साप्ताहिक संवाददाता
अमेरिकन आइडलको १८ औं संस्करणको सुरु देखिनै नेपाली युवा दिवेश पोख्रेल चर्चाको शिखरमा रहे । छनौट भएदेखि नै जजहरुको मन जितिरहेका पोख्रेलले ‘हलिउड वीक’ राउन्डमा पनि निर्णायकबाट प्रशंसा बटुलेका छन् ।
कार्यक्रमको सुरुवातमा सगरमाथाको देशबाट भन्दै स्टेज पुगेका पोख्रेलले गीत गाउन सुरु गरेपछि जज केटी पेरी उठेर ‘वान्स मोर’ भन्दै चिच्याएकी थिइन् । त्यसपछि तीनै जना जजले उठेर उनीसँगै नाचेर तथा गीत गाएर साथ दिएका थिए । उनले उक्त कार्यक्रममा ओटिस रोडिङ र द ब्ल्याक क्रोजको ‘हार्ड टु ह्यान्डल’ बोलको गीत गाएका थिए ।
निर्णायक रिचीले त दिवेशले आफूलाई ‘बब मार्ली’को सम्झना गराएको केटीलाई बताए । उनले भने, ‘थाहा छ दिवेशले मलाई बब मार्लीको सम्झना गराउँछ । उसको स्टेजको उर्जा, ओ माइ गड ।’
यसअघि अडिसनमापनि केटी परीले दिवेशलाई ‘बेस्ट’ भन्दै सम्बोधन गरेकी थिइन् । गायक पोखरेल सन् २०१३ देखि अमेरिकामा बस्दै आएका छन् ।