एसईई वा प्लस टु उत्तीर्ण विद्यार्थीलाई कस्ता शैक्षिक संस्था रोज्ने द्विविधा हुन्छ नै । आफ्नो रुचि, दक्षता एवं आर्थिक क्षमता विचार नगरी साथीसंगीहरूसँग लाग्दा कतिपयले केही महिनामै त कतिले वर्ष दिनपछि नै कलेज ड्रपआउट गर्छन् । त्यसबाट पढाइ त बिग्रन्छ नै, सुनौलो समयको बर्बादी समेत हुन्छ । पासआउट भैसकेका युवाहरूले आफ्नो अनुभव तथा भोगाइका आधारमा उपयुक्त शैक्षिक संस्था छनौट गर्दा विविध कुरामा ध्यान पुर्याउनुपर्ने बताएका छन् ।
इच्छा आफ्नो ठाउँमा छ तर पारिवारिक पृष्ठभूमिलाई पनि बुझिदिनुपर्छ भन्दै स्नातक अध्ययनरत सुनिता थापा भन्छिन्– अतिरिक्त क्रियाकलाप बढी भएका कलेजले हाम्रो फाउन्डेसनलाई बलियो बनाउँछन् भन्ने मेरो अनुभव छ । त्यसमा आफ्नो लगन एवं मेहनतको मुख्य भूमिका हुन्छ । विश्वविद्यालयले पनि क्षमता र लेखाइका आधारमा मूल्यांकन गरिदिए विद्यार्थीको एक्सपर्टिज देखिन्छ । कलेजमा देखिने सुविधा हेरेर मात्र होइन कि आफूमा भएको क्षमता निखार्न सकिन्छ कि सकिँदैन ? त्यस्ता कलेज रोज्नुपर्छ जहाँ आफूभित्र भएको क्षमता निखार्न तथा प्रस्फुटन गर्न सकियोस् । अबको शिक्षा भनेको भविष्य निर्धारण गर्न सकिने खालको हुनुपर्ने यी युवाको बुझाइ छ । जिम्मेवारी र चुनौती सामना गर्दै रुचि तथा क्षमताअनुसारको शैक्षिक संस्था छान्नुपर्ने थापाले बताइन् । व्यवहारिक पक्षमा सोही अनुसारको दिशानिर्देश गर्न सक्ने तथा सैद्धान्तिक पक्षमा पनि त्यसैअनुरूप अघि बढाउन सक्ने संस्था छान्न अभिभावकहरूले पनि उचित सल्लाह लिनु–दिनुपर्नेमा उनी जोड दिन्छन् । आफैंले अवसर सिर्जना गर्ने क्षमता निर्माण गर्न सकिने स्थान नै अबका युवाको ड्रिम डेस्टिनेसन हुने थापाको धारणा छ ।
हामीमा अझै पनि धेरै पैसा तिरे राम्रो शिक्षा प्राप्त हुन्छ भन्ने भ्रम व्याप्त छ, कलंकीकी काजल कार्कीले भनिन्– राम्रा इन्फ्रास्ट्रक्चर भएका, अत्याधुनिक ल्याब अनि हाइटेक सुविधासम्पन्न कलेज मात्र राम्रा हुने होइनन् । आफू बन्न गुणस्तरीय शिक्षा तथा दक्ष शिक्षक अत्यावश्यक कुरा हो । अहिले कतिपय निजी शैक्षिक संस्थाले विद्यार्थी तान्न एवं व्यापारीकरणका लागि मात्र राम्रा प्रस्पेक्टस बनाउँछन्, तसर्थ अभिभावक एवं हामी विद्यार्थी स्वयं यस विषयमा सजग हुनुपर्छ । आफ्ना छोराछोरीका लागि कुन कलेज उपयुक्त हुन्छ भन्ने कुरामा अभिभावकहरू समेत अलमलमा परिरहेका हुन्छन् । उचित सल्लाह–सुझावको अभावमा उनीहरू आफ्ना सन्तानलाई सही स्थानमा पुर्याउन सकिरहेका हुँदैनन् ।
अभिभावकहरू आफ्ना छोराछोरीको रुचि एवं चाहनालाई सही ढंगले सम्बोधन गर्न असमर्थ भएका हुन सक्छन् ।
स्नातक तहका विद्यार्थी निराजन घिमिरेका अनुसार यस्तो शैक्षिक स्पट रोज्नुपर्छ जसलाई आफ्नो ड्रिम डेस्टिनेसन बनाउन सकियोस्, तर यस विषयमा पहिले नै सजगता एवं सचेतता अपनाउनुपर्छ । कसरी थाहा पाउने त आफ्नो सपनाको गन्तव्य ? निराजनले समस्या सुल्झाउने प्रयास गर्दै भने– भर्ना हुनुअघि बेस्ट अफ द बेस्ट कलेजको सूची तयार पार्ने, ती कलेज भिजिट गर्ने, त्यहाँका सुविधा, शैक्षिकलगायत अतिरिक्त गतिविधि आफैंले बुझ्ने । मुख्य कुरा गुणस्तरीय शिक्षा र विषयगत विज्ञता हासिल गरेका शिक्षक उक्त कलेजमा उपलब्ध छन् कि छैनन् ? भन्ने कुरामा गहिरिएर ध्यान दिनुपर्छ ।
