
शिरमा रातो घुम्टो ओढेर गहनामा चिटिक्क परेकी बेहुली । घाँटीमा हार र निधारमा टीका लगाएकी छन् । बेहुलाको टाउकोमा टोपी, निधारमा टीका र घाँटीका फूलको माला छ । फरक दृश्यचाहिँ दुवैले मास्क लगाएका छन् । चम्किरहेका आँखामा देखिने खुशी मात्रै पढ्न सकिन्छ, विवाहमा झल्किने लजालु मुस्कानलाई मास्कले ढपक्कै ढाकेको छ ।

मास्कसहित विवाह समारोहमा देखिएका दुलाहा हुन्– कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका छोरा श्याम सिटौला र दुलही बिर्तामोडकी मनिषा विमली । विवाहमा न पार्टी भयो न त बाजागाजा न भीडभाड नै । जमघटलाई नै मुख्य आकर्षण मानिने नेपाली परम्परागत विवाहमा यस्ता दृश्य विरलै देखिने गर्छन् । तर, लकडाउनमा लगनगाँठो कस्नेहरूका लागि यस्ता दृश्य सामान्य बन्न पुगेका छन् । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना महामारीका कारण आइरहेको सामाजिक बदलावले विवाह शैलीमा पनि निकै परिवर्तन ल्याएको छ । विवाहको सन्दर्भमा अपत्यारिलो लाग्ने सामाजिक दूरी, जमघट निषेध, मास्क र सेनिटाइजरको प्रयोगजस्ता कुराहरू यतिबेलाका विवाहमा सामान्य बन्न पुगेका छन् ।
१४ बैशाखमा विवाह गरेका श्याम (३२) र मनिषा (२६) को ‘हाइप्रोफाइल’ विवाहमा जन्ती जम्मा ४ जनामात्रै थिए । चारजनाले पनि मास्क लगाएका थिए, सेनिटाइजर बोकेका थिए । बेहुलीको घरमा पनि १० जनामात्रै जम्मा भएर टीकाटालो गरेका थिए । ‘फरक त भयो नै, अनौठोजस्तो लाग्यो’, श्यामले साप्ताहिकसँग अनुभव साटे, ‘अहिले ठीकै गरियोजस्तो लागेको छ ।’ गत फागुनमै श्याम र मनिषाका परिवारले विवाहको कुरा छिनेका थिए । तर, लगत्तै लकडाउन सुरु भयो र कहिले सकिने हो निश्चित भएन । त्यसैले लकडाउनकै बीच विवाह गर्ने निर्णयमा दुवै परिवार पुगेको थियो । विवाहमा खर्च हुने रकमबाट ५ लाख रूपैयाा कोरोना कोषमा जम्मा गर्ने घोषणा उनीहरूले गरेका छन् ।

त्यस्तै, पोखरा लेकसाइडका दिविन भट्टराई (२६) र लेखनाथ निवासी अनुशा बाँस्तोला (२५)को २५ बैशाखमा विवाह भयो । यो विवाहको दृश्य पनि लगभग उस्तै थियो । दुलही अनुशाका बुवा नेत्रपाणि बाँस्तोलाकाअनुसार सामान्य रूपमा सम्पन्न गरिएको उक्त विवाहमा बेहुलीतर्फ ६ जना र बेहुलातर्फ १७ जना सहभागी थिए । दुई परिवारका सदस्यमात्रै सहभागी भएर विवाह गरेको उनले साप्ताहिकसागको टेलिफोन कुराकानीमा बताए । बाँस्तोलाले आफू दाइजो, दक्षिणा र खाम दिने चलन विरोधी रहेकोले छोरीको विवाहलाई सन्देशमूलक बनाउन चाहेको बताए । १३ बैशाखका लागि तय गरिएपनि लकडाउनका कारण विवाह २५ बैशाखमा पुगेको थियो । एक थान सेनिटाइजर र ५ वटा मास्क दिएर सम्धी–सम्धेला सम्बन्ध स्थापित गरिएको उनले सुनाए ।
