मगर समुदायमा यतिबेला भूमे पर्वको रौनक छ । असार १ मा विधिवत् पूजाआजा र नाचगानसहित प्रारम्भ हुने भूमे पर्व एक सातासम्म मनाइन्छ । मगर समुदायले असार १ लाई नयाँ वर्षका रूपमा मनाउँदै आएको छ ।
यो अवसरमा वर्षभरिका लागि वन हेराला, गोठाला, कटुवाल र गाउँका अगुवा फेरिन्छ । भूमे भनेको भूमी अर्थात् जमिन हो । बाढीपहिरोजस्ता प्राकृतिक विपत्ति नहोस् भन्ने कामना गरेर भूमे
पर्व मनाइन्छ ।
ठाउँअनुसार प्रकृतिलाई पूजा गर्ने भिन्न–भिन्न चलन छ । रोल्पा र रुकुममा भेडापालन, घुम्ती व्यवसाय र खेतीपातीको काम सकिएपछि आफन्त, इष्टमित्र एवं परिवारका सदस्य एकैठाउँ जुटेर दु:खसुख साट्ने चलन छ । उक्त क्षेत्रमा भूमे पर्वमा बिभिन्न हिमाली फूल उपहार दिएर पाहुनालाई स्वागत गर्ने परम्परा छ ।
पहाडी जिल्लाहरूमा महिलाले बुकी फूल टिपेर पुरुषलाई सिउरिदिने चलन छ । पुरुषले पनि वन प्याज लिएर चौरमा फिजाउने र त्यहीं नाचगान गर्ने चलन छ । खाम मगर भाषामा वन प्याजलाई ‘नो’ भनिन्छ । त्यसैले यसलाई खाम भाषामा ‘नो को बाङे नाच’ पनि भनिन्छ ।
भूमे पूजा गर्दा भूमे देवतालाई भेडा वा कुखुराको बलि दिइन्छ । पूजा गर्ने क्रममा काटेको मासु सहभागी सबैलाई ख्वाइन्छ । नयाँ पुस्ताले परम्परागत संस्कार नसिके भूमे पर्व लोप हुँदै जाने खतरा बढेको मगर मुक्ति मोर्चाकी केन्द्रीय उपाध्यक्ष भीमकुमारी बाँठा बताउँछिन् ।
मगर संघ, दाङका अध्यक्ष शीतलाल पुन भन्छन्— प्रकृतिको पूजा गर्नु भनेको प्रकृतिलाई खुसी राख्ने चाहना गर्नु हो । भूमेमा दिदीबहिनीहरू माइती आउने र दाजुभाइसँग भेटघाट गर्ने चलन छ ।
भूमे पूजा गर्दा नाच्ने क्रममा पुरुषले नेपाली टोपी, गादा, फेटा लगाएर खुकुरी भिर्छन् भने महिलाहरू निठ्या, चन्द्रमा, मालगेडी, तिलहरीजस्ता गहना लगाएर नाच्छन् । पुनका अनुसार भूमे नाच दमाहा, झ्याली, नरसिङ आदि बाजाको ताल अनुसार नाचिन्छ ।