साप्ताहिक संवाददाता
कुनै पनि सरकारी वा गैरसरकारी कार्यालयमा काम गर्ने कर्मचारीले यदि भ्रष्टाचार गरेको ठहरिए तिनीहरूको पद स्वतः निलम्बन गर्नुपर्छ अनि भ्रष्टाचार गरेको रकमभन्दा दोब्बर रकम असुलेर आजीवन जेल हाल्नुपर्छ ।
आशिष लिम्बू
कर्मचारीले अफिसको समयमा खल्ती भएको कपडा लगाउन नपाउने नियम बनाउनुपर्छ ।
सन्तोष अर्याल
आफ्ना सन्तानलाई राम्रो र व्यवहरिक शिक्षा प्रदान गर्नुपर्छ्र । राम्रो शिक्षा र असल चरित्रले उचित संस्कार निर्माणमा मद्दत गर्छ ।
केशव विष्ट
सत्तामा पुग्नेले भ्रष्टाचार गरेर बजेटको आधाआधी रकम कमिसन खाने र कानुनदेखि शक्ति डराउनुपर्ने ठाउँमा शक्तिदेखि कानुन डराउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ ।
विनोद सुनार
राजनीति विशुद्ध समाजसेवा हुनुपर्छ । राजनीतिक व्यक्ति र आम जनताले कानुनभन्दा माथि कोही छैन भन्ने सोचेर काम गर्नुपर्छ ।
हेमन्त निरौला
भ्रष्टाचारीहरूलाई उनीहरूले भ्रष्टाचार गरेकोभन्दा दोब्बर–तेब्बर बिगो असुल गरी तिनलाई जेलको चिसो हावा ख्वाउनुपर्छ । यति मात्र गर्न सकियो भने भ्रष्टाचारलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ । यसमा सानो–ठूलो भनेर विभेद गर्नु हुँदैन । सबैलाई उत्तिकै सजाय दिनुपर्छ ।
जेबी गाउँले
चीनको जस्तो कानुन हुनुपर्छ अनि मृत्युदण्ड दिँदा लागेको गोलिलगायतको खर्च उसैको परिवारबाट असुल्नुपर्छ ।
सलिन मगर
भ्रष्टाचारमुक्त देश बनाउन नेपालमा फाँसी वा २०–२५ वर्ष जेल सजायको व्यवस्था गर्नुपर्छ भने भ्रष्टाचार गरेबराबरको बिगो सम्पत्ति जफत गरेर सामाजिक बहिस्कार गर्नुपर्छ ।
दिनेश राई
नेपालमा पनि इमरान खानजस्तै साहसिक अनि भिजनरी मान्छे चाहिएको छ । जनप्रतिनिधिको विलासी जीवन अन्त्य गरेर भ्रष्टाचारीलाई जन्मकैद दिनुपर्छ ।
सिर्जन शर्मा
जम्मा दुईवटा काम गरे पुग्छ । पहिलो, वस्तु तथा सेवाको मूल्यमा सरकारले कडाइका साथ नियन्त्रण गर्ने र अर्को हदैसम्मको कारबाही गर्ने ।
विवेक सुवेदी
भ्रष्टाचार गर्नेलाई कालोमोसो दलेर सहर परिक्रमा गराउनुपर्छ अनि भ्रष्टाचार गरेको रकम सरकारीकरण गरेर भ्रष्टाचारीलाई जन्मकैददेखि इन्काउन्टरसम्मको व्यवस्था गर्नुपर्छ ।
रन्जिता श्रेष्ठ
सबैभन्दा पहिले महामहिम राष्ट्रपतिदेखि प्रधानमन्त्री, सांसद, मन्त्री तथा उच्च पदस्थहरूलाई घूस खानु हुँदैन भनेर तालिम दिनुपर्छ अनि ६–६ महिनामा उनीहरूको सम्पत्ति छानविन गर्नुपर्छ । भ्रष्टचारीहरू धरौटीमा छुट्ने सिस्टम बन्द हुनुपर्छ ।
