अघिल्लो स्थानीय निर्वाचनमा तालमेल गरेर मैदानमा उत्रिएका मुख्य राजनैतिक दलहरूबीच अब हुने स्थानीय निर्वाचनमा तालमेल नहुने भएपछि सिद्धार्थनगर नगरपालिकाको राजनीतिक वातावरण फरक ढंगले अघि बढेको छ । चुनावी तालमेल नभएपछि विजयी हुन राजनैतिक दलहरू आफ्नै बलबुतामा मतदातालाई आकर्षित गर्न लागिपरेका छन् ।
निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सञ्चालनमा आउने तयारीमा रहेको विशेष आर्थिक क्षेत्र, निर्माणाधीन बेलहिया–बुटवल व्यापारिक मार्ग, तेस्रो मुलुक र सर्वाधिक भारतीय पर्यटक भित्रिने मुलुकको प्रमुख स्थलमार्गको नाका एवं लुम्बिनी प्रवेशद्वारका कारण अन्तर्राष्ट्रिय जगतमै परिचित नगर बन्ने भएकाले भैरहवाको प्रमुख र उपप्रमुख बन्न चर्को होड चलेको हो । ०४९ को पहिलो स्थानीय निर्वाचनमा मेयरसहित अधिकांश वडामा नेपाली कांग्रेसले जितेको थियो । ०५४ को स्थानीय निर्वाचनमा मेयर र उपमेयरका लागि नेपाली कांग्रेस–सद्भावना पार्टी र राप्रपा–एमालेबीच चुनावी तालमेल हुँदा राप्रपा–एमालेको गठबन्धन विजयी भएको थियो । मेयर पदमा दुवैको दाबी भएपछि राप्रपा–एमाले बीच तालमेल हुन सकेन ।
मधेसी र पहाडी समुदायको मिश्रित बसोवास रहेको सिद्धार्थनगरमा कुन दलले विजय हासिल गर्छ ? यसै भन्न सकिँदैन । मधेसवादी दल निर्वाचनबाहिर रहेको परिस्थितिमा भैरहवामा एमाले, कांग्रेस, राप्रपा तथा माओवादी केन्द्रबीच नै मुख्य प्रतिस्पर्धा हुनेछ । सबैभन्दा पहिले उमेदवारको टुंगो लगाएर प्रचार–प्रसार थालेको एमालेले मेयरमा हरि अधिकारीलाई उतारेको छ । त्यसभन्दा अघि उनी ८ नम्बरका वडा अध्यक्ष थिए । राप्रपाबाट पूर्वमेयर सागरप्रताप राणा चुनावी मैदानमा छन् । माओवादी केन्द्रले पैmज अहमद खाँलाई उम्मेदवार बनाएको छ ।
भैरहवा नगरपालिका
जनसंख्या | ६३ हजार ४ सय ८३ |
क्षेत्रफल | ३६ दशमलव ३ वर्गकिलोमिटर |
मतदाता | ३३ हजार ६ सय १५ |
वडा | १३ |
जनप्रतिनिधि | ६७ |
मतदानस्थल | १४ |
मतदान केन्द्र | ३९ |