई दुई वर्षको प्रतिबन्धसँगै ५० हजार रुपैयाँ जरिवाना गरियो । 

हिमालयनका व्यवस्थापक विजेन्द्र पुडासैनी पनि कारबाहीमा परे । कारबाही गर्ने क्रममा एन्फाले भनेको थियो, यो सबै प्रक्रिया प्रतियोगिताको नियमावली धारा २१ को ७ अनुसार भएको थियो । तर, अब उठेको प्रश्न के हो भने मिलोमतोको आरोपमा गरेको यो कारबाही पर्याप्त छ त ? मिलोमतोको आरोप लागेका खेलाडी र पदाधिकारीमाथि गरिएको कारबाही कमजोर त रहेन ? कहीं यस्तो कमजोर कारबाहीले फेरि खेल मिलोमतो गर्न प्रेरित गर्ने त होइन ? 

सागर र अरू तीन जनाको खेल मिलोमतो काण्डपछि नै नेपालमा पहिलोपल्ट खेल मिलोमतोको कानुन अभाव भएको अनुभव गरिएको थियो । ती खेलाडी कम्तीमा नेपालमा चोखो निस्के, किनभने उनीहरूले गरेको गलत कामलाई आकर्षित गर्ने कानुन नै थिएन् । त्यसैले ०७३ मा खेल मिलोमतो सम्बन्धी कानुन संसद्ले पास गरेको थियो । त्यसअनुसार फौजदारी कसुरसम्बन्धी विधेयकमा खेल मिलोमतोलाई राष्ट्रहित प्रतिकूल काम भनिएको छ र यसलाई दण्डनीय बनाइएको छ । 

त्यसअनुसार नेपाली खेलाडीले विदेशी खेलाडीसँगको प्रतियोगिताका खेल्दा खेल मिलोमतो गरेको पाइएमा सबै रकम जफत गरेर तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना गर्ने भनिएको छ । तर, उल्लेखनीय पक्ष के हो भने विधेयक नेपाली घरेलु फुटबलमा हुन सक्ने खेल मिलोमतोबारे भने मौन छ । जति बेला यो कानुन संसद्बाट पारित भएको थियो, त्यति बेला भनिएको थियो, घरेलु फुटबलमा हुन सक्ने मिलोमताबारे पछि संशोधन गरेर थपिनेछ । 

समस्या यहींनिर नै रह्यो । दिपेशले वास्तवमै खेल मिलोमतो गर्ने प्रयास गरेको भए, उनीमाथि प्रतिबन्ध र आर्थिक जरिवाना मात्र हुने त थिएन नै । उनीमाथि त कैदकै सजाय पो हुनुपर्ने थियो । कम्तीमा एउटा सन्तोषको पक्ष के छ भने एउटा खेलाडीमाथि पहिलोपल्ट कारबाही त भएको छ, खेलमिलेमतोको आरोपमा । असन्तोषको पक्ष के हो भने उनीमाथि भएको कारबाही अझै पर्याप्त रहेन । यसले अझै खेल मिलोमतो गर्नेलाई प्रोत्साहन गर्न सक्नेछ । 

प्रकाशित :फाल्गुन २४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×