विश्वव्यापी महामारीको रूपमा आतंक मच्याइरहेको कोभिड–१९को मारमा हामी नेपाली पनि छौं । यसले आफ्नो दबदबा अझै कहिलेसम्म कायम राख्ने हो टुङ्गो छैन । विज्ञहरूको आँकलन अनुसार यस महामारी एचआइभी उड्स जस्तै सदाकालसम्म पनि रहन सक्ने अनुमानले स्थिति त्रस्त बनाएको छ ।
‘नेपालीहरूलाई त केही हुन्न’ भन्ने बुज्रककहरू पनि संक्रमण बढ्न र मृत्यु समेत हुन थालेपछि केही सजग हुन थालेका छन् । यस्तो प्रभावबाट अछुतो रहेको कुनै क्षेत्र छैन । सबै सेवा क्षेत्र अस्तव्यस्त छन् । विद्यालय उमेरका करिब ८० लाख बालबालिका विद्यालयको सम्पर्क बाहिर अथवा आफ्नै घरमा छन् । तिनीहरूको औपचारिक पठनपाठन अस्तव्यस्त छ । अभिभावकको साथमा रहेका उनीहरूलाई यदि आफ्ना अभिभावकले खाली समयको सदुपयोग गरी व्यावहारिक सीपसँग पोख्त बनाउने सुनौलो अवसर पनि छ ।
अभिभावकले पनि बालबालिकालाई व्यस्त राखी आफू स्वतन्त्र हुन ‘मोबाइल क्याप्सुल’ दिने गरेका छन् । यसो गर्नाले उनीहरूमा देखापर्ने सम्भावित खतराहरूको बारेमा जानकार भएर मात्र पुग्दैन, राम्ररी सचेत भई सजगता पनि अपनाउनुपर्छ । यसले बालबालिकाहरू असामाजिक बन्ने, अरूसँग बोल्न मन नपराउने, एकोहोरो बन्ने, दृष्टिशक्ति कमजोर हुने लगायतका दीर्घकालीन शारीरिकतथा मानसिक स्वास्थ्य समस्या ल्याउन सक्छ । अलिक ठूलो उमेर समूहका किशोर किशोरीले इन्टरनेटको दुरूपयोग गर्न सक्ने कुरामा सचेत गराएर मात्र पुग्दैन, परिवारका अग्रज सदस्यले नियन्त्रण गर्न सक्नुपर्छ। अन्यथा दुष्परिणाम भोग्नुपर्ने दिन धेरै टाढा छैन ।
सामान्यतया मेरा छोराछोरीको यो भएन, त्यो भएन, यो वा त्यो हुनुपर्ने भन्ने अभिभावकहरूका लागि सुधार्ने अवसर यसर्थमा पनि छ कि लकडाउनको कारणले सबै घरभित्रै छौं । आफूसँग उपलब्ध नयाँ तथा पुराना किताबलाई प्रयोग गरी नियमित पठनपाठन गराउने, दैनिक कार्यतालिका निर्माण गरी त्यसको कार्यान्वन गर्न, गराउन लागि पर्नु बुद्धिमानी हुनेछ। अभिभावकमा प्रश्न उठ्न सक्छ, हामीले जान्नु पर्यो नि ? प्रश्न जायज पनि छ, समाधान पनि छ ।
हो, यदि पढ्न वा लेख्न जान्नुहुन्न, तपाईंको दोष हैन । तर तपाईंको कुनै कुरालाई ठिक–बेठिक, राम्रो–नराम्रो छुट्याउने खुबी त पक्कै छ । तपाईंलाई गीत गाउँन, मादल वा बाँसुरी बजाउन आउँदैन तर तपाईंलाई आहा कति राम्रो, सुनौँ सुनौँ लाग्यो अथवा कस्तो दिक्क लाग्यो भनेर त्यसलाई बहिष्कार गर्न सक्नुहुन्छ भने यही सिद्धान्तको प्रयोग आजको दिनमा उपयोगी हुने अवसर छ। पढ्न जान्ने भएका आफ्ना नानीबाबुलाई पढ्न लगाउनुस्, आफू सुन्नुस् र सुझाव दिनुस् । लेख्न लगाउनुस्, धेरै जान्नुहुन्न भने लेखाइको सुन्दरताका लागि प्रेरित गर्नुस् । अलिक विशिष्टता चाहनुहुन्छ र सम्भावना छ भने नजिकैको जान्ने छिमेकीसँग सहयोग लिनुस्। त्यो सम्भव छैन भने शिक्षकहरूसँग टेलिफोन सम्पर्क गर्नुहोस्, गराउनुहोस् र सुझाव लिनुहोस्, दिनुहोस् । सानो उमेरका बालबालिकासँग विभिन्न किसिमका खेलहरू खेल्नुहोस् । दैनिक रूपमा चित्र कोर्न लगाउनुहोस् र नियमित मूल्याङ्कन गर्नुहोस् ।
