पाल्पाको तानसेन ५ नम्बर प्रदेशको पुरानो सहर पनि हो । पछिल्लो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका हरिप्रसाद नेपालले जितेको क्षेत्र भए पनि मदनपोखरा गाविस थपिएकाले पनि यो नगरले चर्चा कमाएको छ । क्षेत्र नम्बर २ का तेल्घा र मदनपोखरालाई तानसेन नगरपालिकामा मिसाइएको छ ।
मदनपोखरा एमाले प्रभावित गाविस मानिन्छ । कांग्रेसले युवा नेता तथा पार्टीका सचिव अजयमान कर्माचार्यलाई मेयर एवं वकालत पेसामा रहेकी लालकुमारी रानालाई उपमेयर पदमा उम्मेदवार बनाएको छ । एमालेले २०५४ सालमा मेयरमा जितेका अशोककुमार शाहीलाई मेयरको उम्मेदवार बनाएको छ । उपमेयरमा भने मदनपोखराकी लक्ष्मी पाठक उम्मेदवार भएकी छिन् । तानसेनमा २०४९ सालको स्थानीय निर्वाचनमा कांग्रेसले जित हासिल गरेको थियो, तर यसपटक भने परिस्थिति फरक छ । तेल्घा, मदनपोखरा, बन्दीपोखरा, बौघापोखराथोक, अर्गली, बौघागुम्हा र बराङ्दीको ५ वडासमेत तानसेनमा मिसिएको छ, जसले गर्दा निर्वाचन परिणाम कसको पोल्टामा पर्छ भन्ने आँकलन गर्न गाह्रो छ ।
माओवादी केन्द्रले सहिद परिवार प्रतिक्षा सिंजालीलाई मेयर तथा तानसेनका चर्चित व्यक्तित्व विन्दु रावललाई उपमेयरको उम्मेदवार बनाएको छ । उता राप्रपाले रेवन्तबहादुर विष्ट र निर्मला हमाललाई उम्मेदवार बनाएको छ । जनमोर्चाले टिकाराम पौडेल र उमा सिंजाली, जनमुक्ति पार्टीले होमबहादुर थापा र सावित्री रानालाई मेयर तथा उपमेयरमा उम्मेदवार बनाएका छन् । विकासका कुरा र महत्वाकांक्षी योजना सबैले ल्याए पनि विशेषतः कांग्रेस र एमालेबिच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । तानसेनमा माओवादी, जनमुक्ति, राप्रपा आदि पार्टीले काट्ने मतका आधारमा पनि जित–हार निश्चित हुने बताइन्छ ।
तानसेन नगरपालिका
जनसंख्या | ५० हजार ४ सय ५ |
क्षेत्रफल | १ सय ८ वर्गकिलोमिटर |
मतदाता | २७ हजार ९ सय ८६ |
वडा | १४ |
जनप्रतिनिधि | ७५ |
मतदान केन्द्र | ३५ |