
५० वर्षीय यादव मिश्र र उनको पत्नी गीताले ३७ दिनसम्म पूर्णरुपले चियानास्ता पसल बन्द गरे । तर, तरकारी किन्ने पैसा समेत सकिए पछि उनीहरुले बिहीबारदेखि सामाजिक दुरीको पालन गर्दै बिहानीपख दुई/तीन घण्टा पसल खोल्न थालेका छन् ।
विराटनगर महानगरपालिकाको सबैभन्दा महंगो स्थानमध्येको एक हस्पिटल चोकमा यि दम्पतिले मासिक ४५ हजार रुपैयाँ बहाल बुझाउने गरी सटर भाडामा लिएका हुन् । उनीहरुको यहाँ आफ्नो घर छैन । यहाँको गेहेली टोलमा बहालमा बस्छन् । लकडाउन अघिसम्म होटेलकै कमाइले उनीहरुले सबैथोकको बन्दोबस्ती गरिरहेका थिए ।
‘महानगरपालिका कार्यालयले दिएको राहतले जसोतसो केही दिनसम्म खान त पुग्यो तर अब घरपसलको भाडा कहाँबाट तिर्ने चिन्ता सुरु भएको छ,’ मिश्रले भने । कोरोना भाइरसको हल्ला चल्न थाले पछि दुई महिनादेखि व्यापार चौपट भएको उनले बताए । मिश्रले दुई महिनाको पसल बहाल पनि बुझाउन सकेका छैनन् । एकै पटक ९० हजार रुपैयाँ सटर भाडा कहाँबाट ल्याउने उनलाई चिन्ता छ । ‘सँघीय, प्रदेश सरकार वा स्थानीय निकायबाट आर्थिक सहयोग पाए हुन्थ्यो,’ मिश्रले भने, ‘बिहान केही बेर पसल खोल्दा तरकारी किनेर खानसम्म पुगेको छ ।’
लकडाउन अघि सम्म पसल खुला हुँदा दिनहुँ औषत १० हजार रुपैयाँको चियानास्ता बिक्री हुने गरेको उनले सुनाए । मिश्रले भने, ‘यतिका दिन सम्म पसल बन्द हुँदा खर्चको सन्तुलन बिग्रेको छ, सरकारले चाँडो हाम्रो बारेमा सोच्नु पर्छ ।’
जुत्ताचप्पल बनाएर बेच्ने विराटनगर–रंगेली मार्गकी ४५ वर्षीया सानु दुलाल पनि लकडाउन सुरु भएकै दिन ११ चैतदेखि घरभित्रै बसिरहेकी छन् । चार सदस्यीय परिवार भएकी दुलाललाई सटर भाडा, घर बहाल र चार श्रमिकको ज्यालाको बन्दोबस्ती गर्न धौंधौं परिरहेको छ ।
सबै गरी उनको मासिक खर्च झन्डै १ लाख ५० हजार रुपैयाँ छ । ‘लकडाउन खुले पछि बुझाउने गरी तीन लाख रुपैयाँ ऋण लिएको छु,’ उनले भनिन्, ‘लकडाउन पछि कमाएर ऋण चुक्ता गर्ने हो, यस्तो बेलामा कसलाई भन्ने र कहाँ गुहार्ने ?’ दुलालकै सटरदेखि थोरै परको ४९ वर्षीय सुरेन्द्र मण्डललाई पनि होटेल बन्द गरे पछि दैनिक खर्चको बन्दोबस्ती गर्न हम्मे परिरहेको छ । चार श्रमिकलाई तलब दिन, होटेलको भाडा तिर्न र घरव्यवहार चलाउने चुनौती थपिएको उनले बताए ।
‘सामाजिक दुरीको पालन र सरसफाइमा कमी हुन नदिने सर्तमा होटेल खोल्न दिए हुन्थ्यो,’ मण्डलले भने, ‘सहकारीको किस्ता र बैंकको ऋण बुझाउन कठिन छ, यो तालले त जोगी हुन्छु ।’ यो महानगरको मालअड्डा चोकको सार्वजनिक छाप्रोमा चियानास्ता पसल गर्ने ज्येष्ठ नागरिक मानबहादुर श्रेष्ठ र उनको छोरी मनुको अवस्था पनि उस्तै छ ।
