सुदूरपश्चिमको उदय

- साप्ताहिक संवाददाता

फाल्गुन २५, २०७६

अचेल नेपाली घरेलु फुटबलमा गोल्डकपको समय छ । जताततै गोल्डकपको नाममा एकपछि अर्को फुटबल प्रतियोगिता भइरहेका छन् । विश्वास नहुन सक्छ, भर्खर सकिएको ‘ए’ डिभिजनपछि लगभग ३५ जति गोल्डकप आयोजना हुने क्रममा छ, त्यो पनि दुई महिनाको समयमा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कम समयमा यति धेरै प्रतियोगिताका लागि समय मिलाएको हो । त्यसैले पनि अहिले माहौल नै गोल्डकपको छ ।

एन्फाले यी गोल्डकपलाई एक प्रकारले वर्गीकरण पनि गरेको छ र माथिल्लो श्रेणीमा पर्ने गोल्डकपका प्रतियोगितमा कम्तीमा छ ‘ए’ डिभिजन क्लबलाई खेलाउनुपर्ने हुन्छ । त्यसमाथि एन्फाले अर्को नयाँ नियम पनि बनाएको छ र त्यो हो, एउटा ‘ए’ डिभिजन क्लबले एक महिनामा खालि तीन गोल्डकप मात्र खेल्न पाउने । यो सबै आवश्यकता किन परेको थियो भन्दा यसअघि गोल्डकपका आयोजना र व्यवस्थापन पक्षलाई लिएर निकै आलोचना भएको थियो । 

एक त यस्ता गोल्डकपको उद्देश्य र आयोजनामै खोट लगाउन ठाउँ हुन्थ्यो, अर्कातर्फ चर्को मागका कारण क्लबले पनि लगातार खेल्नुपर्ने हुन्थ्यो, त्यो पनि एक दिन पनि नबिराई । यसले नेपाली घरेलु फुटबललाई नै ध्वस्त पारिरहेको आरोप थियो । यो आरोप साँचो पनि थियो । कम्तीमा यो वर्षदेखि यसमा सुधार आएको छ । यही गोल्डकपको हूलमूलमा विशेष अर्थ र महत्त्व बोक्न सक्षम देखिएको छ, सुदूरपश्चिम खप्तड गोल्डकप । 

अनिल गुरुङ २०७३ ताका मनाङ–मस्र्याङ्दीबाट खेल्थे । उनकै नेतृत्वमा मनाङले त्यो वर्ष पहिलोपल्ट आयोजना भएको त्यो खप्तड गोल्डकप जित्यो । धनगढी रंगशालामा भएको फाइनलपछि उनको स्वत:स्फूर्त प्रतिक्रिया थियो, ‘यहाँको फुटबल माहौल देखेर म निकै खुसी भएँ । यो विशेष छ अनि उत्तिकै फरक पनि ।’ अनिलले मात्र होइन, अधिकांशको बुझाइ के हो भने सुदूरपश्चिममा फुटबल त्यति लोकप्रिय छैन, जति नेपालको पूर्वमा छ ।

तर त्यस्तो रहेनछ । तर एउटा सत्य तथ्य के पनि हो भने नेपाली घरेलु फुटबलमा जति पूर्वको दबदबा छ, त्यो पक्कै पनि सुदूरपश्चिमको छैन । सम्भवत: यो धारणा पनि परिवर्तन हुन सक्छ । अथवा भनौं परिवर्तन हुने क्रममा छ, किनभने त्यही खप्तड गोल्डकपको चौथो संस्करण आयोजना हुँदा उपाधि जित्ने टिम रह्यो, सुदूरपश्चिम–११ फुटबल क्लब नै । फाइनलमा उसले थ्रीस्टारको चुनौती काटेको थियो, अनि सेमिफाइनलमा एपीएफको । 

त्यसको पनि अगाडि एनआरटी । यो विजेता टिम वास्तवमै सुदूरपश्चिमको ‘अर्गानिक’ टिम थियो, किनभने यसले मैदानमा उतारेका सबै खेलाडी उताकै स्थानीय थिए । यी सबै खेलाडी खासै नाम चलेका पनि थिएनन् । उनीहरूसँग घरेलु नेपाली फुटबलमा माथिल्लो स्तरको प्रतियोगिता खेलेको खासै अनुभव पनि थिएन, तर जति बेला यस्तै खेलाडीले भरिएको टिमले उपाधि जित्यो, सबैले माने, यो त नेपाली फुटबलमा सुदूरपश्चिमको उदय पो हो । 