हिन्दु परम्पराअनुसार विवाहका गरिएपनि तडक–भडक थिएन । पार्टीलगायतका अनावश्यक खर्च कटाइएको थियो । बेहुलीको परिवारकातर्फबाट ५ लाख सामाजिक कार्यका लागि छुट्याइएको छ । ‘केही प्रदान भएको छ र केही हुनेछ,’ उनले भने । उनकी छोरी अनुशा र ज्वाईं दिविनले पनि विवाहमा हुने खर्च जोगाएर ३२ परिवारलाई राहत वितरण गरेका छन् । ‘भड्किलो र धेरै खर्च गर्ने काम भएन । समाजमा विवाहमा ठूलो पैसा खर्च गर्नुपर्छ भन्ने छापलाई मेटाउन खोज्यौं,’ दिविनले भने, ‘लकडाउनमा डिस्ट्यान्स मेन्टेन गरेर विवाह गर्यौं ।’ लकडाउनमा गरेको विवाहमा उनले आफन्त र साथीभाइ भने ‘मिस’ गरे । ‘धेरै जना आफन्त र नातेदारको प्रत्यक्ष आशीर्वाद थाप्न पाइएन, विवाहको रमाइलो पनि मिस भयो’, उनले भने, ‘तर, अनलाइनबाटै धेरैले आशीर्वाद दिनुभयो ।’
अनुशालाई लकडाउनका बेला सन्देशमूलक विवाह गर्न पाएकोमा गर्व लागेको छ । ‘राम्रो भनेको हामी एक हुन पायौं, हाम्रो लागि त्यही ठूलो कुरा भयो,’ उनले सुनाइन् । तर, आफन्त र साथीभाइलाई बोलाउन नपाएको र विदेशमा रहेका दिदी भिनाजु विवाह सहभागी हुन नसकेको कुरामा भने उनलाई पनि नमिठो लाग्यो ।
२९ बैशाखमा छोराको विवाह सम्पन्न गरेका चितवन नहरचोकका पदम पौडेलले फरक अनुभूति गरे । गत फागुनमै सिड्नीमा बस्ने उनका छोरा प्रवेश विवाहका लागि नेपाल आएको थिए । त्यसअघि नै प्रवेशको परिवारले चितवन ज्यामिरे टाँडीकी सृष्टि भुसालसँग विवाहको कुरा छिनिसकेको थियो । प्रवेश फर्किएलगतै नेपालमा लकडाउन सुरु भयो । ‘छोरा अष्ट्रेलियामै हुँदा हामीले यहाँ बुहारी हेर्यौं, कुरा पनि छिन्यौं,’ पदम भन्छन्, ‘बैशाखमा विवाह गर्ने कुरा थियो ।’ तर, चैतबाट सुरु भएको लकडाउन कहिलेसम्म लम्बिने हो निश्चित भएन । ‘जेठो छोरा भएकाले जेठमो विवाह नहुने भैहाल्यो । असारमा विवाह गर्ने कि भन्ने सल्लाह पनि चल्यो । तर, सृष्टिको चिना हेरेपछि असारपछि चार वर्षसम्म विवाह गर्न नहुने भनेर पण्डितहरूले राय दिए । अष्ट्रेलियामा पनि लकडाउन खुकुलो भएकाले प्रवेश फर्किनुपर्ने अवस्था पनि आउन सक्ने देखियो । दुवै परिवारले २९ बैशाखमा विवाह गर्ने निर्णय भयो’, उनले सुनाए ।