यस्तो परिस्थितिमा शैक्षिक जगतका सबैथरी मानिसलाई आ–आफ्नै किसिमको चिन्ता छ । नीति निर्माताहरू शिक्षा पद्धतिलाई कतातिर हाँक्ने भन्ने चिन्तामा छन् । शिक्षकलाई कसरी पढाउने भन्ने, विद्यालयलाई विद्यार्थी कहिले भर्ना गर्ने भन्ने, अभिभावाकलाई कहिले स्कुल खुल्ला र ढुक्क होला भन्ने अनि कहिलेकाहिँ स्कुल जान नमान्ने बालबालिकाहरू र नपठाउने अभिभावकहरू घरप्रति दिग्दारी भई स्कुल खुल्ने दिनको प्रतीक्षामा छन् । यस बीचमा एकथरी स्कुल र स्कुलका सञ्चालाकहरूलाई स्वभाविक छटपटीको अवस्था प्रष्ट देख्न सकिन्छ ।
आवश्यकतानै आविष्कारको जननी हो भन्ने उखानलाई चरितार्थ गर्ने अवसरको रूपमा पनि लिन सकिन्छ यस समयलाई । खाली बसिरहनु भन्दा विभिन्न सिर्जनात्मक कार्यहरू गर्ने र जसको माध्यमबाट विद्यार्थी र अभिभावकहरूसँग पुग्न सकियोस् भन्ने मानसिकताले पनि केही योगदान भने पक्कै पुर्याएकै छ । विभिन्न तरिकाबाट अनलाइन कक्षाहरू सञ्चालन गर्ने देखासिकी पनि सुरु भएका छन् । विषेशगरी बढी मारमा परेका एसईई परीक्षा दिन नपाएका विद्यार्थी र तिनीहरूका लागि विकल्पहरू सोच्न र खोज्न थालिएका छन् ।
सम्भावित विकल्पमा बहस र छलफलहरूले पनि व्यापकता पाइरहेका छन् । हिजोसम्म परीक्षाको तयारीमा रहँदा मोबाइल, टेलिभिजनको पहुँच र प्रयोगबाट टाढा रहनुपर्छ भनेर घोकाउने शिक्षकहरू नै म्यासेन्जरमा ग्रुप बनाउने लगाउने र ग्रप च्याट गर्न सिकाइरहेका छन् । सामाजिक दूरी कायम गराउने क्रममा विद्यार्थी केन्द्रित शिक्षण सिकाइ प्रविधिहरूको बारेमा भइरहेका बहस, छलफल र केही प्रयोगहरू सराहनीय नै छन् । तर त्यसको प्रभाकारिता र दीर्घकालीन असरको बारेमा खासै ध्यान दिइएको छैन ।
सहरी क्षेत्रमा इन्टरनेटको पहुँच र प्रविधिको उपलब्धता हुने स्थानमा त केही सहयोग पुगि नै रहेको छ । चाहे भर्चुअल कक्षा होस् या म्यजेन्जर ग्रुप वा जुम मिटिङ नै किन नहोस् । तर प्रविधिको उपलब्धता र पहुँच कति विद्यार्थीसँग छ त ? कतिलाई सहज हुन्छ? कतिले चाहन्छन्, पाउँछन् र सदुपयोग गर्छन् ? कतिले चाहेर पनि पाउन सक्दैनन् भन्ने मूल विषय हो ।
बर्तमान परिवेशमा सञ्चालन भइरहेका अनलाइन कक्षाको प्रभाकारिता कति होला त ? मानौं अनलाइन शिक्षाको लागि स्कुलले निर्देश गर्छ, शिक्षकले अहिले फेसनमा आएको जुम एप डाउनलोड गर्छ, विद्यार्थीलाई पनि सोही गर्न लगाउँछ। एउटा कक्षाका विद्यार्थीहरूसँग सम्पर्क गरी कक्षा सुरु गर्न ५–६ दिन लाग्छ । त्यसमा पनि शतप्रतिशत त सहभागी हुने सम्भावना न्यून हुन्छ । उनीहरूसँग आफ्नो व्यक्तिगत मोबाइललगायत उपकरण नहुँदा अरूकोमा भर पर्नुपर्ने हुन्छ ।
अनलाइनमा पढाइ सुरु भयो, विद्यार्थीहरू पढ्न सुरु गरे तर त्यही बेला बाबुलाई अर्जेन्ट फोन गर्नुपर्ने हुन्छ । बाबाको फोन राखेर फेरि जोइन गर्न लाग्दा मामाघरबाट आमाको फोन आउँछ । विद्यार्थीले कुर्दाकुर्दै समय बितिसक्छ । यता कक्षा सुरु गर्दा जम्मा भएका विद्यार्थीहरू हराउँछन् । फेरि जोडिने तरखर गर्दा गर्दै शिक्षकको घरमाबत्ती जान्छ । नेटवर्क बेपत्ता, अब केको विद्यार्थी, केको पढाई ? शिक्षक आफैँ अफलाइन । विद्यार्थीहरू के पो गर्दा हुन् अब ?