हरि थापा
एकसिङ्गे गैँडाको खाकजस्तै भ्रष्टाचारीको नाक पनि महँगो मूल्यमा बिक्री हुने व्यवस्था गर्नुपर्छ अनि सबैले खोजीखोजी भ्रष्टाचारीको सिकार गर्छन् । त्यसपछि उनीहरू पनि डाइनोसरजस्तै लोप हुन्छन् ।
अभि तामाङ
प्रत्येक कर्मचारी, कार्यकर्ता, नेता, मन्त्री, प्रधानमन्त्री सबैको सम्पत्ति एक–एक वर्षमा छानबिन हुनुपर्छ । भ्रष्टाचारीलाई सर्वस्वसहित फाँसी दिनुपर्छ ।
शंकर तामाङ
५० वर्ष कटेका नेताजतिलाई अवकाश दिने व्यवस्था गर्नुपर्छ । यदि कसैले भ्रष्टाचार गर्छ भने आजीवन कारावासको सजाय तथा युवा नेताहरूलाई मौका दिने हो भने भ्रष्टाचार कम हुनसक्छ ।
सुमन आरभ
सबैले स्वार्थी बानी छोड्नुपर्छ । नेपाल सरकारले जनताको जीवन स्तर उकास्न गतिलो नीति अपनाउनुपर्छ । यतिले पनि भएन भने भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय दिनुपर्छ ।
जेनिथ तामाङ
भ्रष्टाचार हटाउन ५० रुपैयाँभन्दा माथिको नोट बन्द गर्नुपर्छ, जसले गर्दा हरेक कारोबार बैंकमार्फत हुने थियो, जसबाट भ्रष्टाचार स्वतः नियन्त्रण हुन्छ ।
गणेश अधिकारी
अर्बौं भ्रष्टाचार गर्ने व्यक्ति लाखौं रुपैयाँ दिएर छुट्छ । खै गतिलो कानुन ? लाख भ्रष्टाचार गर्नेलाई करोडको जरिवाना गराउने कानुन हुनुपर्छ ।
शालिकराम अर्याल
भ्रष्टाचार गरेको प्रमाणित भए मृत्युदण्डको सजाए दिने व्यवस्था गर्न सके धेरै हदसम्म नियन्त्रण हुन्छ ।
दामोदर सेढाई
भ्रष्टहरूलाई मृत्युदण्डको व्यवस्था गर्नु उपयुक्त होला ।
अन्जन गुरुङ
भ्रष्टाचार गरेको ठहरे सार्वजनिक ठाउँमा फाँसीको सजाय हुने गरी कानुन बनाउनुपर्छ ।
विनोद श्रेष्ठ
कालोमोसो दलेर, जुत्ताको माला भिराएर सडक घुमाउँदै जेलमा कोच्नुपर्छ ।
विकास
धेरै होइन, पाँच जना भ्रष्टाचारिलाई चोकमा राखेर गोलि ठोक्नुपर्छ, बाँकी आफै रोकिन्छ ।
रेशम थापा
आफैंभित्र म भ्रष्टाचार पनि गर्दिनँ र भ्रष्टाचार हुन पनि दिन्न भन्ने भावना हुनुपर्छ ।
नवराज आचार्य
सबैभन्दा पहिले देशमा रोजगारीको सिर्जना गर्नुपर्छ । ताकी सरकारी तथा गैरसरकारी निकायमा काम गर्ने व्यक्तिलाई आफ्नो सन्ततिको आर्थिक अवस्थाका सम्बन्धमा कुनै चिन्ता नहोस् । अर्को कर्मचारीलाई जीवन–निर्वाह गर्न पुग्ने तलब तथा सेवा–सुविधाको व्यवस्था हुनुपर्छ ।
नगेन्द्र कुलुङ