हुन पनि घरेलु नेपाली फुटबल धानेको नै पूर्वेली खेलाडीले हो भन्ने गरिन्छ । कुनै समय काठमाडौं र ललितपुरका खेलाडी पनि उत्तिकै हुने गर्थे । त्यो अब रहेन । भर्खर मछिन्द्रले सहिद स्मारक लिग ‘ए’ डिभिजन लिग जित्यो । यो भित्री काठमाडौंको क्लब हो, तर यसले मैदानमा उतारेका लगभग सबै खेलाडी पूर्वका थिए । पूर्वेली खेलाडीसँग तालमेल राम्रो होस भनेर मछिन्द्रले प्रशिक्षक पनि पूर्वेली नै राखेको थियो, प्रवेश कटुवालका रूपमा । 

सायद अब नेपाली घरेलु फुटबलले त्यति धेरै पूर्वेली खेलाडीमा भर पर्नु पनि पर्दैन कि ? थ्री स्टारका प्रशिक्षक मेघराज केसी पनि मान्छन्, खप्तड गोल्डकपमा सुदूरपश्चिमको जितले धेरै अर्थ राख्छ । उनले भनेका छन्, ‘सुदूरपश्चिमको टिमले यो उपाधि किन जित्यो भन्दा उनीहरूले मेहनत गरे, मैदानमा आफूलाई सिद्ध गरे । उनीहरूले फाइनलसम्म तय गरेको यात्रा कुनै भाग्यले साथ दिएको संयोगको अवसर मात्र थिएन । उनीहरू यसका पूर्ण हकदार थिए ।’

सुदूरपश्चिमले नेपाली फुटबललाई दिएको सबैभन्दा ठूलो नाम हो, रोहित चन्द । उनी सुर्खेतका खेलाडी हुन् । त्यसपछि निराजन मल्ल पनि सुदूरपश्चिमकै हुन्, तर उनले जति सुरुमा प्रतिष्ठा कमाउन सके, पछि त्यसलाई लामो समय टिकाउन सकेनन् । त्यसयता उताका नाम चलेका खेलाडीको नाम लिंदा सम्झन पनि गाह्रो हुन्छ । त्यति मात्र होइन, सुदूरपश्चिम–११ का प्रशिक्षक रोहितकुमार भण्डारी पनि खासै सुनिएको नाम होइन, उनले लगभग आफ्नो सम्पूर्ण खेल जीवन सुदूरपश्चिममै बिताएका रहेछन् । 

उनको भाषामा सुदूरपश्चिमको फुटबलले तय गर्नुपर्ने यात्रा भने अझै धेरै लामो छ । उनले भने, ‘हामीले उपाधि त जित्यौं, तर हाम्रा खेलाडीले खेल्ने फुटबल माथिल्लो स्तरको छैन । त्यसैले यसमा सुधार धेरै आवश्यक छ, हामीले गर्नुपर्ने काम अझै धेरै छ ।’ त्यसको सीधा अर्थ के हो भने सुदूरपश्चिमले नेपाली फुटबलमा अझै मेहनत गर्न पुगेको छैन् । पूर्वले नेपाली फुटबलमा जति आफूलाई सिद्ध गरेको छ, त्यसको छेउछाउ पुग्न पनि अझै धेरै लामो समय लाग्छ । 

यसमा ठ्याक्कै सहमत छन्, कञ्चनपुर फुटबल संघका अध्यक्ष गणेश चन्द । उनी भन्छन्, ‘पूर्वेली फुटबलको तुलनामा सुदूरपश्चिम धेरै पछाडि छ । पूर्वको पहुँच पनि राम्रो छ । त्यसैले हामीले गर्नु पनि काम पनि धेरै छ ।’ यस्तै धेरै गर्नुपर्ने काममध्ये एक भएको छ, सुदूरपश्चिम–११ फुटबल क्लब । यसलै खप्तड गोल्डकप गर्छ । अनि यही क्लबले टिम पनि चलाइरहेको छ, अझ भन्दा यो एकेडेमीको हल्का स्वरूपमा छ । क्लबका अध्यक्ष हुन्, सुरेश हमाल । 

उनले आफ्नै खर्चमा खेलाडीलाई खुवाइरहेका छन्, पारिश्रमिक पनि दिइरहेका छन् । उनलाई चिनेजानेका स्थानीयहरू के भन्छन् भने यी सुरेश फुटबल भनेपछि पागल हुने खालका छन् । त्यसैले उनले आफ्नै प्रयासमा यस्तो दुस्साहस गरिरहेका छन्, तर यो क्लब चलाउने सही ‘मोडल’ पनि त होइन । यो काम सामूहिक रूपमा हुनुपर्छ । सायद अब हुनेछ पनि, किनभन्दा नेपाली घरेलु फुटबलमा सुदूरपश्चिमले खप्तड गोल्डकप जित्नको विशेष अर्थ निश्चित रूपमा छ ।

प्रकाशित :फाल्गुन २५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×