कलेजहरूले भित्र हुँदै नभएका विविध गतिविधिलाई विज्ञापनमा समावेश गराएर, टपर विद्यार्थीलाइ आफ्नोमा तानेर, अत्याकर्षक प्रस्टपेक्ट्स तयार पारेर विद्यार्थी तान्ने उपाय अपनाएको पाइन्छ । यस्तो प्रवृत्तिप्रति युवा विद्यार्थीहरू आपत्ति जनाउँछन् । उनीहरूको विचारमा त्यस्ता कलेज शैक्षिक गुणस्तरका हिसाबले भने कमजोर हुन्छन् । त्यस्ता कलेजहरू आफ्नो ठूलो लगानी उठाउनमै केन्द्रित हुन्छन् भन्ने कुरामा छलफलमा सहभागी सबै एकमत देखिए ।
कानुनकी विद्यार्थी मोनिका मल्ल भन्छिन्— युवाहरूलाई उनीहरूको रुचिअनुकूलको विषय पढाइ हुने कलेज छनौट गर्न दिनुपर्छ। मल्लले हामीकहाँ म्यानेजमेन्ट, साइन्स, ह्युम्यानिटी फ्याकल्टी मात्र छ, त्यसमा अतिरिक्त डान्स, म्युजिक, आर्ट आदि सिर्जनशील फ्याकल्टीयुक्त कलेज पनि नेपालमा हुनुपर्ने बताइन् । व्यापारका दृष्टिले खोलिएका होइनन् कि वास्तवमै शिक्षणमुखी कलेज रोज्नुपर्छ, मल्ल भन्छिन्— विद्यार्थी र अभिभावक दुवै सँगै बसेर छलफल गरी कलेज छनौट गर्नुपर्छ । यस्तो बेला अभिभावकले पनि आफ्ना छोराछोरीको चाहना बुझेर कहाँ उसलाई उपयुक्त हुन्छ त्यहीं पढ्न प्रेरित गर्नुपर्छ ।
यस विषयमा विद्यार्थी एवं अभिभावक दुवैलाई परामर्श चाहिने मल्लले बताइन् ।
मलाई बास्केटबल असाध्यै मन पर्ने, मलाई तीन–चारवटा कलेजले बास्केटबल च्याम्पियन भएकै कारण स्कलरसिप समेत दिएका थिए, तर मम्मी–ड्याडीले एसएलसीपछि यस्तो कलेजमा लगेर हालिदिनुभो जहाँ स्पोर्ट्स नै थिएन । त्यसपछि बिस्तारै ममा भएको कला मर्दै गयो, स्नातक अध्ययनरत विद्यार्थी प्रतिकाश बस्नेतले भने— यस्तै कारणले हो, महिना नबित्दै कतिले कलेज छाड्छन् वा परिवर्तन गर्छन्, भलै मैले गरिनँ तर धेरैको हकमा कारण यही हो । प्रतिकाशलाई आफ्नो रुचिअनुसार पढाइ हुने तथा आफूले चाहेको कुरा प्राप्त हुने स्थान रोज्दा भविष्य उज्ज्वल हुन्छ भन्ने लाग्छ ।
नर्सिङ अध्ययन गरी सोही पेसामै आबद्ध विजया बीसी आफ्नो भविष्यका लागि गन्तव्य छनौट गर्न स्वयं सचेत हुनुपर्ने तर्क गर्छिन् । यो शैक्षिक संस्थामा गएपछि म केही गर्न र भोलि केही बन्न सक्छु भन्ने कुरामा निश्चित भएपछि मात्र निर्णय गर्नुपर्ने बीसीको धारणा छ । मुलुकमा ४३ दशमलव ३ प्रतिशत युवा भएको र यी युवा भविष्य निर्माण गर्ने उपयुक्त स्थानमा पुगे मात्र मुलुक बन्ने बीसीको बुझाइ छ । हामीले कलेज पढ्दा जति दु:ख पाइयो अब आउने भाइबहिनीले त्यो झेल्नु नपरोस्, आफूहरू यस्ता कुरामा युवाको मार्ग निर्देशक बन्नुपर्ने बताउँदै बीसीले भनिन्— व्यवहारिक र गुणस्तरीय पढाइ हुने कलेज होस् । यो राम्रो त्यो नराम्रो भनेर छुट्याउने भन्दा पनि आफ्नो रुचिअनुसार जहाँ गइन्छ त्यहाँ आफ्नो बेस आफैं बनाउने हो ।
शिक्षा अत्यन्तै महत्वपुर्ण अंग भएकाले यस्तो शैक्षिक संस्थामा जाऊँ कि पछि पश्चाताप गर्नु नपरोस्, नरेश कार्कीले भने– अब हामी युवाले मुलुकभित्र मात्र नभै अन्तराष्ट्रिय रूपमा पनि आबद्ध शैक्षिक संस्था रोज्नुपर्छ । प्लस टु पछि बिदेसिने होइन कि यहीं रोजगारी सिर्जना गरी दुई–चार जनालाई काम गर्न दिन सक्ने दक्षता हासिल गर्न सकिने एजुकेसन स्पट छान्ने बेला आइसकेको छ । शैक्षिक उत्पादनहरूलाई निर्वाहमुखी नभएर दिगो विकासमुखी बनाउने स्थान छनौट गर्नु आजको आवश्यकता हो । देश र समाजले हामीलाई के दिन्छ भन्दा पनि हामीले देशलाई के दिन सकिन्छ भन्ने सोच राख्ने शैक्षिक स्थान अबको रोजाइ हुनुपर्ने अहिलेका युवाहरूको चाहना तथा बुझाइ हो ।