साप्ताहिक संवाददाता
फ्रान्सबाट काठमाडौं आएकी एक १९ वर्षीया नेपाली किशोरीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पोजेटिभ देखिएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले उनमा कोरोना पोजेटिभ देखिएको पुष्टी गरेका हुन् ।
ती किशोरी फ्रान्सबाट चैत ४ मा काठमाडौं आइपुगेकी थिइन् । उताबाट आएपछि उनमा सम्भावित कोरोनाको लक्षण देखिएपछि क्वारेन्टाइनमा राखिएको र स्वाब परीक्षण गर्दा आइतबार कोरोना पोजेटिभ देखिएको मन्त्री ढकालले बताए ।
उनको कोरोना पोजेटिभ देखिएको रिपोर्ट हिजो आइबार मात्रै आएको पनि मन्त्री ढकालले बताए ।
अहिले ती किशोरीको शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भैरहेको छ । उनीसँग सम्पर्कमा रहेकाहरुलाई पनि क्वारेन्टाइनमा राखिएको मन्त्री ढकालले पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनीसँगै विमानमा आएकाहरुलाई ट्रयाक गरेर क्वारेन्टाइनमा राख्ने तयारी भएको मन्त्री ढकालले बताए ।