‘महानगरपालिकाले दिएको राहतमा बाँचेका छौं, कोठा भाडा दिनैपर्छ, बेलाबेलामा तेल, औषधी र तरकारी सकिएर किन्नै पर्छ,’ श्रेष्ठले भनिन्, ‘हातखुट्टा चलुन्जेल कमाएर खाऔं भन्ने हो, राहतबाट कहिल्यैसम्म गुजारा गर्ने ?’ यि त विराटनगरका केही प्रतिनिधि पात्र मात्र हुन् । खोज्दै गएमा वडा र टोलबस्ती पिच्छैं भेटिने यस्ता पीडितको फेहरिस्त लामै छ ।
‘सरकारले घरभित्रै बस्न भन्नु अगाडि वा पछाडि गाँस, बाँस र कपासको समस्या हुने वर्गका बारेमा सोच्नु पथ्र्यो,’ स्थानीय तीनपैनी चोककी होटेल व्यवसायी ६० वर्षीया अनारकली यादवले भनिन् । भोकभोकै नमर्नु परोस् भनेर उनले भौतिक दुरी र व्यक्तिगत सरसफाइको पालन गर्दै होटेल सञ्चाल गर्दैछिन् ।
‘पसल अगाडिको चापा कलमै हातखुट्टा धोएर भित्र छिरेपछि म र ग्राहक दुवै सुरक्षित हुन्छौं,’ उनले भनिन्, ‘सके जति सफाइ गरिरहेकै छौं, सरकारले भनेको निर्देशन मानिरहेकै छौं तर एक दिन पनि होटेल बन्द भयो भने मलाई जीवन निर्वाह गर्न कठिन हुन्छ ।’ चियानास्ता खान आउनेलाई टाढाटाढा बस्न लगाइरहेको उनले बताइन् ।
यहाँ राम्रा घरबेटी पाएका भाग्यशाली साना ब्यापारी पनि छन् । तीनपैनी चोककै दुध व्यवसायी डिल्लीराम बराललाई घरबेटीले सटरको मासिक भाडामा आधी मिनाहा मात्र गरेका छैनन्, अवस्था अनुकुल भएको बेला दिन भनेका छन् ।
‘पुरै भाडा दिन गएको थिएँ, लकडाउनमा व्यापार नचलेको देखेर सटरको आधा भाडा मात्र लिने भन्नुभयो, त्यो पनि भएको बेला दिन भन्नु भएको छ,’ उनले भने । सबै आफू जस्तै भलादमी घरबेटी पाउने भाग्यमानी नहुने भएकाले सँघीय, प्रदेश, स्थानीय निकाय र प्रहरी प्रशासनले विचार गर्ने बेला भएको बरालले बताए ।
विराटनगरका ठूलाठूला मल खोल्न दिने तर साना व्यवसाय बन्द गर्न लगाउने प्रहरी प्रशासन प्रति उनले असन्तुष्टि प्रकट गरे । सामाजिक दुरीको रत्तिभर पालन नहुने भीड भइराख्ने मलको बारेमा कसैले प्रश्न नउठाएकोमा अन्य व्यापारी एवं श्रमिकहरु आक्रोशित भइरहेको बराललले बताए ।
‘पूर्वसावधानीका उपाय अबलम्बन गर्न लगाएर साना व्यापारी र श्रमिकलाई काम गर्न दिनुपर्छ,’ बरालले भने, ‘मलमा घुइँचो हुँदा प्रहरीले केही बोल्दैन, सानातिना पसलमा दुई/चार जना भेला भएमा लौरोले हान्छन् ।’ कोरोना भाइरसको प्रकोप दुई/चार सातामै साम्य हुने संभावना नरहेकोले सरकारहरुले जिल्लाहरुमा संक्रमणको अवस्था हेरी लकडाउन खुकुलो वा कडा पार्ने रणनीति बनाउनु पर्ने अर्थशास्त्री अर्जुन खड्काले बताए । उनले भने, ‘लकडाउन मात्र गरेर बस्दा आर्थिक अवस्था धरासायी हुने जोखिम उतिकै छ ।’