लकडाउनमै भएपनि खुशीसाथ विवाह गरिएको पदम बताउँछन् । विवाहमा १५ जनामात्रै जन्ती गएका थिए । उनले भने, ‘किन्नै पर्ने कुरामात्रै किन्यौं र विवाहका लागि नभै नहुने आवश्यक कुरामात्रै गर्यौं । इष्टमित्र, आफन्त र साथीभाईलाई विवाहमा बोलाउन सकिएन । पार्टी पनि भएन, बाजागाजा भएन, सबै कटौती भयो ।’ उनीहरूले चितवनका सांसद कृष्णभक्त पोखरेलको सल्लाहमा प्रवेशको विवाह खर्चबाट भरतपुर महानगरपालिकाको कोरोना राहत कोषमा १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गरेका छन् । ‘कोरोना कोषमा थोरै योगदान गर्न पाउँदा खुशी महसुस भयो,’ पदमले थपे, ‘भोजभत्तेरमा खर्च भइहाल्थ्यो, त्यो पैसा दु:खमा परेकाका लागि खर्च हुने भयो ।’ सामान्य अवस्थामा हुने खर्चभन्दा १०—१२ लाख बढी बचत भएको उनले बताए । सामान्य अवस्थामा धुमधामसँग विवाह गर्दा खुशी नै लाग्ने भएपछि चिन्तामा डुबेका बेला राम–रमाइलो गर्नु उपयुक्त नभएको ठहर पौडेल परिवारको छ ।
२८ वर्षका प्रवेश र २३ वर्षीया सृष्टि दुवै परिस्थितिअनुसार गरिएको विवाहमा खुशी छन् । ‘लकडाउन लगत्तै अष्ट्रेलिया उड्नुपर्ने टाइट समय थियो । पार्टीमा खर्च हुने रकम कोरोनाका कोषमा दिन पाउादा आनन्द लाग्यो’, प्रवेशले भने, ‘सामान्य अवस्थामा भएको भए साथीहरूसँग रमाइलो हुन्थ्यो, तर अहिलेको परिवेशमा भीडभाड जम्मा गर्न नहुने कुरा साथीहरूले बुझिदिए । पछि अब अवस्था सामान्य भएपछि केही गर्नुपर्ला ।’
वनस्थलीमा बस्दै आएका ग्राफिक्स डिजाइनर सुदर्शन थापा र ल्याब टेक्निसियन युनिशा अधिकारीले पनि लकडाउनकै बीचमा विवाह गरे । गत माघमै उनीहरूले बिहे गर्ने निर्णय लिएका थिए । तर, फागुनमा आफन्त बितेपछि विवाह हुन सकेन । ‘चैतमा विवाह हुने कुरा भएन । बैशाखमा विवाह नभएपछि युनिशा जेठी भएकाले जेठमा झनै नहुने । परिस्थिति झन् जटिल बन्दै जाला भन्ने भयो,’ सुदर्शन भन्छन्, ‘पहिलेदेखि नै कुरा भएकाले लकडाउनकै बीचमा विवाह गर्यौं । दुवैतर्फबाट पर नलैजाऔं भन्ने भयो । यसलाई संयोग नै मान्नुपर्ला ।’ उनीहरूले २५ बैशाखमा लगनगाँठो कसे ।
दुवै जना वनस्थलीमा नजिकै–नजिकै बस्ने भएकाले विवाहको वातावरण बनाउन सहज भएको अनुभव सुदर्शनको छ । युनिशाकी आमालाई तनहुँबाट छोरीको विवाहमा सहभागी गराउन काठमाडौं ल्याइयो । सुदर्शनका घरबाट ५ जना जन्तीमा सहभागी भए । सामाजिक दूरी कायम गरेर बिहे सम्पन्न गरियो । ‘विधिहरू पनि एकदमै सामान्य भए, बाजा राखिएन’ सुदर्शन लकडाउन बिहेको अनुभव सुनाउाछन्, ‘केटापक्षले त जग्गे नै बनाएनौं ।’ केटी पक्षले भने सामान्य रीति पुर्याउन जग्गेसम्म बनाएका थिए । पुरोहित पनि आफ्नै गाउँका भएकाले थप सजिलो भयो । लकडाउनको बेला विवाह गरेकाले सामाजिक आलोचनाको डरले उनीहरूलाई उत्तिकै पिरोलेको थियो । त्यसकारण जतिसक्दो विवाहलाई सामान्य बनाउने कोशिश गरे । त्यसो त सुदर्शन ऋण काढेर तडक—भडकपूर्ण विवाह गर्ने चलनको विरोधमा सन्देश प्रवाहित गर्न चाहन्थे । ‘हामीजस्ता शिक्षित युवाले ऋण लिएर विवाह गर्नुहुादैन भन्ने सन्देश दिनु आवश्यक छ,’ उनले भने, ‘यो विवाहले समाजमा पनि आदर्श सन्देश जाओस् भन्ने आशा गरेका छौं ।’
लकडाउनमा विवाह गर्दा उनका लागि समस्या नपरेको भने होइन । अर्डर गरेको सामान आएन, विवाहका सामान जुटाउन पनि हम्मे पर्यो, पासका लागि दौडधुप गर्नुपर्यो । कपडा सिलाउन समस्या खेपे । बिहेमै पुलिस आउला कि भन्ने भयले अर्को तनाव भयो । तर, यी तमाम समस्याबीच पनि छरितो विवाह भएकोमा रमाइलो अनुभव भएको उनी बताउाछन् ।

सिन्धुपाल्चोक जिल्लाको बलेफी–६, सिम्पानीका २६ वर्षीय सरोज तिमल्सिनाको माङ्खाकी २० वर्षीया रन्जना चौलागाईसँग गत फागुनमै इन्गेजमेन्ट भैसकेको थियो । मलेसियाको वैदेशिक रोजगारीबाट फर्केलगतै सरोजको घरपरिवारकै सल्लाहमा भाटभटेनीमा जागिर गरिरहेकी रन्जनासँग विवाह छिनिएको थियो । चैतमा लकडाउन सुरु भएपनि उनीहरूले विवाह रोकेनन् । १४ बैशाखमा लकडाउनबीच नै बिहे गरे । ‘टीकाटालो फागुनमा भैसकेकाले धेरै कुर्नु हुँदैन भन्ने मान्यता रहेछ, मंसिरसम्म के पर्खने भनेर पर्खिएनौं,’ सरोज भन्छन्, ‘दुई परिवारमात्रै सहभागी भएर विवाह सम्पन्न गरियो ।’ छरछिमेक, आफन्त, साथीभाइ र गाउँले नै नभएपछि विवाहमा खासै चहल—पहल भने भएन ।
सुरुमा सरोजलाई ‘हत्तेरिका यो कस्तो विवाह गर्नुपरेको’ भन्ने लागेको थियो, गाउँका साथीभाइ, आफन्तहरूलाई भोज खुवाउन नपाइने थकथकी पनि उस्तै थियो । ‘सुरुमा केही विवाहमा पनि केही गर्नै पाइएनजस्तो लागेको थियो,’ उनी भन्छन्, ‘अहिले ठीकै गरिएछ भन्ने लाग्न थालेको छ ।’ लकडाउनअघि झण्डै ८ लाख खर्च हुने अनुमान गरेका उनले सुन र लत्ता कपडालगायतका सामाग्रीसहित साढे २ लाख रुपैयाँमै विवाह सके । कोरोना सन्त्रास नभएको भएचाहिा घरपरिवार, आफन्त, इष्टमित्र सबै बोलाएर अलि धुमधामसँग विवाह गर्ने योजना बनाएको उनले सुनाए ।
नेपाली समाजमा विवाहलाई जीवनको महत्वपूर्ण परिघटनाका रूपमा लिइन्छ । धेरैले ‘ड्रिम म्यारिज’ कल्पना गरेका हुन्छन् । साथीभाइ, इष्टमित्रको जमघट, ठूलो पार्टीलगायतका पक्षहरू यसमा समेटिन्छन् । त्यसैले कतिपय विवाह तडक–भडकपूर्ण देखिन्छ । ऋण काढेरै पनि त्यस्तो गर्ने क्रम बढ्दै गएका बेला लकडाउनमा भएका यी सामान्य शैलीका विवाहले केही सन्देश भने प्रवाहित गरेका छन् ।