कोरोना भाइरसको महामारीले संसारको अर्थव्यवस्थालाई मात्रै नभएर मानिसको व्यवहारलाई पनि प्रभावित गर्ने देखिएको छ । विज्ञहरूले महामारीका कारण सामाजिक दूरी बढिरहेको भन्दै यस्तो संकेत गरेका छन् । अहिले मानिसहरू एक अर्कोका नजिक जानबाट बञ्चित छन् भने हात मिलाउन र अंकमाल गर्न झण्डै बन्दजस्तै छ ।
मानिसहरूको बदलिरहेको यस्तो व्यवहारलाई देखेर वैज्ञानिकहरूले आउने केही वर्षपछि समाजबाट हात मिलाउने र अंगालो मार्ने सामाजिक चलन खतम हुन सक्ने चिन्ता व्यक्त गरेका छन् । उनीहरूले डेलिगेसन, व्यापारिक बैठक र सम्मेलनहरूमा लामो समयसम्म हात मिलाउँदै गरेका देखिने राजनीतिज्ञ तथा व्यापारी यसको ठाउँमा नयाँ विकल्पहरू खोज्नेतर्फ संकेत गरेका छन् ।
नटिङ्घम ट्रेन्ट युनिभर्सिटीका सामाजिक विज्ञान प्रोफेसर रोबर्ट डिंगवालकाअनुसार बेलायतमा ६ महिना वा त्योभन्दा बढी समयसम्म सामाजिक दूरी कायम रहन सक्छ । यसपछि यो बानी हाम्रो दिनचर्याको भाग बन्नेछ । उनकाअनुसार त्यसपछि लामो समयसम्म हात मिलाउने भन्दा हात धुनेतर्फ मानिसहरु लाग्नेछन् । यो बिस्तारै बानी बन्ने र यसले मानिसको सोच बदल्ने बताउँदै उनले कुनै बिरामीलाई देख्नेबित्तिकै मानिसले हात मिलाउन र अँगालो मार्न छाड्ने उल्लेख गरेका छन् ।
पूर्व अमेरिकन सोसिओलोजिकल एसोसिएसनका प्रेसिडेन्ट जो फ्येगिनले भने, ‘मलाई लाग्दैन कि सामाजिक दूरी लामो समयसम्म रहला, यो मीटुजस्ता अभियानका कारण पहिले नै बढिसकेको थियो । हामी आफ्ना परिचितहरूसँग सायदै सधैं ६ फिट दूरीसम्म रहने सक्नेछौं । तर, हामी उनीहरूसँग त्यति अंकमाल गर्न सक्ने छैनौं, जति ५ महिना पहिले गथ्र्यौं पाउथ्यौं । यदि लकडाउन ६ महिनाभन्दा कम समय रहेमा हामी स्वच्छतामा ध्यान दिन सक्नेछौं । तर, यो डेढ वर्षसम्म रहेमा भने हाम्रो व्यवहारमा बदलाव आउने सम्भावना धेरै छ ।’