पोखराको फेवातालदेखि मुगुको रारा तालसम्मको भौगोलिक दूरीलाई पोखराका ९ जना साइकलिस्टले साइकल यात्रा गरेर नापेका छन् । एक हप्ते साइकल यात्राका लागि निस्किएको उक्त टोली पोखराको फेवातालको बाराही घाटबाट रारा तालसम्म पुगेको थियो ।
उनीहरूले फेवातालदेखि रारासम्मको दूरी एक सातामा छिचोलेका थिए । उक्त यात्राको मुख्य उद्देश्य ‘सुनकली’ वृत्तचित्रका मुख्य पात्रहरूको अध्ययन र त्यहाँ रहेको हिमोदय निमाविको खेल मैदान बनाउन सहयोग जुटाउनु थियो ।
पोखराबाट १६ घण्टाको कठिन यात्रापछि सुर्खेतमा बास बसेको उक्त समूहमा सहयोगीका रूपमा अन्य २१ जना पनि संलग्न थिए । ‘साइकल र सामान बोकेर कष्टकर यात्रा गर्दै दैलेखको राकम पुगियो,’ यात्रा सम्भँmदै उक्त यात्राको नेतृत्व गर्ने नीरज थापाले भने, ‘त्यसको भोलिपल्ट नाग्मा, कालिकोट हुँदै रारा पुग्यांै ।’ रारा पुग्दा उनीहरूलाई त्यहाँ सुनकली टिमले स्वागत गरेको थियो ।
केही समय रारा तालमा बिताएर उक्त टोली मुगुको सदरमुकाम गमगढीतर्फ लागेको थियो । त्यहाँ उनीहरूलाई कर्णाली नाट्य समूहले बाजागाजासहित सहर परिक्रमा गराएको थियो । उक्त अवसरमा साइकलयात्री टोलीले सुनकली समूहलाई १ लाख रुपैयाँसहित बाबा फाउन्डेसनले उपलब्ध गराएको सेनटरी किट, ब्रस, नङकट, साबुन तथा ५० वटा ऊनीको सल हस्तान्तरण गरेको थियो । त्यही अवसरमा साइकलबाटै मुगु पुगेकी पोखराकी १३ वर्षीया सालु घिमिरेले सुनकली फुटबल टिमलाई प्रोत्साहनस्वरूप फुटबल खरिदका लागि २ हजार रुपैयाँ प्रदान गरिन् । उक्त यात्राको चाँजोपाँजो विरौटा क्लब तथा साइकल सिटी पोखराले मिलाएका थिए ।