कार्तिक २८, २०७३
वीरगन्जको इनर्वास्थित महावीर मन्दिर परिसरमा यो वर्ष पनि दुईदिने अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना गरियो । गत सोमबार र मंगलबार सम्पन्न उक्त प्रतियोगितामा नेपाललगायत भारतका बिहार, उत्तरप्रदेश, हरियाणा, महाराष्ट्रलगायतका लगभग २ सय पहलमान सहभागी थिए ।
छठ पर्व सकिएलगत्तै इनर्वाका स्थानीय बासिन्दा र विराट कुस्ती प्रतियोगिता समितिले उक्त खुल्ला कुस्ती प्रतियोगिता आयोजना गर्दै आएको छ । यस वर्ष अखाडामा ओर्लिनेमा १० वर्षे बालकदेखि ५० वर्षसम्मका नामी पहलमानहरू थिए ।
सहभागी पहलमान सबैले आ–आफ्नो उमेर समूह र वजनअनुसारका कुस्तीबाज खोज्दै भिड्दै गरेका थिए । उक्त कुस्ती प्रतियोगिता अवलोकन गर्न स्थानीय मात्र नभै छिमेकी भारतबाट समेत ठूलो संख्यामा दर्शक आएका थिए ।