अर्को पनि केस छ । घरमा एउटामात्र मोबाइल छ । ३ जना विद्यार्थी छन् । तीनै जना ३ वटा अलग अलग कक्षा र विद्यालयमा । अब त्यो मोबाइल कसले पाउने ? को चाहिँ अनलाइनमा बस्ने को नबस्ने ? दिदीको १२ कक्षाको अनलाइन, एउटा भाइ एसईईको तयारीमा, अर्को बहिनीको कक्षा ८ को पढाई सुरु । अब परेन फसाद ! घरमा बाबुआमाले कहाँ, कसरी मिलाउने ? कसलाई दिने, कसको कक्षा छुटाउने ? घर झगडा सुरु भयो । एउटालाई दिँदाअरू दुईको कक्षा छुट्ने भयो । यो आधारभूत समस्या समाधान गर्न न्यूनतम २ वटा मोबाइल खरिद गर्नुपर्ने परिस्थिति आइलाग्यो । अनि नियमित इन्टरनेट नि ? अर्कोतिर स्कुलले कक्षा नियमित चलाएकै छ । शिक्षकले पढाएकै छन् । महिनाको उत्तरार्धमा बिल पनि आउनेमा द्विविधा छैन ।
इन्टरनेटको पहुँच हुनेको त ठाँट छुट्टै हुन्छ । सुविधा पाएर बिग्रेलान् भन्ने त्रास हुन्छ । तर हुँदाखाने र दूरदराजका बस्तीमा रहनेको अवस्था कस्तो होला ? अहिलेकै अवस्थामा कसरी शिक्षाको मूलधारमा आउलान् र ? बिनापूर्वाधार जबर्जस्त घोषणा गरिएका पालिकाहरूमा इन्टरनेटको सुविधा वा पहुँच त टाढाको कुरा हो । सहर वा विदेशमा भएका आफ्ना आफन्तहरूसँग कुरा गर्न अर्को गाँउ जानुपर्ने, रुखमाथि वा बारीको डिल र अग्लो स्थानमा बसेर सातपटक हेलो भन्दा एकपटक बल्ल आवाज आउने भूगोलका विद्यार्थीले चाहिँ के गर्ने ? सहरमा अनलाइन कक्षा सञ्चालन भइरहेको छ अरे भन्ने सुनेर परीक्षा दिने र शैक्षिक सत्र सक्ने ?
यो प्रयोग हुँदै गरेको नवीनतम् प्रविधिको विरोध र असम्भावनाको पक्षपोषण गरेको नभई व्यवहारिक कठिनाइ र जटिलताको चर्चा गरिएको हो । यो बेला फेरि पनि शिक्षामा समतामूलक पहुँचको खोजी जरूरी छ । यो चुनौतीमाथि टेकेर उपयुक्त बाटो खोज्नु जरुरी छ । शिक्षा क्षेत्रमा देखिएका यस किसिमका वर्गीय विभेद अनलाइन शिक्षाको नाममा फेरि पनि छताछुल्ल भइसकेको छ । शिक्षा पाउने सबै बालबालिकाको समान अधिकार हो, जुन कुरा आज नेपालको मात्र नभई विश्वव्यापी रूपमा मुख्य नाराको रूपमा आइरहेको छ । नेपालको संविधानप्रदत्त मौलिक हक र यसको कार्यान्वयन गर्न बनेकाकानुन, नेपाल सरकारका नीति तथा कार्यक्रम सबैले अनिवार्य आधारभूत शिक्षाको वकालत गर्दै सबैलाई शिक्षाको समान अवसर पुर्याउनुपर्ने बाध्यकारी अवस्थामा यस्ता प्रकारका गतिविधिले पहुँचमा नहुनेहरूको लागि उल्टै प्रत्युत्पादक हुने र सामाजिक विकासमा सहयोगको सट्टा बाधा पुग्ने देखिन्छ । हुँदा खानेका बालबच्चासँग औपचारिक शिक्षा अझै टाढा पुग्न सक्ने देखिन्छ । यदि यस्तै जटिल अवस्था लामो समयसम्म कायम रहिरह्यो र औपचारिक शिक्षा प्रदान गर्ने हाल प्रयोगमा आएका तरिकाहरूलाई नै यथावस्थामानै मान्यता पाए भने सबैका लागि शिक्षा, सहश्राब्दी र दीगो विकासका लक्ष्य प्राप्तिको लागि हालसम्म गरेको लगानी बालुवामा हालेको पानी सरह हुनेछ । हालसम्म प्राप्त उपलब्धि पनि गुम्छ । त्यसैले सबै सचेत बनौँ, यो चुनौतीलाई अवसरको रूपमा प्रयोग गरौं । नअतालिऔँ, धैर्य गरौं, समतामूलक विकल्पको बाटो खोजौं र अपनाऔं ।
(लेखक भक्तपुरस्थित वाल्मिकेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् ।)