पूर्वाञ्चल डान्सिङ सुपरस्टार प्रतियोगितामा संखुवासभाकी पवित्रा तामाङले पहिलो स्थान हात पारेकी छिन् । शनिबार राति अबेर सम्पन्न प्रतियोगिताको नजिताअनुसार अन्तिम चरणका ७ जना प्रतिस्पर्धीलाई पछि पार्दै तामाङले पूर्वाञ्चल डान्सिङ सुपरस्टारको उपाधि जितेकी हुन् ।
टिन्स क्रिउ डान्स सेन्टर, धनकुटाले आयोजना गरेको यो प्रतियोगितामा वरिष्ठ कलाकार मिथिला शर्मा मुख्य निर्णायक थिइन् । मोरङ, विराटचोककी खुश्बु घिमिरेले द्वितीय स्थान प्राप्त गरेको यो प्रतियोगितामा सुनसरी, धरानका विक्रम तामाङले तेस्रो स्थानका साथ प्रतियोगिता अवधिभरकै बेस्ट डान्सरको उपाधि पनि हात पारे ।
यो प्रतियोगिताका क्रममा ‘कला संस्कृतिको जगेर्ना र हस्तान्तरण, तपाईं–हाम्रो दायित्व’ भन्ने नाराका साथ गत जेठ २२ गतेदेखि भोजपुर, तेह्रथुमको वसन्तपुर, संखुवासभाको खाँदबारी, धनकुटाको भेडेटार तथा धनकुटामा पाँचवटा अडिसन गरी १ सय ५० प्रतियोगी चयन गरिएको थियो ।